विजयशेखरलाई पिताले बन्द गर्न भनेका थिए पेटीएम, भन्छन्- न्यूयोर्कमा पनि झण्डा गाड्छौं



एजेन्सी । जो कोही एलन मस्क बन्न सक्छ ? केही मानिसका मनमा यसप्रकारका जिज्ञासा छन् । अनि उत्तर पनि त्यस्तै छन् ।

समय र मेहनतले साथ दियो भने एलन मस्क बन्ने कुरा कुन ठूलो भयो र ? तर, सानो सोच र चाहनाले मात्रै सफलताको उचाई चुम्न सकिदैन । शिखरमा पुगेपनि त्यसलाई लामो समय टिकाइराख्न सकिदैन ।

भारतमा केही दिन पहिले हालसम्मकै सबैभन्दा ठूलो आइपीओ बिक्री भयो । वान९७ टेलिकम्युनिकेशनले सञ्चालन गर्ने पेटीएमको साधारण सेयर बिक्री गरिएको थियो ।

हरेक डिर्पाटमेन्टल स्टोर, चिया पसलदेखि तरकारी बजारमा समेत सोही कम्पनीको सेयरको चर्चा सुनिन्थ्यो । मानिसहरुको टिप्पणी थियो– पेटीएमले बजार पिट्छ । थोरै लगानी गर्ने समेत धनी हुन्छन् । किनकी, बजारमा यसले सकारात्मक प्रभाव पार्नेछ ।

तर अवस्था त्यस्तो भएन ।

पेटीएमको सेयरले भारतीय बजारमा खासै धूम मच्चाउन सकेन ।

अक्षयकुमारको सूर्यवंशीले मल्टिप्लेक्समा उधूम मच्चाउँदा विजयशेखर शर्माको पेटीएम भने ओरालो यात्रामै छ । कुनै चमत्कार नभए अन्य सामान्य कम्पनीजस्तै पेटीएम पनि सेयर बजारका सूचीकृत कम्पनी जस्तै बुलको प्रतिक्षामा बस्नु पर्नेछ ।

लगातार ३९ प्रतिशतसम्म ओरालो लागेको पेटीएमको सेयर मंगलबार भने ७ प्रतिशतले वृद्धि भएको छ । सोमबार १ हजार ३६० मा कारोबार बन्द भएको थियो । मंगलबारको वृद्धिपछि १ हजार ४४९ भारु बराबर पुगेको छ ।

केही भारतीय मिडियाले त पेटीएमलाई खुच्चिमको शैलीमा समाचारपनि बनाए । सबैभन्दा ठूलो आइपीओको सर्मनाम प्रदर्शन उनीहरुको समाचार शीर्षक यस्तै यस्तै थियो ।

जानकारी अनुसार कम्पनीको सेयर ओरालो लागेर १२०० भारुसम्म पुग्न सक्ने आकलन गरिएको थियो । यद्यपि १३६५ भारुसम्म झरेको कम्पनीको सेयर मूल्य मंगलबार उकालो लागेको छ । पेटीएम कम्पनीको सेयरको भ्याल्यूएसननै बढी भएकाले पनि बजारमा कुनै धमाका दिन नसकेको टिप्पणी गर्न थालिएको छ । कम्पनीलाई फाइदामा लैजान बढी चुनौतीपूर्ण रहेको तर्क पनि सुनिन्छ ।

केहीदिन पहिले मात्रै पेटीएमको १८ हजार ३०० करोड भारु बराबरको सेयर बिक्री भएको थियो । कम्पनीका लगानीकर्ताले ८ हजार ३०० करोड बराबरको सेयर बिक्री गरेका थिए । कूल १.८३ गुणा बढी सब्सक्राइभ भएको थियो ।

भारतीय मिडियाको विवरणलाई पत्याउने हो भने पेटीएमको सेयर मूल्यमा ४४ प्रतिशतसम्म गिरावट देखिन सक्छ ।

