तीन महिनामा १४ बैंकको आरओई घट्यो, कुन बैंकको कति ?



काठमाडौं । बैंकहरुले गरेको लगानीबाट हुने प्रतिफल घट्दै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १४ वटा बैंकको रिटर्न अफ इक्विटी (आरओई) घटेको छ ।

चालु आर्थिक वर्षको तीन महिनासम्ममा बैंकहरुले व्यवसाय प्रभावकारी रुपमा बिस्तार गर्न नसकेका, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएका कारण बैंकहरुले राम्रोसँग लगानी बढाउन सकेका छैनन् । तरलताको अभावका कारण कर्जा प्रवाह पनि न्यून प्रायः रहेको छ । जसको असर आरओईमा परेको छ ।

असोज मसान्तसम्ममा बैंकहरुको आरओई औसतमा १२.३० प्रतिशत रहेको छ । जबकि गत आवको सोही अवधिमा आरओई १२.८३ प्रतिशत रहेको थियो । यो अवधिमा बैंकहरुको आरओई ४.११ प्रतिशतले घटेको छ ।

असोज मसान्तसम्ममा सबैभन्दा बढी आरओई घट्नेमा सनराइज बैंक रहेको छ । बैंकको आरओई ६५.६३ प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तमा ११.७० प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा ६५.६३ प्रतिशतले घटेर ४.०२ प्रतिशतमा सिमित भएको छ ।

आरओई सबैभन्दा बढी घट्नेमा सनराइज रहँदा सबैभन्दा कम घट्नेमा प्रभु बैंक रहेको छ । प्रभु बैंकको ३.४९ प्रतिशतले घटेको छ । हाल बैंकको आरओई १४.१६ प्रतिशत रहेको छ । बैंक अफ काठमाण्डूको भने स्थिर रहेको छ ।

यस्तै एनएमबि बैंकको आरओई २३.०७ प्रतिशत बिन्दुले घटेर १३.४२ प्रतिशत रहेको छ । सानिमा बैंकको १४.८३ प्रतिशत बिन्दुले घटेर १३.०१ प्रतिशत, एनसीसी बैंकको ९.८८ प्रतिशत बिन्दुले घटेर १२.८६ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशतले बिन्दुले घटेर १२.१६ प्रतिशत, प्राइम बैंककोृ २२.२६ प्रतिशतले घटेर १२.६८ प्रतिशत रहेको छ ।

बै‌कहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार माछापुच्छ्रे बैंकको ३०.७१ प्रतिशतले घटेर १२.१०, लक्ष्मी बैंकको १२.६८ प्रतिशतुले घटेर ११.९१ प्रतिशत, सिटिजन्स बैंकको ३२.७३ प्रतिशतले घटेर ९.८५ प्रतिशत, सिद्धार्थ बैंकको ५२.३५ प्रतिशतले घटेर ९.१९ प्रतिशत, मेगा बैंकको ४९.३८ प्रतिशतले घटेर ९.११ प्रतिशत र कृषि विकास बैंकको ५७.७८ प्रतिशतले घटेर २.६१ प्रतिशत रहेको छ ।

यस्तै केही बैंकको भने आरओईमा सुधार पनि देखिएको छ । एनआईसी एशिया बैंकको २३.५२ प्रतिशतले बढेर २८.०८ प्रतिशत पुगेको छ । यस्तै कुमारी बैंकको ६४.९३ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ५०.६९ प्रतिशत, एभरेष्ट बैंकको ३४.३२ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.९६ प्रतिशत, नेपाल एसबीआई बैंकको ५२.६२ प्रतिशतले बढेको छ ।

यस्तै सिभिल बैंकको २६.३७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको १४.४१ प्रतिशत, ग्लोबल आइएमई बैंकको २६२.०२ र सेन्चुरी बैंक बैंकको ५.९ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु