स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले आफ्नो छैटौँ बार्षिकोत्सवको अवसरमा चैत २५ गतेदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गर्ने भएको हो ।

स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा गएर उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी आफ्नै मोबाईलबाट थाहा पाउने छन् । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याउन लागेको उक्त एप्लिकेसनको माध्यमबाट बीमितले सो जानकारी पाउने भएका हुन् ।

स्वास्थ्य बीमा गर्नेले प्रति परिवार ३५०० रूपैयाँमा एक लाखसम्मको उपचार पाउँछन् । बोर्डकाअनुसार त्यसमध्ये बीमितले कति रकमको उपचार सेवा लिएको र अब कति बाँकी छ भन्ने कुरा आफ्नो मोबाइलबाटै थाहा पाउनेछन् ।

उक्त एपमार्फत बीमाको प्रिमियम तिर्न मिल्ने, बीमा गर्ने सबैले आफ्नो कति रकम खर्च भयो, कति बाँकी छ भनेर हेर्न समेत मिल्ने बोर्डका सूचना अधिकारी सोभित रिजालले जानकारी दिए । साथै, मोबाइल एप्लिकेसनमार्फत दर्ता सहयोगी बिना आफैले बीमा गर्न सकिने समेत उनको भनाइ छ ।

‘मोबाइल एप्लिकेसनबाट बीमितले आफुले पाउनु पर्ने सुविधावात कति रकम खर्च भयो । कति रकम बाँकी छ । र नवीकरण कहिले गर्ने भन्ने जानकारी पाउनेछन्,’ रिजालले क्लिकमाण्डूसँग भने ।

बोर्डको सो मोबाइल एप्लिकेसन सञ्चालनमा आएपछि बीमितलाई आफ्नो बीमाको सुविधाबाट कति खर्च भयो र अब कति सुविधा लिन सकिन्छ भनेर हेर्न सक्नेछन् ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई ‘पेपरलेस’ बनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिँदै अघि बढ्ने जनाएको छ ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन ल्याएको थियो ।

२०७२ सालमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७६ जिल्लामा विस्तार भएको छ ।

पाँच जनाको एउटा परिवारले ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार सुविधा पाउँछन् । परिवारमा ५ जनाभन्दा बढी सदस्य भए थप एकजना बराबर ७ सय रुपैयाँमा २० हजारको उपचार सुविधा थप हुन्छ ।


क्लिकमान्डु