एक महिनामा बैंकको निक्षेप १ खर्ब ८ अर्बले घट्यो, तीन बैंक कर्जा दिन नसक्ने अवस्थामा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ । गत वर्षको असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप चालु आर्थिक वर्षको साउन मसान्तमा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित भएको हो ।

साउन चौथो सातासम्म निरन्तर घटेको निक्षेप अन्तिम समयमा भने बढेको छ । अन्तिम चार दिनमा बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।

लगानीयोग्य रकम (तरलता) अभाव खेपिरहेका बैंकहरुले साउन महिनामा कर्जा लगानी बढाउन सकेनन् । साउन तेस्रो सातासम्म बैंकले प्रवाह गर्ने कर्जा लगानी निरन्तर घटिरहेको थियो । साउन तेस्रो सातापछि भने बैंकहरुले प्रवाह गर्ने कर्जामा सामान्य सुधार भएको छ ।

साउन महिनामा २६ वटा वाणिज्य बैंकहरुले जम्मा २ अर्बले कर्जा लगानी बढाएका छन् । असार मसान्तसम्म बैंकहरुले ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेकामा साउन मसान्तसम्म जम्मा ४१ खर्ब ७७ अर्ब कर्जा विस्तार गरेका छन् । यो अवधिमा कर्जा विस्तार २ अर्बले मात्रै बढेको छ ।

यो अवधिमा सबैभन्दा बढी निक्षेप नबिल बैंकको रहेको छ भने सबैभन्दा कम सिभिल बैंकको रहेको छ । नबिल बैंकको निक्षेप ३ खर्ब २६ अर्ब १७ करोड रहेको छ । यस्तै एनआईसी एशिया बैंकको ३ खर्ब ५ अर्ब १३ करोड, ग्लोबल आइएमई बैंकको २ खर्ब ८० अर्ब ९८ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ खर्ब ४१ करोड ३२ लाख रुपैयाँ रहेको छ । सबैभन्दा थोरै रहेको सिभिल बैंकको निक्षेप ९३ अर्ब २५ करोड रहेको छ । निक्षेप खर्ब भन्दा तल नै रहनेमा सेञ्चुरी बैंक पनि रहेको छ । बैंकको निक्षेप ९६ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

कर्जा प्रवाह पनि सबैभन्दा बढी नबिल बैंकले नै गरेको छ । साउनसम्म नबिल बैंकले ३ अर्ब ८ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नबिलपछि धेरै कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले २ खर्ब ७३ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै एनआईसी एशिया बैंकले २ खर्ब ६५ अर्ब ५९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सबैभन्दा थोरै कर्जा लगानी सिभिल बैंकले ८६ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले ८९ अर्ब २९ करोड, सेञ्चुरी बैंकले ९२ अर्ब ६९ करोड कर्जा लगानी गरेका छन् ।

तीन बैंक कर्जा दिन नसक्ने अवस्थामा

राष्ट्र बैंकले बैंकहरुका लागि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत तोकेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा नै बैंकहरुको औषत सीडी रेसियो औषतमा ८८.०७ प्रतिशत पुगेको छ । तीन वटा बैंकको त सीडी रेसियो ९० प्रतिशत कटिसकेको छ ।

सीडी रेसियो तोकिएको सीमाभन्दा बढी भएका कारण साउन महिनामा नै तीनवटा बैंक कर्जा लगानीगर्न नसक्ने अवस्थामा पुगेका छन् ।

साउन मसान्तसम्म सेञ्चुरी बैंकको ९१.६३ प्रतिशत, नबिल बैंक ९०.९२ प्रतिशत र नेपाल बैंकको ९०.७२ प्रतिशत सीडी रेसियो पुगेको छ । यी बैंक कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् । बाँकी बैंकको सीडी रेसियो ९० प्रतिशत भन्दा कम रहेको छ ।


क्लिकमान्डु