लगातार बजारमा धुलाई भेटेपनि पेटीएमका प्रमुख विजयशेखरले पनि आफूलाई एलन मस्कसँग तुलना गरेका छन् ।

सेयर सूचीकृत हुने दिन धुँवाधार रुपमा प्रस्तुत भएका उनलाई बजारले स्वीकार नगरेपछि मस्कको सम्झना भएको हो ।

कूल ७ शब्दको ट्वीटले १० अर्ब डलरभन्दा बढी गुमाएका मस्क त्यत्ति बढी चिन्तित थिएनन् । किनकी, उनलाई आफूमा विश्वास थियो, तर विजयशेखरमा भने विश्वासको कमी देखिएको भारतीय मिडियामा दाबी गरिएको छ ।

मस्कले सेयर बिक्री गरौ कि के ? भनेर ट्वीटरमा सोधेका थिए । उनको अरु कुनै कारण थिएन । झण्डै दुई तिहाईले उनलाई सेयर बिक्री गर्ने सल्लाह नै दिएका थिए । तर पनि उनलाई बजारले दनक दिएको थियो ।

पेटीएमका विजयशेखरका हकमा भने कम्पनीको हिसाबकिताबमा रहेको घाटाको चार्ट हेरेका थिए । पछिल्ला २ वर्षमा घाटा क्रमशः ओरालो लागेपनि मुनाफा भने कमाइ हालेको अवस्था छैन ।

ब्लूमवर्गको विवरणअनुसार बजारमा धुलाई खानु र एलन मस्कसँग तुलना गर्नुको के कति तादम्यता होला त ? स्र्टाटअपको सेयरमा किन अप्रत्यासित गिरावट देखा पर्यो त ? प्रश्नहरु छन् । तर उत्तर फेला परिसकेको छैन ।

सेयर बजारमा पेटीएमको सेयर सूचीकृत हुने दिन विजयशेखरले आफना कर्मचारीलाई टाउन हलमा ४ घण्टासम्म भेला गरेर राखेका थिए । उनले खुसी साटिरहँदा बजारमा भने पेटीएमको सेयरले २७ प्रतिशतको ओरालो यात्रा तय गरिरहेको थियो ।

दोस्रो दिन १३ प्रतिशत बराबरले सेयर मूल्यमा गिरावट आयो । सोमबार डिजिटल भुक्तानी स्र्टाटअपको सेयरहरु प्रतिसेयर ५१.८० को डाउनसाइड अन्तरका साथ खोलियो ।

एनएसइमा प्रतिसेयर १५६०.८० बाट सूचीकृत भएको दिनको तुलनामा १३ प्रतिशतले घट्यो ।सूचीकृत भएको दिनदेखिनै क्रयास भएको

पेटीएमले अक्टोबर महिनाको कारोबारको अपडेट पनि दिएको थियो । कूल व्यापारिक मूल्यमा १३१ प्रतिशतले बढेर ११.२ विलियन डलर पुगेको दाबी गरिएको थियो ।

ऋण विस्तारलाई विश्लेषकहरुले पेटीएमलाई नाफामा लैजाने हतियारका रुपमा लिएका थिए र भनेका थिए ४०० प्रतिशत बराबरको वृद्धि हुनसक्छ ।

टाउन हलमा ४३ वर्षीय शर्माले कर्मचारीलाई नआत्तिन आग्रह गरेका थिए । उनले विगत र वर्तमानको तुलना गर्न भनेका थिए । देशभर बिस्तार भएको इन्टरनेट र डिजिटल क्षेत्रमा भएको विकास तथा डिजिटल भुक्तानीले पार्ने दीर्घकालीन अवसरमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

उनले मस्कसँग तुलना मात्रै गरेनन् प्रसंशा पनि गरे । हालै खरिद गरेको टेस्ला गाडीको बारेमा पनि उल्लेख गरे । उनले विद्युतीय सवारी साधन निर्माता टेस्ला पनि शुरुमा सानो कम्पनी रहेको बताए ।

