सेयर धितो कर्जा सीमा एकल ग्राहकलाई मात्र लाग्ने, व्यवसाय गर्नेलाई नलाग्ने



काठमाडौं । सेयर धितो राखेर व्यवसाय गर्नेलाई राष्ट्र बैंकले तोकको नयाँ सेयर धितो कर्जाको सीमा लागू नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ । साथै, बजारमा लगानी गर्न एकल ग्राहकले मात्र सेयर धितोमा कर्जा उपयोग गर्न पाउने समेत राष्ट्र बैंकले प्रष्ट्याएको छ ।

सेयर धितोमा बैंक तथा वित्त कम्पनीहरुले प्राथमिक पुँजीको ४० प्रतिशत ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने राष्ट्र बैंकले यसअघि नै व्यवस्था गरेको छ । जसमा चालु आवको मौद्रिक नीतिमार्फत् एक ऋणीले एक बैंकबाट ४ करोड रुपैयाँ र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँमात्र कर्जा लिन पाउने थप व्यवस्था गर्यो ।

उक्त व्यवस्थामा सम्पूर्ण सेयर लगानीकर्ताहरु अन्योलता सिर्जना भएपछि वेवसाइटमार्फत् स्पष्ट पारिएको राष्ट्र बैंकका सह–प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

‘हामीलाई बारम्बार सोधिने प्रश्नलाई बैंकको वेवसाइट एफएक्युमा राखिन्छ, सेयर धितोसम्बन्धी पनि धेरै जनाको अन्योलता भएको हुँदा स्पष्ट पारिएको हो,’ सह–प्रवक्ता पोखरेलले क्लिकमाण्डूसँग भने, ‘यदि आफूसँग भएको सेयर धितो राखेर व्यवसाय गर्छु भन्नेलाई ४÷१२ करोडको सीमाले प्रभाव पार्दैन् ।’

सेयर धितो राखेर व्यवसाय गर्ने हो भने ७० प्रतिशत नै कर्जा पाइने तर त्यसको लागि व्यवसायिक योजना पेश गर्नुपर्ने उनको भनाइ छ । तर, बैंकबाट सेयर धितो राखेर लिएको कर्जाले अर्को कम्पनीको सेयर खरिद गर्नका लागि भने एकल ग्राहकअनुसार ४÷१२ को सीमा लाग्ने उनले बताए ।

राष्ट्र बैंकको सेयर कर्जा नीति
सेयर धितो राखेर बजारमै लगानी गर्ने प्रयोजनाका लागि एकल ग्राहकको नियम लागू हुँदा बैंक तथा वित्त कम्पनीले उक्त व्यवस्था कार्यान्यवन गर्दा एकाघर परिवारका सदस्यले दोहोर्याए कर्जा लिन पाउँदैनन् । राष्ट्र बैंकको एकीकृत निर्देशिकमा भएको एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्थाले परिवारको एकजना सदस्यले मात्र यस्तो एकभन्दा बढी परिवारका सदस्यलाई एउटै बैंकबाट कर्जा लिन रोकेको छ ।

बैंक तथा वित्त कम्पनीहरुले सोही निर्देशनको पालना गरी कर्जा प्रवाह गरिरहेका छन् । तोकिएको ४ करोड र १२ करोडको सीमामा पनि सोही निर्देशन लागू हुने राष्ट्र बैंकका सह–प्रवक्ता पोखरेलले बताए ।

सो व्यवस्थाअनुसार एकाघर परिवारका ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकलाई एकल ग्राहक मानिने उनले जानकारी दिए । साथै, यस्तो प्रकारको कर्जा लिने व्यक्तिको जमानी बस्ने जमानीकर्ताले समेत ऋणीले कर्जा भुक्तानी नगर्दासम्म कर्जा लिन नपाउने व्यवस्था राष्ट्र बैंकको एकल ग्राहकको व्यवस्थामा छ ।

यदि सेयर धितोमा कर्जा लिने व्यक्तिको ग्यारेन्टी बसेको भएमा उसले पनि यस्तो कर्जा लिन नमिल्ने एकीकृत निर्देशिकामार्फत् प्रष्टसँग पारिसकेको छ । जसअनुसार आपसी सम्बन्ध भएकालाई एकल ग्राहक मान्दा सेयर धितो कर्जा पनि सीमाभित्र रहेर एकल ग्राहकभित्र पर्ने एकजनालाई मात्र दिन मिल्छ । तर, सीमा नकटेको भएमा सीमा रहेर अन्य सदस्यले पनि कर्जा लिन पाउँछन् ।

एउटै धितोमा एकभन्दा बढी व्यक्तिहरुलाई कर्जा प्रवाह गरेको भए त्यस्ता व्यक्तिहरुले समेत थप कर्जा लिन नपाउने उक्त निर्देशिका प्रष्ट छ ।

एकल ग्राहक कर्जा सापटी नीति, को–को पर्छन् एकल ग्राहकमा ?

एकीकृत निर्देशिका २०७७ को निर्देशन ३ एकल ग्राहक कर्जा सापटी सीमा निधारणको बुँदा ५ मा आपसी सम्बन्ध भएका ग्राहकलाई एउटै मानिने व्यवस्था गरिएको छ । यसरी आपसी सम्बन्ध भएका व्यक्तिमा एकजनाले कुनै एक संस्थाबाट ४ करोड रुपैयाँमात्र कर्जा लिन पाउँछ । त्यो व्यक्तिले पूरै बैंकिङ सिस्टमबाट १२ करोड रुपैयाँ कर्जा लिएको भएमा आपसी सम्बन्ध भएका एकल ग्राहकभित्र पर्नेले यस्तो कर्जा लिन पाउँदैन ।

तर, आपसी सम्बन्ध भएका एकल ग्राहकमध्ये एकजनाले १२ करोड रुपैयाँभन्दा कम कर्जा उपयोग गरेको भएमा सीमा रहेर परिवारका अन्य सदस्यले सेयर धितो कर्जा लिएर बजारमा लगानी गर्न सक्नेछन् ।

आपसी सम्बन्ध भएका एकल ग्राहक एकीकृत निर्देशिकाअनुसार एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आपूmले पालनपोषण गर्नुपर्ने दाजुभाई, तथा दिदीबहिनी आपसी सम्बन्ध भएकालाई एकल ग्राहक मानिनेछ ।

साथै, कुनै व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघर परिवारलाई समेत एकल ग्राहक मानिने छ ।

यस्तै, कुनै कम्पनीले अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्ता दुबै कम्पनीहरुलाई पनि एकल ग्राहक एकीकृत निर्देशिकामा उल्लेख छ ।

कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको व्यक्तिहरुले एक्लै वा संयुक्तरुपमा अर्को कम्पनीको २५ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको भए त्यस्तालाई समेत एकल ग्राहक मानिन्छ ।

तर कुनै पनि कम्पनीको २५ प्रतिशतभन्दा कम सेयर लिएको भएपनि कम्पनीको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक, कम्पनीको कार्यकारी प्रमुखले कर्जा लिन पाउँदैनन् ।

यसैगरी, एउटा ग्राहक वा कम्पनीले अर्को ग्राहक वा कम्पनीलाई जमानत दिएको भए त्यस्ता ग्राहक वा कम्पनीहरुलाई समेत एकल ग्राहक मानिन्छ । एउटै धितोमा एकभन्दा बढी व्यक्तिहरुलाई कर्जा प्रवाह गरेको भए त्यस्ता व्यक्तिहरु समेत एकल ग्राहकमा पर्छन् ।


क्लिकमान्डु