आर्थिक मन्दी भोग्नुपर्ने समय बन्न सक्छ सन् २०२३



एजेन्सी । विश्वव्यापी रुपमा नै अहिले खाद्यान्न, यातायात, आवासजस्ता अत्यावश्यक वस्तुहरुमा दशकौंदेखि भइरहेको भन्दा बृहत मूल्य वृद्धि देखिएको छ । सर्वसाधारणले अहिले देखिरहेको मुल्य वृद्धि चर्को त छ । तर, विज्ञहरुले भने यो थप बढ्दै जाने र अवस्था नाजुक हुन सक्ने सम्भावना रहेको संकेत गरेका छन् ।

विश्व यस्तो अवस्थामा कसरी आयो ?

यसका दुई कारणहरु छन् । पहिलो महामारी र दोस्रो युद्ध । न्यून मुद्रास्फीति र कम ब्याजदरको लामो र आरामदायी समय कोभिड–१९ महामारीको प्रवेशसँगै अन्त्य भयो । सरकार र केन्द्रीय बैंकहरुले लकडाउनको समयमा व्यवसाय र घरपरिवारलाई सहयोग गरेर अवस्थालाई सम्हालिरहेका थिए ।

सरकार र केन्द्रीय बैंकहरुको यहि कदमका कारण लामो समयसम्म कामदारहरुको अवस्था बिग्रन, व्यवसायहरु बन्द हुन र आवास क्षेत्रको मूल्यमा आचक्ली परिवर्तन आउनबाट रोकिएको थियो । तर, यसले माग र आपूर्तिबीचको अनुपातलाई पनि पहिले भएको व्यवस्थित अवस्थाबाट बाहिर ल्याइदियो ।

२०२१ मा संसारभरका धेरै स्थानमा लकडाउनको अन्त्य भयो । वैश्विक अर्थतन्त्र पछिल्लो ८० वर्षमा मन्दीपछि भएको वृद्धिमध्ये सबैभन्दा तीव्र गति देखियो । यो बेला विश्वभरकै कारोबारलाई सरकारले दिएको प्रोत्साहनको पैसाले ओझेलमा पार्यो ।

निक्रिय रहेका उद्योगहरुले माग पूरा गर्नका लागि द्रुत गतिमा काम भने गर्न सकेनन् । उत्पादनमा चाहेअनुसारको वृद्धि हुन सकेन । कोभिड केन्द्रित सुरक्षाका मापदण्डहरुका कारण खुद्रा, यातायात र स्वास्थ्य सेवामा श्रमिकहरुको अभाव खडा गर्यो । र महामारीपछि पुनः स्थापित भइरहेको अवस्थाले उर्जा क्षेत्रका वस्तुहरुको मूल्यमा पनि निकै ठूलो उछाल ल्याइदियो ।

महामारी र त्यसपछिको अवस्थाका बीच पुनः विश्वले अर्को जोखिम देख्यो । त्यो जोखिम निम्त्याएको थियो, युक्रेन र रुसबीचको युद्धले । युक्रेनमाथि हमला गर्दै रुसले गत फेब्रुअरीमा यो युद्धको सुरुवात गरेको थियो । र युद्धलाई आधार मान्दै पश्चिमा देशहरुले उर्जा क्षेत्रको मुख्य वस्तु तेल र ग्यास निर्यात गर्ने रुसमाथि विभिन्न प्रतिबन्धहरु लगाए । यसले गर्दा यी वस्तुहरुको मूल्य थप वृद्धि भएको छ ।

दोहोरो अंकमा बढिरहेको विश्वव्यापी मुद्रास्फीति, जसलाई ‘गरिबहरुमा कर’ समेत भनिन्छ, यसले कम आम्दानी भएकाहरुलाई सबैभन्दा अफ्ठ्यारोमा पार्छ । विश्वव्यापी रुपमा अहिले यही कारण असमानाता पनि बढेको छ ।

धनी उपभोक्ताहरुले महामारी र लकडाउनको समयमा आफूले जम्मा गरेको बचतमा आश्रित हुने विकल्प थियो । तर, अरुसँग भने आफ्नो आवश्यकतालाई पूरा गर्नका लागि संघर्ष गर्नुपर्ने र खाद्यान्नका लागि समेत सहयोगमा भर पर्नुपर्ने अवस्था थियो ।

