गत आवमा बागमति प्रदेशका होटलको अकुपेन्सी ७.२३% मात्रै, १८.३८% ले गुमाए रोजगारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार कोरोना महामारीका कारण गत आर्थिक वर्षमा बागमति प्रदेशमा होटल अकुपेन्सी ७.२३ प्रतिशतमा सीमित भएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७७ मंसिरसम्म यस्ता होटलको अकुपेन्सी औसतमा २.०९ रहेकोमा कोरोनाको असर कम भएसँगै पुस, माघ र फागुन महिनामा औसत अकुपेन्सीमा सामान्य सुधार आई ९.७९ प्रतिशत पुगेको थियो ।
२०७८ बैशाखदेखि पुनः कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा प्रभाव परेसँगै अकुपेन्सी दर घटेर औसत ७.२३ मा सीमित भएको छ ।
कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन ठप्प प्रायः रहेको तथा आन्तरिक आवागमनमा समेत असर परेको कारण यस क्षेत्रमा प्रभाव पर्न गएको हो ।
यस प्रदेश अन्तर्गत काठमाडांै बाहिर रहेका होटल व्यवसायमा क्रमशः सुधार भएको देखिएको छ । गत चैतसम्म अकुपेन्सी दर न्यून रहेकोमा अकुपेन्सी दरमा क्रमशः सुधार आई असार महिनामा अकुपेन्सी दर ३७.२५ पुगेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कोरोनाको असर क्रमश न्यून हुँदै गएको, भ्याक्सिनको सहज उपलब्धता हुँदै गएको, सरकारले अनअराईभल भिसा दिने व्यवस्था गरेको, केही मुलुकले नेपाललाई नेगेटिभ सूचीबाट हटाएको, आन्तरिक पर्यटनमा उत्साह थपिएको लगायतका कारण यस क्षेत्रको विकासमा केही राहत हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष यो प्रदेशमा रहेका होटलले रोजगारी कटौती गरेको देखिएको छ । यस अवधिमा होटल क्षेत्रमा १८.३८ प्रतिशत रोजगारी कटौती भएको छ ।
बागमती प्रदेशमा प्रखुम पर्यटकीय गन्तव्य
समुद्र सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२२९ मिटरको उचाईमा रहेको लाङटाङ हिमाल यसै प्रदेशमा रहेको छ । यो प्रदेशमा पर्यटनको उच्च सम्भावना रहेको छ ।
सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल यसै प्रदेशमा रहेकोले विदेशी पर्यटकको पहिलो गन्तव्यको रुपमा रहने काठामाडौं उपत्यका यसै प्रदेशमा रहेको छ । पर्यटकको लागि आकर्षक गन्तव्यमध्ये चितवनको सौराहा यसै प्रदेशमा पर्दछ । पशुपतिनाथ, बुढानिलकण्ठ, चाँगुनारायण, स्वयम्भूनाथ, बौद्धनाथ, गोसाईकुण्ड, कालिञ्चोकजस्ता धार्मिक स्थल मकवानपुरगढी, सिन्धुलीगढी, रसुवागढी जस्ता ऐतिहासिक गढी, विसहजारी ताल, इन्द्रसरोबर, गौरीशंकर हिमश्रृंखला यस प्रदेशमा रहेका प्रमुख पर्यटकीयस्थलहरु हुन् ।
भरतपुरको आँपटारी, काभ्रेपलाञ्चोकको धुलिखेल, चन्द्रागिरी, हेटौडाको मकवानपुरगढी र नुवाकोट दरबारमा जीपलाईन सञ्चालनमा रहेको छ । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बन्जी जम्पिङ्ग तथा र्याफ्टिङ्ग संचालनमा रहेका छन् ।
पर्यटन प्रवर्द्धनको लक्ष्य
यस प्रदेशले पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारी विस्तारलाई कोभिड पश्चात् पुनरुत्थानको आधारको रुपमा लिएको छ । सिन्धुलीको मरिण, धादिङ्गको सल्यानटार, काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी, रसुवाको रसुवागढी र दोलखाको जिरी सहरको सौन्दर्यकरण, एकीकृत शहरी विकास कार्यक्रम तथा गोसाईकुण्ड एकीकृत विकास परियोजना अन्तर्गत पदमार्ग, मन्दिर, पाटी, सार्वजनिक शौचालय निर्माणको लागि प्रदेश सरकारलेबजेट व्यवस्था गरेको छ ।
साथै, ठूला सहरमा विद्युतीय बस संचालन गर्ने, शहरी वन कार्यक्रम संचालन गर्ने, तामाकोशी, भोटेकोशी र त्रिशुलीमा ¥याफ्टिङ्ग, जुगल तथा गौरीशंकरमा साहसिक तथा पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने, त्रिभुवन पार्कमा राजनैतिक संग्राहलय निर्माण गर्ने तथा दोलखा जिल्लाको डाङडुङे डाडामा फिल्म सिटी निर्माण गर्ने लक्ष्य लिएको छ ।
यस प्रदेशमा होटल हिलटन, सेराटन काठमाडौं, जिंक काठमाडौं, सी जी होटलजस्ता ठूला होटल निर्माणाधीन अवस्थामा रहेका छन् । निर्माणाधीन अवस्थामा रहेको नौबीसे नागढुंगा सुरुङ्गमार्ग तथा बुटवल नारायणगढ सडक स्तरोन्नति गर्ने कार्यले यस प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ । कोरोना भाइरसको दोस्रोलहर पश्चात अर्थतन्त्र चलायमान हुँदै गएकोले पर्यटन क्षेत्रमा समेत उत्साह देखिएको छ । कोभिड-१९ को महामारी र बन्दाबन्दीका कारण स्थगित पर्यटन पूर्वाधारहरुका कामले फेरि गति लिन थालेको छ ।