पुनर्बीमा दलाललाई लाइसेन्स दिने समितिको तयारी



काठमाडौँ । बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर)लाई लाईसेन्स दिने भएको छ । समितिले पुनर्बीमा दलाल९ब्रोकर०सम्बन्धी निर्देशिका, २०७८ बमोजिम लाइसेन्स दिने तयारी अघि बढाएको हो ।

समितिले नेपालमा पुनर्बीमा दलालको आवश्यकता भएको भन्दै पुनर्बीमा सम्बन्धी निर्देशिका जारी गरेको थियो ।

सो निर्देशिकामा तोकिएको प्रावधान बमोजिम केही कम्पनीहरुले पुनर्बीमा ब्रोकर लाइसेन्सको लागि आवेदन दिएपछि समितिले लाइसेन्स दिने तयारी थालेको हो ।

पुनर्बीमा ब्रोकर सम्बन्धी निर्देशिकाले विदेशी कम्पनीलाई पनि इजाजत दिन मिल्ने व्यवस्था गरेको छ ।

समितिका अनुसार पुनर्बीमा ब्रोकर दलालको इजाजतपत्र माग्दै स्वदेशी कम्पनीका साथै विदेशी कम्पनीले पनि आवेदन दिएका छन् ।

निर्देशिका अनुसार तोकिएको प्रावधान पुर्याएर आवेदन दिन आएका सबै कम्पनीलाई इजाजतपत्रको अनुमति दिने तयारी रहेको समितिले जानकारी दिएको छ ।

न्यूनतम पूँजी सहित सबै प्रकृया पुर्याएर आउने ब्रोकर कम्पनीहरुलाई अनुमति दिने तयारी रहेको समितिका एक कर्मचारीले जानकारी दिए ।

तर, तत्कालै लाइसेन्स दिने निर्णय भने भइनसकेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । बजारमा पुनर्बीमा दलालको आवश्यकता भने रहेको उनले बताए । ‘इजाजतपत्र दिने ठाउँ बीमा समिति हो । इजाजतपत्र लिनका लागि आवेदन दिने ठाउँ यही हो,’ पौडेलले क्लिकमाण्डूसँग भने,‘आवेदन दिएका छन् । दिन्छन् । तर केही निर्णय भएको छैन।’

नेपालमा पुनर्बीमा ब्रोकर छैनन् । नेपालमा नै पुनर्बीमा दलाल नहुँदा कम्पनीहरुले अहिले विदेशी पुनर्बीमा दलालमार्फत पुनर्बीमा गर्दै आएका छन् । बीमा बजारमा पुनर्बीमा दलालको आवश्यकतालाई मध्यनजर गर्दै समितिले लाइसेन्स दिने तयारी गरेको हो ।

अहिले नेपालमा पुनर्बीमा ब्रोकर नभएका कारणले गर्दा पनि समितिले प्रकृया पुर्याएर आउने सबैलाई इजाजतपत्र दिने भएको हो ।

नेपालमा नै पुनर्बीमा दलालको स्थापना गरियो भने कम्पनीहरुलाई ती दलालमार्फत पुनर्बीमा गर्न सहज हुने समितिको बुझाइ छ । साथै, पुनर्बीमा दलालका नाममा बाहिरिने कमिशन रकम पनि रोकिने छ ।

समितिले पुनर्बीमा बजारको विकास गर्नका लागि भन्दै बीमा ऐन, २०४९ को अधिकार प्रयोग गर्दै पुनर्बीमा दलाल(ब्रोकर) सम्बन्धी निर्देशिका, २०७८ जारी गरेको थियो । उक्त निर्देशिकामा समितिले पुनर्बीमा दलाल(ब्रोकर)को पूँजी निर्धारण समेत गरेको छ ।

बीमा ऐनको दफा ३० (ख) बमोजिम बीमा व्यवसाय सञ्चालन गर्न संस्थापित संगठित संस्थाको अधिकृत पूँजी कम्तीमा दश करोड रुपैयाँ हुनुपर्ने समितिद्धारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

पूँजी मध्येबाट अधिकृत पूँजीको पच्चीस प्रतिशत रकम चुक्ता पूँजीको रुपमा कायम गर्नुपर्ने हुन्छ । पूँजी मध्येबाट अधिकृत पूँजीको पच्चीस प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्छ ।

पुनर्बीमा कम्पनी र बीमा कम्पनीका बीच मध्यस्थकर्ताको काम गर्नका लागि इजाजत प्राप्त संस्था नै पुनर्बीमा दलाल हुन् ।

पुनर्बीमा दलालले बीमा कम्पनी र पूनर्बीमा कम्पनी बीच मध्यस्थकर्ताको रुपमा काम गर्छन् । पुनर्बीमा दलाल कम्पनीहरुले पुनर्बीमा कम्पनी र बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम समेत निर्धारण गर्छन् ।

जोखिमको पुनर्बीमाको व्यवस्था गर्ने, प्लेसमेण्ट गर्ने तथा मिलान गर्ने काम पुनर्बीमा दलालले गर्छ ।

पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, पुनर्बीमा दावी भुक्तानी सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, जोखिम अनुसार उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्ने, पुनर्बीमा कम्पनी र बीमा कम्पनीबीच लिनु दिनु पर्ने रकमको समर्थन पत्र उपलब्ध गराउने लगाएतका काम पुनर्बीमा दलालले गर्छ ।

ख्याति र रेटिङ बारे जानकारी तथा परामर्श दिने काम समेत पुनर्बीमा दलालले गर्छ ।


क्लिकमान्डु