एनबी बैंकसँग कुण्डली मिलेको छ, कुरा मिले छिट्टै मर्ज हुन्छः अनिल शाह



काठमाडौं । वाणिज्य बैंकहरुले मर्जमा गएर अरुभन्दा ठूलो बन्ने प्रतिस्पर्धा भइरहेको बेला मुलुकै अग्रहणी नबिल बैंक र नेपाल बंगालदेश बैंकबीच मर्जको चर्चा व्यापक भएको छ ।

धेरै पहिलादेखि ‘क’ वर्गको बैंकसँग मर्जरमा जान सकिन्छ भनेर अध्ययन गरिरहको नबिल बैंकले यसपाली भने बंगलादेश बैंकसँग मर्जमा जाने विषय धेरै अगाडि बढाएको छ ।

नबिल बैंक सञ्चालन गरिरहेका खर्बपति विनोद चौधरीले बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरिद गर्ने सहमति भएको कुरा बाहिर आएपछि मर्जको विषय अझ बलियो हुँदै गएको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपाल बैंगलादेश बैंकसँग मर्ज वा एक्विजेशनको विषय सकारात्मकरुपमा अगाडि बढेको बताए ।
‘अहिले नै मर्ज वा एक्विजिसन के हुन्छ भनेर भनिहाल्ने बेला भएको छैन,’ क्लिकमाण्डूसँग कुरा गर्दै शाहले भने, ‘बंगलादेश बैंकसँग नबिलको कुण्डली मिलेको छ । कुरा सकारात्मकरुपमा अगाडि बढेको छ ।’

अन्य धेरै बैंकसँग मर्जको लागि अध्ययन भइरहेको भए पनि बंगलादेश बैंकसँग मर्ज वा एक्विजिसनमा जाँदा तुलनात्मक रुपमा फाइदा रहेको उनले बताए ।

बंगलादेश बैंकका ग्राहक र व्यवसाय नबिलको भन्दा फरक छ । ‘ननफन्डेड व्यवसाय छ ,’ उनले भने, ‘हाम्रो भन्दा धेरै फरक छ । ब्रान्च नेटवर्क पनि फरक छ । रेमिट्यान्सको पनि राम्रो ।’

यसअघि नबिल बैंकले युनाइटेड फाइनान्स लाई आफूमा गाभेको थियो । त्यसपछि अर्को क वर्गको बैंकसँग मर्जमा जाने सकिने भनेर छलफल अगाडि बढाएको थियो ।

केही समयअघि भएको बोर्ड मिटिङमा नेपाल बंगलादेश बैंकसँग मर्जको लागि छलफल भएको थियो । उक्त बोर्ड मिटिङपछि सकारात्मक रुपमा कुरा अगाडि बढेपछि नबिल बैंकका सञ्चालक उदय उपाध्यायको नेतृत्वमा आशा राना अधिकारी, अनन्त पौडेल, सिईओ, डीसीओ सुजित शाक्य, जिएम फाइनान्स मनोज ज्ञवालीसहितको मर्जर कमिटी बनेको छ ।

उक्त मर्जर कमिटीको पहिलो बैठक आज सोमबर बिहान बसेको छ ।

बंगलादेश बैंकले पनि मर्जर कमिटी बनेको छ । दुई मर्जर कमिटी बसेर संयुक्त मर्जर कमिटी बेिपछि एमओयु, डीडीए र स्वाप रेसियोको बारेमा छलफल हुने शाहले बताए ।

यदी मर्ज वा एक्विजिसनमा जाने हो भने ढिला नहुने र छिट्टै निर्णय हुने उनको भनाइ छ । ‘हामी कुनै पनि काम गर्दा विस्तारै गर्दैंनौं । युनाइटेडसँग मर्जमा जाँदा पनि सबैभन्दा छिटो गरेका थियौं,’ शाहले भने, ‘यदी बंगलादेश बैंकसँग हुने भने पनि छिटो हुन्छ ।’

मर्जर वा एक्विजेशन हुने पक्का भएमा छिट्टै एमओयु हुने र यही आर्थिक वर्षभित्र एकीकृत कारोबार शुरुहुने उनले जानकारी गराए ।

बंगालदेश बैंकसँग मर्जमा गएमा स्वाप रेसियो कति हुने भन्ने चासो धेरैको छ । कति स्वाप रेसियो दिने भन्ने एकीन भइसकेको भने छैन ।

हामीलाई यत्ति थाहा छ स्वाप रेसियो ‘फेयर’ हुन्छ,’ शाहले भने, ‘एकअर्कालाई चित्तबुझ्दो हुन्छ । यो एक विवाह हो । विवाह स्टाफको मात्र होइन, प्रमोटर सेयर होल्डर र ग्राहकको पनि हो ।’

मर्जपछिको स्टाफदेखि अन्य व्यवस्थापन अझ ठूलो चुनौतिको विषय भएको शाहले बताए ।

दुई बैंकको ‘कल्चर’ र ‘रिक्स’ व्यवस्थापन फरक भएको र सयौं जना कर्मचारीको आआफ्नै विचार भएकाले यी सबैलाई मिलाएर लैजानु पर्ने चुनौति रहेको शाहले बताए ।

अहिले नबिल बैंक ‘नम्बर वान’को अवस्था छ । त्यसलाई आगामी वर्षहरुमा पनि कायम राख्न मर्ज वा एक्विजेशनमा जानु पर्ने उनले बताए । ‘अन्य बैंकहरु पनि मर्जरबाट ठूलो बैंक भइरहेका छन्,’ शाहले भने, ‘त्यसकारण हाम्रो अर्गानिक ग्रोथले मात्र हाम्रो रफतारलाई पिअपक गर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्न छ । हामीले अहिले त्यो कुरालाई सोँचेर अगाडि बढ्नु पर्छ ।’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रमा मर्जमा जाने बैंकहरुलाई सुविधाहरु हुने त्यसपछि नहुने भनेको छ । त्यसले गर्दा पनि यस आर्थिक वर्षभित्रमा संयुक्त कारोबार हुने सम्भावना रहेको शाहले बताए ।


क्लिकमान्डु