लघुबीमा जारी गर्न सक्रिय जीवन बीमा कम्पनी, एक महिनामा ७५% ले बढ्यो



काठमाडौं । सरकारले अनिवार्य गरेको लघुबीमा योजना जारी गर्न जीवन बीमा कम्पनीहरु सक्रिय देखिएका छन् ।

बीमा समितिको तथ्यांक अनुसार हालसम्म जीवन बीमा कम्पनीहरुले २१ लाख ३६ हजार ५४५ वटा लघु जीवन बीमालेख जारी गरेका छन् ।

जुन कुल जारी जीवन बीमालेखको १९.२७ प्रतिशत हुन आउँछ । हालसम्म जीवन बीमा कम्पनीहरुमा कुल एक करोड १० लाख ८६ हजार ६८९ वटा जीवन बीमालेख जारी भएका छन् ।

चालु आवको पुस महिनाको तुलनामा लघु जीवन बीमालेखको संख्या ७५.२५ प्रतिशतले बढेको हो ।

चालु आवको पुस महिनासम्ममा लघु जीवन बीमालेखको संख्या १२ लाख १९ हजार १२५ मात्रै थियो ।

लघु जीवन बीमालेखको संख्या वाग्मती प्रदेशमा सबैभन्दा बढी छ । यस प्रदेशमा लघु जीवन बीमा गर्नेको संख्या १२ लाख ८६ हजार १८६ पुगेको छ । यो कुल लघु जीवन बीमाको ६० प्रतिशत हुन आउँछ ।

पुस महिनासम्ममा बाग्मती प्रदेशमा लघु जीवन बीमालेखको संख्या आठ लाख ७५ हजार ७१३ थियो । पुस महिनाको तुलनामा बाग्मती प्रदेशमा लघु जीवन बीमालेखको संख्या ४६.८७ प्रतिशतले बढेको हो ।

बाग्मती प्रदेश पछि अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा लघु जीवन बीमामा सहभागीता हुनको संख्या धेरै देखिएको छ ।

कर्णाली प्रदेशमा लघु जीवन बीमालेखको संख्या २ लाख ४३ हजार ५४६ रहेको समितिको तथ्यांक छ । जुन कुल लघु जीवन बीमाको ११.४० प्रतिशत हुन आउँछ ।

समितिका अनुसार पछिल्लो एक महिनामै कर्णाली प्रदेशमा लघु जीवन बीमा गर्नेको संख्यामा १४०० प्रतिशतको वृद्धि देखिएको हो ।

चालु आवको पुम सान्तसम्ममा कर्णाली प्रदेशमा लघु जीवन बीमा गर्नेको संख्या १६ हजार २८६ मात्रै थियो ।

यस्तै, लुम्बिनी प्रदेशमा करिब २ लाख, सुदूरपश्चिममा एक लाख ६२ हजार, गण्डकीमा एक लाख २ हजार, मधेशमा ९९ हजार र प्रदेश १ मा ४३ हजार लघु बीमालेख जारी भएको समितिको तथ्यांक छ ।

चालु आवको पुस मसान्तसम्ममा वाग्मती प्रदेशमा लघु जीवन बीमालेखको संख्या ८ लाख ७५ हजार ७१३ थियो । सुदूरपश्चिममा १ लाख ६९ हजार, गण्डकीमा ९० हजार ९ सय, लुम्बिनी प्रदेशमा ६८ हजार, मघेशमा ३५ हजार २ सय, प्रदेश १ मा २५ हजार ८ सय र कर्णाली १६ हजार २ सय रहेको समितिको तथ्यांक छ ।

यस अवधिमा बाग्मती, लुम्बिनी, मधेश र गण्डकी प्रदेशको पनि लघु जीवन बीमालेखको संख्या बढेको देखिन्छ ।

पुस महिनाको तुलनामा मधेश प्रदेशमा लघु जीवन बीमालेखको संख्या १८१.८९ प्रतिशत, गण्डकी प्रदेशमा १२.२४ प्रतिशत, लुम्बिनी प्रदेशमा १९२.९४ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ५१.७४ प्रतिशतले बढेको समितिको तथ्यांक छ ।

बीमा समितिले आर्थिक रुपमा पिछडिएका व्यक्तिलाई लक्षित गरी लघुबीमा योजना सञ्चालन गर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले सबै नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि भन्दै लघुबीमा योजना ल्याएको हो ।

बीमा समितिले पनि लघु बीमा विस्तार गर्नका लागि भन्दै २०७१ सालमा लघुबीमा सम्बन्धि निर्देशिका जारी गरेको थियो ।

निर्देशिकाअनुसार लघु जीवन बीमाअन्र्तगत सावधिक लघु जीवन बीमा, म्यादी लघु जीवन बीमा र समितिले तोकिए बमोजिमको अन्य लघु जीवन बीमाहरु समेत पर्छन् ।

जीवन बीमा कम्पनीले अधिकतम तीन लाख रुपैयाँसम्मको लघु बीमा जारी गर्नसक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

सरकारले कुल बीमा व्यवसायमा लघु बीमा हिस्सा कम्तिमा १० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु