पुँजी वृद्धिको योजना बनाउन बीमा कम्पनीलाई भ्याइनभ्याईः हकप्रद र बोनस सेयरबाट पुँजी पुर्याउने



काठमाडौं । बीमा कम्पनीहरूले तोकिएको समयमा पुँजी पुर्याउनका लागि हकप्रद र बोनस सेयरको बाटो रोज्ने भएका छन् ।

एकैपटक धेरै पुँजी वृद्धि गर्नुपर्ने र समय छोटो भएका कारण कम्पनीहरूले हकप्रद र बोनसबाटै पुँजी वृद्धि गर्ने भएका हुन् ।

एक वर्षभित्रै समितिले तोकेअनुसार साढे दुई गुणाले पुँजी वृद्धि सहज नभएको बीमकहरूको प्रतिक्रिया छ ।

बजारमा तरलता अभाव र समय पनि छोटो भएकाले तोकिएको पुँजी कायम गर्न नसकिने कम्पनीहरु बताउँछन् ।

समितिले तोकिदिएको समयमा पुँजी वृद्धि गर्नका लागि बोनस सेयर र हकप्रद बाहेकको अन्य विकल्प नभएको कम्पनीहरूले प्रतिक्रिया दिएका छन् ।

बीमा समितिको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

समितिका अनुसार बीमा कम्पनीहरूले सो पुँजी २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने छ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

समितिले सबै बीमा कम्पनीहरुलाई १ महिनाभित्र पुँजी वृद्धिको योजना बनाएर पेस गर्नुपर्ने समय सीमा तोकेको छ ।

तोकिएको समयमा पुँजी वृद्धिको योजना समितिमा पेस गर्र्नुपर्ने भएपछि कम्पनीहरू आन्तरिक तयारीमा जुटेका हुन् ।

तोकिएको समयमा साढे दुई गुणाले पुँजी वृद्धिका लागि कम्पनीहरूसँग बोनस सेयर र हकप्रद बाहेक अन्य विकल्प नभएको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए ।

‘कुनै पनि कम्पनीहरूले बोनसबाट मात्रै तोकिएको समयमा पुँजी पु्र्याउन सक्दैनन्,’ ती सीईओले क्लिमाण्डूसँग भने, ‘कम्पनीहरुलाई पुँजी वृद्धिका लागि बोनस बाहेक अर्को विकल्प हकप्रद नै हो ।’

नेको इन्स्योरेन्सले बोनस सेयर र हकप्रदबाट समितिले तोकेको पुँजी पुर्याउने भएको छ ।

साढे २ अर्बको पुँजी कायम गर्न समितिले दिएको समय छोटो भएकाले हकप्रद र बोनसबाट नै पुँजी वृद्धि गर्ने योजना समितिमा पेस गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले जानकारी दिए ।

‘साढे २ अर्ब रुपैयाँको पुँजी कायम गर्न समितिले तोकिदिएको समय सीमा छोटो छ, तोकिएको समयमा पुँजी पुर्याउन हकप्रद र बोनस बाहेकको अरु विकल्प छैन,’ खड्काले क्किमाण्डूसँग भने ।
हाल नेको इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लगानीकर्ताका लागि बोनस सेयर दिई तोकिएको पुँजी पुर्याउने योजना समितिमा पेस गर्ने भएको हो ।

समितिले तोकिदिएको साढे २ अर्ब पुँजी पुर्याउन कम्पनीले ७५ करोड २० २० लाख रुपैयाँमात्रै रकम थप गरे पुग्ने छ ।

सूर्या लाइफको पनि बोनस सेयर र हकप्रदबाटै पुँजी वृद्धि गरिने आन्तरिक तयारी छ । हाल सूर्याको चुक्ता पुँजी २ अर्ब ५५ करोड २८ लाख रुपैयाँ छ । समितिले तोकेको ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन इन्स्योरेन्सले २ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ रकम थप गर्नु पर्छ । बोनसबाट मात्रै एक वर्षमा सो रकम पुर्याउन नसकिने भएकाले हकप्रदको विकल्प पनि सञ्चालक समितिमा पेस गरिने इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले बताए ।

तर, उनका अनुसार हालसम्म पुँजी वृद्धिको योजनाका बारेमा सञ्चालक समितिको बैठक बस्न सकेको छैन । सञ्चालक समितिको बैठकले हकप्रद र बोनस सेयरबाटै पुँजी पुर्याउने प्रस्ताव पारित गरे सोही योजना बीमा समितिमा पेस गरिने उनको भनाइ छ ।

प्राइम लाइफले पनि बोनस र हकप्रदबाट नै ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने भएको छ । हाल २ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन २ अर्ब २२ करोड ३८ लाख रुपैयाँ रकम थप गर्नुपर्ने छ ।

आर्थिक वर्ष २०७८÷७९ मा बोनस सेयर र हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने योजना बनाएपनि सञ्चालक समितिबाट भने पारित गर्न बाँकी रहेको जानकारी दिएको छ ।

यता, ज्योति लाइफ इन्स्योरेन्सले भने कसरी पुँजी पुर्याउने भन्ने योजना तयार भइनसकेको र सञ्चालक समितिकै बैठक बस्न बाँकी रहेको जानकारी दिएको छ ।