संसारको उत्तरी क्षेत्रमा जाडो बढिरहँदा इन्धनको मूल्यमा भइरहेको वृद्धिले जीवनयापनमा पनि असजता ल्याइरहेको छ । कामदार तथा श्रमिकहरुको तलब र विश्वभर भइरहेको समग्र मुद्रास्फीतिबीचको अन्तर बृहत भएका कारण यसलाई समानान्तर बढाउन स्वास्थ्य सेवादेखि उड्डयन क्षेत्रका कामदारहरुले हडताल गरिरहेका छन् । धेरै जसो अवस्थामा उनीहरुले निकै कम पारिश्रमिकमा काम गरिरहेका छन् ।

जीवनपायनको विषयमा धनी राष्ट्रहरुको राजनीति र राजनीतिज्ञहरु हाबी भएको अवस्था छ । केही अवस्थामा जलवायु परिवर्तनको विषयमा गर्नुपर्ने समाधानका कार्यहरुजस्ता प्राथमिकताहरुलाई बेवास्ता गरिएको छ ।

पेट्रोलको मूल्यमा हालसालै देखिएको केही गिरावटका कारण विश्वभरको अर्थतन्त्रमाथिको दबाबलाई केही कम त गरेको देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका लागि अहिले देशकै प्रमुख मुद्दाको रुपमा मुद्रास्फीति शीर्ष स्थानमा छ । फ्रान्सका इमानुएल म्याक्रोन र जर्मनका ओलाफ स्कोल्जले सहायता कार्यक्रमहरुमा अर्बौं युरो बजेटलाई विस्तार गरिरहेका छन् ।

तर, यस्तोमा साना र कमजोर देशहरुलाई भने कठिन अवस्था देखिएको छ । औद्योगिक अर्थतन्त्रहरुमा अवस्था नाजुक देखिएको छ । खाद्यान्नमा भएको मूल्य वृद्धिका कारण गरीब देशहरुमा गरिबीको संख्यालाई झन झन बढाउँदै लगेको छ । श्रीलंकादेखि हाइटी र सुडानदेखि लेबनानजस्ता देशहरुमा अहिलेको अवस्था निकै कठिन देखिएको छ ।

विश्व खाद्य कार्यक्रमको अनुमानमा युक्रेन र रुसबीचको युद्धपछि विश्वभर ७ करोड मानिसहरु भोकमारिको अवस्थामा पुगेका छन् । अहिलेको अवस्थालाई विश्व खाद्य कार्यक्रमले ‘भोकको सुनामी’को संज्ञा दिएको छ ।

२०२३ मा अवस्था कस्तो होला ?

विश्वभरका विभिन्न देशका केन्द्रीय बैंकहरुले मागलाई कम गर्न र मुद्रास्फीतिलाई नियन्त्रण गर्नका लागि अहिले तीव्र ब्याजदर कायम गर्न थालेका छन् । त्यसो त, अन्तर्राष्ट्रिय मुद्रा कोषले २०२३ को अन्त्यसम्ममा मुद्रास्फीति अहिलेकोभन्दा आधा स्तर अर्थात ४.७ प्रतिशतमा झर्ने अपेक्षा पनि गरेको छ ।

अहिलेको लक्ष्य सुरक्षित अवस्थातर्फ जाने रहेको छ । यस्तोमा आवास क्षेत्रमा हुन सक्ने दुर्घटना, व्यापार बैंक्रप्ट हुन सक्ने सम्भावना र बढ्न सक्ने बेरोजगारीलाई नियन्त्रणमा लिन आवश्यक छ । तर, यस्तो उत्कृष्ट किसिमको अवस्था सिर्जना हुने अनुमान गर्नु विगतमा देखिएको मुद्रास्फीति र त्यो बेलाको अवस्थासँग बिरोधाभास पूर्ण देखिन्छ ।

अमेरिकी फेडरल रिजर्भका प्रमुख जेरोम पावेलदेखि युरोपेली केन्द्रीय बैंकका क्रिस्टिन लागार्डसम्मले अर्थतन्त्रको औषधि मानिएको बढिरहेको ब्याजदरलगायतका विषयको परिणाम तितो हुने चर्चा गरेका छन् ।

यसबीच ठूला अनिश्चितताहरु पनि छन् । युक्रेन र रुसबीचको युद्ध, चीन र पश्चिमा देशहरुबीच बढिरहेको तनावलगायतले चारैतिर जोखिमहरु सिर्जना गरेका छन्, जसको असर नकरात्मक पक्षतर्फ छ ।

अक्टोबरको अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदन यो वर्षकै खराब मध्येको थियो, जसमा भनिएअनुसार अझैं खराब समय आउन बाँकी छ । र धेरै मानिसहरुका लागि २०२३ आर्थिक मन्दी भोग्नुपर्ने समय हुनसक्नेछ । रोयटर्सबाट


क्लिकमान्डु