‘गुगल एड्सेन्स’बाट पैसा कसरी कमाउने ?



काठमाडौं । तपाईंहरुले कुनै साथीभाईबाट वा आफूलाई मन पर्ने कुनै इन्टरनेट सेलिब्रेटीको मुखबाट सुन्नु भएको होला- ‘गुगल एड्सेन्स’बाट पैसा कमाउन सकिन्छ भनेर । यस्तो सुनिरहँदा तपाईंको पनि मनमा लाग्दो हो, कसरी कमाउने होला पैसा ?

आउनुहोस, गुगल एड्सेन्स के हो र यसबाट कसरी पैसा कमाउन सकिन्छ भन्नेबारेमा कुरा गरौं । इन्टरनेट सर्च इञ्जिनसँगै युट्युब, ड्राइभजस्ता थुप्रै क्लाउड स्टोरेजसहितका वेबसाइटहरु सञ्चालन गरिरहेको गुगलकै सेवा हो, गुगल एडसेन्स पनि । गुगल एड्सेन्स इन्टरनेटको माध्यमभित्र सबैभन्दा लोकप्रिय विज्ञापन प्रदान गर्ने प्लेटफर्महरुमध्येमा पर्छ ।

प्रयोगकर्ता वा कन्टेन्ट क्रियटरको वेबसाइट, युट्युब वा अन्य माध्यमहरुमा विज्ञापन प्रकाशन गर्ने र त्यसबापत हुने आम्दानीको निश्चित प्रतिशत प्रयोगकर्ता वा कन्टेन्ट क्रियटरलाई दिने गर्छ । वेबसाइट वा अन्य माध्यमहरुमा यसलाई निःशुल्क जोड्न सकिन्छ भने यसबापत आम्दानी हुने रकमको निश्चित प्रतिशत गुगलले राखेर बाँकी रकम वेबसाइटको मालिक वा प्रयोगकर्तालाई दिने गर्छ ।

गुगल एडसेन्सको सुविधासँग कसरी जोडिने र यसबाट कसरी आम्दानी गर्ने ?

यसका लागि भने तपाईंसँग विज्ञापन प्रकाशित गर्न आवश्यक वेबसाइट वा अन्य कुनै प्लेटफर्म हुन आवश्यक छ । गुगल एडसेन्स भनेको एकप्रकारको विज्ञापन एजेन्सी हो । यसले वेबसाइटमा विज्ञापन प्रकाशत गरेवापत त्यसको मालिकलाई निश्चित रकम दिने हो । त्यसका लागि वेबसाइट हुनै पर्छ ।

गुगल एडसेन्सलाई आफ्नो वेबसाइटमा जोड्नका लागि वेबसाइटमा आफ्नै मौलिक सामग्री प्रकाशित भएको हुनुपर्छ । सँगै वेबसाइटमा उच्च गुणस्तरका सामग्रीहरु भएमा त्यसले थप मद्दत गर्छ । पर्याप्त गुणस्तरिय सामग्री प्रकाशित भएको वेबसाइट छ भने त्यसलाई गुगल एडसेन्सका लागि एप्लाई गर्न सकिन्छ । यस्तो गर्न आफ्नो गुगल एडसेन्सको एकाउन्ट बनाउने र वेबसाइटलाई एडसेन्समा जोडन एप्लाइ गर्नुपर्छ । त्यसो गरिरहँदा गुगल एडसेन्सले दिने एकप्रकारको ‘कोड’लाई आफ्नो वेबसाइटमा पनि राख्नुपर्ने हुन्छ ।

सामान्यतयः यसरी एप्लाई गरेपछि २४ देखि ४८ घण्टाभित्रमा गुगल एडसेन्सले प्रयोगकर्ताको वेबसाइटको निरिक्षण गर्ने र एडसेन्सका लागि उपयुक्त भएनभएको जानकारी दिने गर्छ । कहिलेकाँही कुनै समस्या भएमा यसका लागि एक सातासम्मको समय पनि लाग्न सक्छ । यसरी प्रमाणित भएपछि गुगल एडसेन्सले वेबसाइटमा विज्ञापनहरु देखाउन थाल्छ ।

गुगल एडसेन्सकै प्रयोगमार्फत आम्दानी गर्ने अर्को माध्यम युट्युब पनि हो । युट्युबलाई मोनिटाइज गरेपछि गुगल एडसेन्ससँग जोडेर त्यसवापत आम्दानी गर्न सकिन्छ । हालको व्यवस्थाअनुसार युट्युबमा ४ हजार घण्टाको ‘पब्लिक वाच टायम’ र १ हजार सब्सक्राइभर्स पुरा भएको छ भने युट्युब च्यानललाई मोनिटाइजेसनका लागि एप्लाई गर्न सकिन्छ । यसरी एप्लाई गरेर ‘युट्युब पाट्र्नर प्रोगाम’मा आवद्ध भएपछि युट्युब च्यानल सञ्चालकले एडसेन्ससँग जोडिन सक्छन् । यसरी जोडिएपछि भिडियोमा देखिने विज्ञापनहरुवापतको रकम सञ्चालकलाई प्राप्त हुन्छ ।

गुगल एडसेन्सले यति नै रकम दिन्छ भन्ने हुँदैन् । वेबसाइट वा युट्युब च्यानलमा आउने भ्युज, विज्ञापनमा हुने क्लिक, भिडियो वा वेबसाइटमा भएका सामग्रीहरुको गुणस्तरकाअनुसार त्यसको रकम प्रदान गरिन्छ । सन् २०२२ का लागि विश्वभर मै कानुनी क्षेत्रसँग सम्बन्धित सामग्री प्रकाशित वा प्रसारण हुने वेबसाइट वा युट्युब च्यानलका लागि दिइने विज्ञापनवापतको रकम धेरै छ । यी बाहेक आर्थिक, प्रविधि, बीमाजस्ता विषयमा पनि एडसेनसवापत आउने विज्ञापनमा धेरै रकम दिने गरिन्छ ।

सामान्यतयः वेबसाइटमा प्रकाशित हुने गुगल एडसेन्सको विज्ञापनमा एक क्लिक भएमा ०।२० देखि १५ अमेरिकी डलरसम्म दिने गरिन्छ । तर, यसमा पनि वेबसाइटको गुणस्तर, सामग्रीको प्रकार, पाठक वा दर्शकको भुगोलजस्ता कुराहरुले प्रभाव पर्छन् । युट्युबको सन्दर्भमा भने भिडियोमा आउने भ्युजअनुसार आम्दानी हुने गर्छ ।


क्लिकमान्डु