साढे ६९ करोड लागतमा काठमाडौं महानगरपालिकाले ८ तले भवन बनाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाले ८ तलाको आफ्नो भवन बनाउने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ सोमबार भवनको शिलन्यास गरे ।

भवन अहिलेको महानगरपालिकाको वातावरण विभाग रहेको स्थान टेकुमा बन्ने छ ।

महानगरले ३०८३.८२ वर्गफिट क्षेत्रफलमा भवन निर्माण गर्न लागेको हो । सो भवन ६६८३.३३ वर्ग मिटर क्षेत्रफलको हुनेछ । यसको अधिकतम ग्राउण्ड कभरेज ४० प्रतिशत हुनेछ ।

भवनमा १० जना क्षमताका दुई वटा लिफ्ट जडान हुनेछन् । भवन २०८० साल असोज मसान्तसम्ममा निर्माण सम्पन्न भइसक्ने लक्ष्य लिएको छ । महानगरकाअनुसार समानान्तर निर्माण सेवा प्रालिले ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रुपैयाँमा भवन निर्माणको जिम्मा पाएको जनाएको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ् प्रालिले तयार पारेका हुन् ।

‘पहिलो कार्यपालिका बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका थियौँ । यसअनुसार अधिकांश वडा कार्यालय नवनिर्माण र पुननिर्माण भइसकेका छन्,’ प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछिको पहिलो कार्यपालिका बैठकले गरेका निर्णय उधुत गर्दै भने,’ हामीले हरिभवनमा केन्द्रीय कार्यालय बनाउने भनेका थियौँ ।

मुद्दामामिलामा अल्झिनु परेकोले त्यहाँ भवन निर्माणको काम थाल्न पाएनौँ । मुद्दा किनारा लागेपछि हामी त्यो भवनलाई पुननिर्माण गर्छौँ ।’
त्यस क्रममा उनले साझा लाभका योजनामा जस लिन नपाउनेले विरोध गर्ने आचरण हावी भएपछि महानगरले तर्जुमा गरेका धेरै योजना अघि बढ्न नसकेको र बढेका योजना पनि रोकिएको बताए ।

कार्यक्रममा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले समयमा भवन निर्माण सम्पन्न भएर नागरिकले सुविधा सम्पन्न ठाउँबाट सेवा लिन पाउने अपेक्षा गरे । सरकारका पात्र परिवर्तन भइरहन्छन् तर स्वीकृत कार्यक्रम नियमित चलिरहन्छ । यसको दिगोपनाका लागि कर्मचारीहरुले चनाखो हुनुपर्ने बताए । भवन भुकम्पीय सुरक्षाका कोणबाट दरिलो र बाहिरबाट हेर्दा आकर्षक हुने उनको अपेक्षा छ ।

‘समयमा काम गर्न पाइएन । ढिलै भए पनि केन्द्रीय भवन शिलान्यास गर्न पायौँ । यो हाम्रो कार्यकालका लागि सुखद क्षण हो,’ कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘महानगरका नीतिको कार्यान्वयनबाट देखिने विकास महसुस हुन थालेको छ ।’


यस्तो हुनेछ सुविधा

करीब ६ रोपनी क्षेत्रफलमा बन्ने भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकल पार्किङ गर्न सक्ने ठाउँ हुनेछ । मेकानिकल प्रविधिको प्रयोगबाट भूमिगत तलामा थप २५ वटा गाडी पार्किङ् गर्न सकिनेछ ।

सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतकाअनुसार भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग, वरिपरि खुल्ला ठाउँ र मौलिक वास्तु शैली भवनका मुख्य विशेषता हुन् । प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन/ कर्मचारी/ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट््याइएको छ । इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग हुन सक्ने आपतकालीन मार्ग तथा सुरक्षित भ¥याङ् भवनका थप विशेषता हुन् ।

आकाशे पानी संकलन तथा संकलित पानीको शुद्धिकरण प्रणाली सहितको रिचार्ज पिट डिजाइनमा समावेश गरिएको छ । भवनको जमिन तलादेखि ७ तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौँ तलामा २ सय जना क्षमताको एउटा र १ सय जना क्षमताको एउटा गरी २ वटा छुट्टाछुट्टै सभा कक्ष निर्माण गरिनेछ ।


क्लिकमान्डु