कम्पनीले वर्षौसम्म गरेको संघर्षले नै विश्वव्यापीरुपमा मान्यता प्राप्त ब्राण्डको रुपमा स्थापित हुन सफल भएको बताए । मूल्यवान अटोमेकर बन्नुका पछाडि रहेको संघर्ष नै खास हो भन्ने स्थापित पनि भयो ।

सन् २०२० को जुलाईमा जब टेस्लाले टोयोटा मोटर कर्पोरेशनलाई उछिन्यो । विश्वको मूल्यवान कम्पनी बन्दै गर्दा केहीले आलोचना पनि गरे । तर शर्मा भन्छन्, ‘मैले त्यतिबेला पनि टेस्लाको प्रसंशा गरेको थिए । एलन मस्कको खुट्टा तान्ने प्रयास त्यतिबेला पनि भएको थियो, अहिले पनि जारी छ ।’

मस्कले प्रमाणित गरेका छन् कि खास अर्थमा मेहनत के हो भनेर । मस्कको ट््वीटमा हस्ताक्षर गर्दै शर्मा भन्छन्, ‘एक दिन मेरो पनि समय आउनेछ ।’

सन् २०१० मा टेस्लाको आइपीओ सूचीकृत भएको दिन ४१ प्रतिशतले वृद्धि भएको थियो । पछि लगातार ओरालो लागेर न्यून बिन्दुमा पुग्यो । तर, असफलता नै सफलताको कारक भने जस्तै उकालो लागेको कम्पनीले फर्केर हेर्नुपरेन । बिस्तारै कम्पनी १ ट्रिलियन डलरभन्दा ठूलो बन्यो ।

पेटीएमले पनि आइपीओमा रेकर्ड कायम गरेको छ । तर शुरुवाती व्याटिङमा नराम्रो धक्का लागेको छ । लगानीकर्तालाई पिरलो थपेको पनि हुन सक्छ । सन् २०१० मा कोल इण्डियाले बनाएको रेकर्डलाई पेटीएमले सन् २०२१ मा धक्का दिएको थियो । यो पनि एउटा नयाँ शुरुवातनै हो भन्नेमा विजयशेखर सहमत छन् ।

पेटीएमको सेयरको व्यवस्थापन एवम् प्रबन्धकमा प्रमुख बैंकहरुसँगै मोर्गन स्टेनली, गोल्डम्यान साक्स ग्रुप, जेपी मोर्गन चेज एण्डको, आइसीआइसीआइ सेक्युरिटीज, एक्सिस क्यापिटललगायत थिए ।

आलोचकहरुले पछिल्ला महिनाहरुमा पेटीएमको दूर भविष्यमाथि प्रश्न उठाएका छन् । कम्पनीले जुलाईमा दिइएको विवरण अनुसार गत मार्चको अन्त्यसम्ममा वित्तीय सेवाको बिक्री ११ प्रतिशतले बढेको थियो । त्योसँगै तीव्र प्रतिष्पर्धाको बीचमा पनि समग्र आम्दानी १० प्रतिशतले घटेको उसैले स्वीकार गरेको छ ।

उत्तर प्रदेशबाट संसारतर्फ
भारतको सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेशको एउटा सानो गाँउमा विजयशेखरको जन्म भएको हो । उनका पीता विद्यालयका शिक्षक थिए भने आमा घर बनाउने काम गर्थिन । न्यून मध्यम वर्गबाट उठेका शर्मा, सन् २०१७ मा नै भारतको सबैभन्दा कान्छो अर्बपति समेत बने ।