ज्योति प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले कसरी पुँजी बढाउने विषयमा छलफल हुन बाँकी रहेको जानकारी दिए । जसका लागि बोर्डको बैठक बस्न बाँकी रहेको उनको भनाइ छ ।

कुनै पनि कम्पनीले बोनसबाट मात्रै पुँजी पुर्याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘बोनसबाट मात्रै ५ अर्बको पुँजी पुर्याउन नसकिएला । हकप्रद सेयर जारी गर्नुपर्ने अवस्था पनि आउला । कसरी पुँजी वृद्धि गर्ने । हकप्रद जारी गर्ने नगर्ने । जारी गर्ने हो भने कतिको रेसियोमा जारी गर्ने भन्ने कुरा बोर्डले निर्णय गर्ने हो,’ खत्रीले क्लिकमाण्डूँग भने, ‘पुँजी वृद्धिका लागि बोनस र हकप्रद बाहेक के विकल्प हुन सक्ला भनेर हामीले छलफल गर्न नै बाँकी छ ।’

ज्योति लाइफको हालको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ज्योतिले २ अर्ब ४४ करोड ९७ लाख रुपैयाँ रकप थप गर्नुपर्ने छ ।

यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले तोकिएको समयमा पुँजी कायम गन कमिटी नै गठन गरेको छ । सञ्चालक समितिको बैठकले पुँजी वृद्धिको योजना बनाउन कमिटी गठन गरेको संस्थानका प्रशासक कवि पाठकले जानकारी दिए ।

सरकारी स्वामित्वमा रहेको संस्थानको हालको पुँजी १८ करोड १० रुपैयाँ मात्रै छ । संस्थानमा नेपाल बैंक, नेपाल राष्ट्र बैंक र नेपाल सरकारको स्वामित्व छ । ३ ठुला प्रमोटर भएकाले संस्थानलाई ५ अर्ब रुपैयाँ पुँजी कायम गर्न समस्या नपर्ने उनको भनाइ छ ।

‘कमिटी गठन भएको छ । तर, छलफल कै क्रममा छौं । समितिले पुँजी वृद्धिको योजना बुझाउन दिएको समयमा योजना पेस गर्ने छौँ,’ पाठकले क्लिकमाण्डूसँग भने, ‘तीन वटा ठूला ठूला प्रमोटर छन् । २÷४ अर्ब प्रमोटरले थप्ने भन्ने योजना नि बन्न सक्ला ।’

उनले प्रमोटरको प्रतिशत घटाएर पब्लिकमा जाने भन्ने निर्णय पनि हुन सक्ने बताए । हकप्रद नै जारी गर्नुपर्ने अवस्था नहुने उनको भनाइ छ । प्रमोटरहरुसँगको छलफलपश्चात पुँजी बढाउनका लागि कसरी जाने भन्ने निर्णयमा पुग्न सकिने उनको भनाइ छ ।

‘हामीले समितिसमक्ष पुँजी वृद्धिको योजना पठाउँदा कति प्रमोटरले थप्ने र कति सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भन्ने पठाउने हो,’ पाठकले थपे ।

संस्थानले सर्वसाधरणका लागि आइपीओ ल्यायाउने तयारीसमेत थालेको छ । हालसम्म संस्थान ऐनअनुसार सञ्चालन हुँदै आएको छ । संस्थान कम्पनीमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि आइपीओ जारी गरिने उनको भनाइ छ ।

तर, संसदमा पेस भएको नयाँ बीमा ऐन आएपछि मात्रै राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण हुने छ । र, आइपीओको प्रक्रिया अघिबढ्ने छ । कम्पनीमा रुपान्तरण भएपश्चात संस्थानले सर्वसाधारणका लागि ३० प्रतिशत आइपीओ जारी गर्ने छ ।

अहिले सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्सले पुँजी बढाउनु पर्दैन । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड ९९ लाख ७१ हजार रुपैयाँ छ ।

इन्स्योरेन्सले अघिल्लो आवको मुनाफाबाट सेयर चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर ०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको उक्त प्रस्ताव साधारण सभाबाट पारित भईसकेको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफ बाहेकका अन्य जीवन बीमा कम्पनीको पुँजी नियामकले तोकेको भन्दा कम छ । सञ्चालनको अनुमति पाएका नयाँ जीवन बीमा कम्पनीले भने सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) नै जारी गरेका छैनन् ।

निर्जीवन बीमा कम्पनीतर्फ अधिकांश कम्पनीहरूको चुक्ता पुँजी दोब्बरभन्दा धेरैले बढाउनु पर्नेछ । निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सलाई भने साढे २ अर्ब रुपैयाँ पुँजी कायम गर्न सहज छ ।

नियामकले अघिबढाएको पुँजी वृद्धिको अवधारण प्रतिबीमा कम्पनीहरूको धारणा एकै किसिमको रहेको पाइँदैन । कम्पनीका सीइओहरूले सञ्चालक समितिको निर्णय नभई पुँजी वृद्धिको योजनाका बारेमा आफुहरुले बोल्न नमिल्नेसमेत बताएका छन् ।


बिजया बास्कोटा