पूर्वजानकारी दिएर बैंकहरुको ब्याज बढाएको बैंकर्स संघका अध्यक्षको दाबी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरे ।

मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए ।

अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटकमात्रै ब्याजदर बढाएको जानकारी दिए । उनले यो बीचमा पनि दुई महिनाको समय अवधि दिएर बढाएको स्पष्ट पारे । व्यवसायीहरुको पनि तयारी हुने गरी ब्याज बढाउँदै आएको उनले जिकिर गरे । उपाध्यायले अहिले डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवासायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीँ नभएको बताए ।

अध्यक्ष उपाध्यायले बजारमा तरलताको अभावको कारण असारदेखि अहिलेसम्म कर्जा वृद्धि हुन नसकेको बताए । उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि अहिलेसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन गरेको बताए ।

उनले ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान गरेको बताए । उपाध्यायले बैंकहरुमा ३.५ प्रतिशतको आधार दर र मार्जिनमा ३ प्रतिशतको बोटल रेटमा बैंकहरु दिगो बनाउन नसकिने बताए । उनले कर्जा प्रवाह बैंकहरुले बलियो बनाएर जानुपर्ने बताए । उनले कर्जाको ब्याजदर परिर्वतन हुने व्यवस्थापनका साथ काम गर्नसक्ने अवस्थाको बानी बसाल्न आवश्यक रहेको बताए । उनले अहिले अमेरिका, भारत, तथा युरोपेली देशहरुले पनि कोरोनापछि ब्याजदर वृद्धि गरेको बताए ।

अध्यक्ष उपाध्यायले गत आर्थिक वर्ष ६.६ प्रतिशत रहेको कर्जाको ब्याजको आधार दर अहिले ९.७ प्रतिशत पुगेको बताए । उनले गत आर्थिक वर्षको यो अवधिमा ४६ प्रतिशत मुद्दतीको भार रहेकोमा अहिले वाणिज्य बैंकहरुलाई मुद्दतीको भारमात्रै ५८ प्रतिशत रहेको बताए । उनले वाणिज्य बैंकहरुलाई मुद्दतीको भार अघोसित ६० प्रतिशत रहेको बताए । बैंकहरुलाई मुद्दतीको भार १२ प्रतिशत बढ्यो ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने बताए । उनले कुनै व्यवसायमा लगानी गर्ने भन्दा बैंकमा रकम राख्दा ब्याज बढी पाउने भएपछि उद्योगमा लगानी गर्ने सोच कम हुनसक्ने बताए ।

उनले अहिले बढेको बैंकको ब्याजदर लामो समयसम्म रहन नहुने बताए । निर्देशक भट्टराईले अहिले कर्जाको माग र ब्याजको असन्तुलनलाई सन्तुलनमा ल्याउनको लागि अझै केही समय लाग्ने भन्दै व्यवसायीहरुलाई धैर्य गन आग्रह गरे ।

उनले बैंक कर्जा लिनु भनेको उच्च जोखिमको काम भएको बताए । उनले व्यवसायीहरुले कर्जाको लागि विकल्प निकालेर पुँजी बजारमार्फत् पुँजी परिचालन गर्न सक्नुपर्ने बताए । उनले बजारमा तरलता अभावको समस्या हल गर्न निर्यात बढाउने वा रेमिट्यान्स बढी भित्र्याउनुपर्ने बताए ।


क्लिकमान्डु