सन् २००४– ०५ मा उनका पिताले उनलाई कम्पनी बन्द गर्न भनेका थिए । पिताले ३० हजार भारु बराबरको जागिर गर्न भनेका थिए । सन् २०१० मा पेटीएम भुक्तानी सेवा शुरु गरेका शर्माले आफनो शुरुवाती दिन सम्झे र पिताले भनेका कुरा पनि स्मरण गरे ।

शर्माले कुनै समयमा मासिक १० हजार भारु मात्रै तलब लिन्थे । सो तलबले उनको विवाह हुन सक्दैनथ्यो । सोही कारण उनका पिताले कमाई नहुने जागिर छाड्न र बढी पैसा आउने काम गर्न भनेका थिए । सन् २०१० मा दक्ष इन्जिनियरको एउटा समूह सानो कम्पनी चलाउँथ्यो र मोबाइल बिक्री गर्दथ्यो ।

शर्मा भन्छन्, ‘म महिनाको करिब १० हजार भारु मात्रै कमाउँछु भन्ने थाहा पाएपछि सम्भावित बेहुलीका परिवारले मलाई कहिल्यै फोन गर्दैनन् । म मेरो परिवारका लागि एउटा अयोग्य अविवाहितमा परिणत हुन्थे ।’

गत हप्ता मात्रै ४३ वर्षीय शर्माले २.५ विलियन डलर बराबरको आइपीओको नेतृत्व गरे । भारतका लागि फिनटेक फर्महरु एउटा नयाँ टोस्ट जस्तै बनेको छ । जहाँ नयाँ–नयाँ स्र्टाटअप सञ्चालन गर्ने पहिलो पुस्ताले बजारमा नयाँ नयाँ अर्बपतिहरु निर्माण गरिरहेका छन् ।

अर्बपति भएपनि शर्मा सडकको किनारमा बसेर चिया पिउन मन पराउँछन् । दुध र रोटी किन्नका लागि हरेक दिन बिहान पैदल हिँड्न मन पराउँछन् ।

लामो समयसम्म मेरा माता पितालाई छोराले के गर्दैछ भन्ने कुराको जानकारी थिएन । एकदिन मेरी आमाले हिन्दी अखबारमा छापिएको मेरो कूल सम्पत्तिको बारेमा पढेर मलाई सोध्नुभयो, ‘ विजय बाबु तँ सँग त्यत्रो पैसा छ त ?’ त्यतिबेलानै उनको कम्पनीमा चिनियाँ कम्पनी एन्टले पहिलो पटक लगानी गरेको थियो ।

पेटीएम खासमा एक दशकअघि मोबाइल रिचार्ज कम्पनीको रुपमा शुरु भएको हो । उवरले यसलाई द्रुत भुक्तानीको विकल्पका रुपमा सूचीकृत गरेपछि नसोचेको सफलता हासिल हुन लाग्यो । सन् २०१६ मा भारतमा नरेन्द्र मोदीले नोटबन्दी गरे । त्यसले विद्युतीय कारोबारलाई प्रश्रय दिइएपछि पेटीएमको दिन खुल्यो ।

एक छोराका पिता विजयशेखरले त्यसयता कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । कतिपय बजार विश्लेषकलाई लागेको छ पेटीएम कहिल्यै नाफामा जाँदैन । तर, उनलाई भने विश्वास छ, एक न एक दिन कम्पनीले सफलता पाउँछ नै। त्यो दिन टाढा छैन ।

सन् २०१७ मा पेटीएमले क्यानडामा बिल भुक्तानी एप शुरु गर्यो भने एक वर्षपछि मोबाइल वालेटको रुपमा जापान समेत पुग्यो ।

विजयशेखर भन्छन्, ‘मेरो सपना छ कि पेटीएमको झण्डा सान–फ्रान्सिस्को, न्यूर्योक, लण्डन, हङकङ र टोकियोमा पनि गाडिनेछ । यो मानिसहरुले देख्नेछन् । र, मलाई यो पनि थाहा छ यो भारतीय कम्पनी हो ।


क्लिकमान्डु