बैंकको ब्याजदर बढ्ने, निक्षेपकर्ता खुशी हुँदा ऋणीको टाउको दुखाइ



काठमाडौं । पछिल्लो केही महिनायता बैंकहरूको निक्षेप संकलन अर्बौ रुपैयाँले घटिररहेको छ । तर सोही निक्षेपबाट गर्ने कर्जा प्रवाह भने अर्बौ रुपैयाँले बढेको छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामै बैंक तथा वित्त कम्पनीहरूमा १३ अर्ब रुपैयाँले निक्षेप संकलन घट्दा १ खर्ब १४ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको छ । यो तथ्यांक गत साउन २१ गतेदेखि भदौ २१ गतेबीचको हो । 

गत साउन २१ गते बैंक तथा वित्त कम्पनीले ४६ खर्ब ८७ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

जुन भदौ २१ गतेसम्म आइपुग्दा निक्षेप संकलन ४६ खर्ब ७४ अर्ब ५२ करोड रुपैयाँ र कर्जा प्रवाह ४२ खर्ब ९१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अर्बै
आवश्यकता अनुसार स्रोत संकलन गर्न नसक्ने बैंकहरुले निक्षेपकर्ता आकर्षित गर्न ब्याजदर बढाउनु पर्ने बाध्यता रहेका नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए । 

‘अघिल्लो वर्षहरुमा जस्तो अहिले बैंकहरुले स्रोत संकलनमा जोड दिएको छैनन्, प्रणालीमै लगानी योग्य रकम संकुचन हुदै गएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘थप स्रोत संकलन नगरी कर्जा दिन अधिकांश बैंकहरुको सीडीडी सीमामा पुगेको छ, निक्षेपकर्तालाई आकर्षित गर्नु नै बैंकहरुको अन्तिम विकल्प हो ।’

निक्षेपको ब्याज बढाएसँगै कर्जाको ब्याजसमेत बढ्ने हुँदा अब बैंकहरुले केही समयभित्रै कर्जा तथा निक्षेपकै ब्याजदर बढाउन सक्ने उनको अनुमान छ । 
‘ब्याजदर त निश्चित नै बढ्छ तर कतिले बढ्छ त्यो बजारले नै निर्धारण गर्छ,’ उनले थपे, ‘निक्षेपको ब्याजदर एकदमै कम छ, ब्याजदर कम भएपछि मानिसले बचत गर्दैनन् भने बैंकबाट निक्षेप झिकेर सहकारी तथा अन्य अनौपचारीक क्षेत्रतिर लान्छन् ।’

त्यसैले निक्षेपको ब्याजदर बढ्नु आवश्यक भएको उनको भनाइ छ । 

रेमिट्यान्स आप्रवाह तुलनात्मक रुपमा घट्नु, बैंकहरुले निक्षेपको ब्याजदर अनावश्यक रुपमा घटाउनु जस्ता कारणले जनताले बैंकमा निक्षेप गर्न नसक्दा बैंकहरुको स्रोत घटेको उनको भनाइ छ । 

‘कर्जा अन्य क्षेत्रमा भन्दा बढी आयातको लागि गएको देखिन्छ, कर्जाको माग बढ्दा आर्पितको लागि स्रोत जोगाउनमा बैंकहरुले त्यति ध्यान दिएनन्,’ उनले थपे, ‘बैंकले दिने ब्याजदर घटेपछि प्रणालीको पैसा अनौपचारिक क्षेत्रमा गएको अनुमान छ ।’

पछिल्लो समय सहकारी संस्थाहरुमा बचतकर्ता बढेको तथ्यांकले बैंकहरुको निक्षेप सहकारी संस्थामा गएको हुन सक्ने उनको भनाइ छ । बैंक तथा वित्त कम्पनीहरुले निक्षेपकर्तालाई निरुत्साहित गर्न थालेपछि अनौपचारीक क्षेत्रमा बैंकिङ प्रणालीको पैसा ट्रान्सफर भएको उनको भनाइ थियो । 

एक महिनाको अवधिमा वाणिज्य बैंकहरुमा १६ अर्ब रुपैयाँले निक्षेप घट्दा ९९ अर्ब रुपैयाँले थप कर्जा प्रवाह भएको छ । 

गत साउन २१ गते २७ वाणिज्य बैंकले ४१ खर्ब ४९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३७ खर्ब २५ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ २१ गतेसम्म आइपुग्दा ४१ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

यस्तै, विकास बैंकहरुको भने सो अवधिमा झिनो परिमाणले निक्षेप बढेको छ । गत साउन २१ गते विकास बैंकहरुले ४ खर्ब ५० अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९५ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ २१ गतेसम्म आइपुग्दा विकास बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँ र कर्जा प्रवाह १४ अर्ब रुपैयाँले बढेको छ । 

फाइनान्स कम्पनीहरुको भने सो अवधिमा निक्षेप बढ्न सकेको छैन भने कर्जा प्रवाह १ अर्ब रुपैयाँले थप भएको छ । भदौ २१ गतेसम्म फाइनान्स कम्पनीहरुले ८९ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

यता, बैंकर्स संघले समेत असोजदेखि लागू हुने गरी अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निश्चित देखिएको बताएका छन् । 

चालु आवको २ महिनामा बैंकहरुले गरेको निक्षेप संकलन र कर्जा प्रवाहको तथ्यांकले ब्याजदर बढ्ने संकेत गरेको संघका कार्यकारी अधिकृत (सीइओ) अनिल शर्माले बताए । 
‘अघिल्लो आवबाटै कर्जा प्रवाह बढी भइरहेको थियो, अहिले निक्षेपमा संकुचन आइरहेको छ, त्यसैले ब्याजदर बढाएरै भएपनि बैंकहरुले निक्षेप संकलनमा जोड दिनु पर्ने हुन्छ,’ संघका सीइओ शर्माले क्लिकमाण्डूसँग भने, ‘निक्षेप घटेपनि बैंकहरुलाई कर्जामा चाप परिरहेको छ, त्यसको असर देखिने भनेको ब्याजदर मै हो ।’

साउन र भदौ महिनामा आयातमा जाने कर्जा बढ्दा बैंकहरुको कर्जा अहिले बढी गएको उनको भनाइ छ ।

‘चाडपर्वको लागि चाहिने सामान साउन भदौमै आयात हुन्छ, त्यसले कर्जा आयातमा जाने कर्जा नै अहिले बैंकहरुबाट बढी गएको छ,’ उनले थपे, ‘संस्थामा तरलता सहज हुने केही बैंकहरुले निक्षेपको ब्याजदर नबढाउला तर औषतमा बैंक ब्याजदर केही समयभित्रै बढ्छ ।’

बैंकहरुले निक्षेपको ब्याजदर बढाएपनि कर्जाको ब्याजदर पनि स्वत बढ्ने उनको भनाइ छ ।  


क्लिकमान्डु