२ अर्ब ऋण लिने निर्मल प्रधान भन्छन्- ४/१२ को नीतिले समस्या छैन



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ४/१२ को नीति लियो ।

मौद्रिक नीतिले सेयर धितो राखेर एउटा बैंक तथा वित्त संस्थाबाट ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा ऋण लिन नपाइने व्यवस्था गर्यो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्था संशोधन हुने अपेक्षा लगानीकर्ताको थियो । खास गरी आन्दोलनमा उत्रेका लगानीकर्ताले ४÷१२ को नीति परिवर्तन नभएमा बजार घट्ने भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विरोधमा छन् ।

नेपाल राष्ट्र बैंकले गरेको ४/१२ को व्यवस्थाले सेयर बेचेर ऋण तिर्नेको संख्या बढेको छ ।

असार मसान्तसम्ममा १ करोडभन्दा बढीको सेयर धितो राखेर दिएको ऋण ७३ अर्ब ५३ करोड थियो । असोज मसान्तमा ६७ अर्ब ९३ करोडमा पुगेको छ ।
सेयर धितो राखेर व्यक्तिगतरुपमा सबैभन्दा बढी ऋण लिएका सेयर लगानीकर्ता निर्मल प्रधान नीतिको व्यवस्थाले केही असर नगरेको बताउँछन् ।

असार मसान्तसम्म प्रधानले १ अर्ब ९६ करोड सेयरधितो राखेर ऋण लिएका थिए ।

सेयर बजारका बादशाह भनेर चिनिने प्रधान विगतमा नियमअनुसार नै ऋण लिएको र नियमअनुसार घटाउने बताउँछन् ।

‘मेरो परिचय भनेको सेयर लगानीकर्ताको हो, सेयर किन्नका लागि धितो राखेर ऋण लिएको थियो, नियम परिवर्तन भएको नियमअनुसार ऋणलाई सीमामा ल्याउन कुनै समस्या छैन,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

सेयर धितो राखेर ऋण लिनेमा भाटभटेनीका मिनबहादुर गुरुङले १ अर्ब ५० करोड, दिक्षान्त बानियाँले १ अर्ब ३५ करोड, श्रवण गोयलले १ अर्ब ३२ करोड, स्नेहा खेतानले १ अर्ब ३० अर्ब तथा रहिसा श्रेष्ठ शाहले १ अर्ब ऋण लिएकी थिइन् ।

नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाएको सीमासँगै बढी कर्जा लिनेहरु घट्दै गएका छन् । १ करोडभन्दा बढीको कर्जा रकम घटेपनि सोभन्दा कम रकमको कर्जा भने घटेको छैन ।

१ करोडभन्दा कम तथा ५० लाखभन्दा बढी कर्जा असार मसान्तको तुलनामा असोज मसान्तमा ८४ करोडले बढेको छ । यस्तै २५ देखि ५० लाखसम्म १ अर्ब २६ करोड तथा २५ लाखभन्दा कम १ अर्ब १२ करोडले बढेको छ ।


क्लिकमान्डु