५ अर्ब रूपैयाँ पुँजी पुर्याउन महालक्ष्मी लाइफले रोज्यो मर्जरको बाटो



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन मर्जरको बाटो रोजेको छ ।
बीमा समितिले गत चैतमा बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो ।

समितिले जीवन बीमा कम्पनीको २ अर्बबाट ५ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रूपैयाँबाट साढे २ अर्ब रूपैयाँ पुर्याउने निर्णय गर्दै सबै कम्पनीलाई पुँजी वृद्धिको योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो ।

जस अनुसार कम्पनीले मर्जरबाट नै पुँजी वृद्धि गर्ने योजना बीमा समितिमा पेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार कम्पनीले बीमा समितिबाट पुँजी वृद्धिको योजना समेत स्वीकृत गराइसकेको छ ।

‘महालक्ष्मी लाइफ इन्स्योरेन्सको पुँजी योजना वैशाख ८ गते बीमा समितिमा पेश भएको थियो, क्लिकमाण्डूसँग भट्टराईले भने, हामीले बीमा समितिबाट क्यापिटल प्लान पनि स्वीकृत लिइसक्यौं ।’

नेपालको जनसंख्यालाई आधार मानेर हेर्दा हाल भएका ३९ वटा बीमा कम्पनीको संख्या धेरै भएको उनको भनाइ छ ।

बीमा बजारमा स्वच्छ प्रतिस्पर्धाको वातारण सिर्जना गर्न बीमा कम्पनीको संख्या घटाउनु पर्ने उनको बुझाइ छ ।

यसका लागि मर्जर नै उत्तम विकल्प रहेको कम्पनीको निष्कर्ष छ ।

‘१३० करोड जनसंख्या भएको भारतमा २४ वटा जीवन र २३ वटा निर्जिवन बीमा कम्पनी छन् । करिब ३ करोड जनसंख्या भएको नपालमा नेपालमा १९ वटा जीवन र २० वटा निर्जिवन बीमा कम्पनी धेरै नै हो,’ भट्टराईले भने, ‘बीमा कम्पनीहरूलाई जोखिमको आधारमा पुँजीगत रूपमा बलियो बनाउन, सञ्चालन खर्च कम गरी प्रतिफलमुखी बनाउन, स्वस्थ प्रतिस्पर्धा गराउन र दक्ष जनशक्तिमार्फत् गुणस्तरीय सेवा प्रदान गर्न तथा गराउन जीवन र निर्जीवन दुबैलाई १०÷१० वटाको संख्याभित्र ल्याउन जरुरी छ ।’

विशेष साधारणसभाले कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्याउने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

आजको आवस्यक्ता र बीमा समितिको चाहना बुझेर आफुहरूले मर्जरसँगै स्पष्ट कार्य योजनासहितको पुँजी वृद्धि योजना बुझाएको उनले बताए ।

कम्पनीले ३/४ वटा जीवन बीमा कम्पनीहरूसँग मर्जरका लागि अनौपचारिक रूपमा छलफल पछि मर्जरको सम्भावनालाई लिएर पुँजी वृद्धि योजनाको रोडम्याप अनुसार सूचना प्रकाशित गरिएको उनले बताए ।

कम्पनीको हित र लगानीकर्ताको हितका लागि कम्पनीहरू पोर्टफोलियोसहित मर्जमा जानुपर्ने उनको भनाइ छ ।

८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका वाणिज्य बैंकहरूले औषतमा १२ देखि १३ प्रतिशतसम्म लाभांश दिने क्षमता छ । जीवन बीमा कम्पनीमा पनि यहि अवस्था सृजना हुने उनको बुझाइ छ ।

बीमा कम्पनीहरूको सेयर मूल्य पनि डेढ सयदेखि साढे दुई सय रुपैयाँमा सीमित हुँदा प्रमोटरले एक सय रुपैयाँ पनि सेयर बेच्न गाह्रो हुने उनले बताए ।

दुई कम्पनी एक आपसमा मर्ज हुँदा कम्पनीहरूको विजनेस पनि जोडिने र औषतमा ८/९ प्रतिशत प्रतिफल समेत दिन सक्ने उनको भनाइ छ ।

पुँजी वृद्धिको लागि बीमा समितिले सहमति दिएर कम्पनीले वैशाख २५ गतेका लागि विशेष साधारण सभा बोलाएको छ ।
एक वर्षभित्रमा मर्जरसहतिको पुँजी वृद्धि योजना सफल हुने विश्वास कम्पनीको छ ।


क्लिकमान्डु