होम लोनमा कुन बैंकले कति लिन्छन् ब्याजदर ?



काठमाडौं । कोरोना महामारीले गर्दा अधिकांश व्यापार व्यवसाय बन्द हुँदा घरजग्गा कारोबारमा भने उछाल आएको छ । लामो समयको बन्दाबन्दीका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नपाएपछि व्यवसायीहरू घरजग्गा क्षेत्रमा बढी लगानी गरेको पाइन्छ ।

देशभरका मालपोत कार्यालयबाट सेवा प्रवाहको गरेको तथ्याङ्कले कोरोनाकै समय उच्च घरजग्गाको कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँदछ । त्यसैगरी कारोबार उच्च भएसँगै बजारमा घरजग्गाको मूल्य अत्यधिक बढेको व्यवसायीहरू बताउँछन् ।

त्यस्तै हजारौं मानिसले घरजग्गा किन्नका लागि देशभरका बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उक्त क्षेत्रमा लगानी गरेको देखिन्छ । देशभर हजारौंको संख्यामा बैंक वित्तीय संस्थाहरू छन् । उक्त संस्थाहरूबाट ऋणीले आफूलाई पायक पर्ने स्थानबाट ऋण लिने गर्दछ ।

बैंकहरुले दिने घर कर्जा वापत निश्चित प्रतिशत रकम ब्याजदरका रुपमा लिन्छन् । जसमा बैंकले तय गरेको बेस रेटमा घर कर्जाका लागि निश्चित प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्छन् । यस्तो प्रकारको कर्जाको ब्याजदर बेसरेट परिवर्तनसँगै परिवर्तन भइरहन्छ । तर यदि कसैले निश्चित अवधिका लागि फिक्स्ड ब्याजदरमा कर्जा लिन चाहेको छ भने त्यस्ता ऋणीका लागि पनि बैंकहरुले निश्चित अवधिका लागि निश्चित प्रतिशत ब्याजदर निर्धारण गरेका हुन्छन् ।

वाणिज्य बैंकहरुले हाल घरजग्गा खरिदका लागि उपलब्ध गराइने कर्जामा न्यूनतम ५ प्रतिशतदेखि १४ प्रतिशतसम्म निर्धारण गरेका छन् । जसमा परिवर्तित ब्याजदरमा न्यूनतम ७ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने फिक्स्ड ब्याजदरमा ५ प्रतिशदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकहरूले घरजग्गा खरिदका लागि फिक्स्ड ब्याजदरमा ५ वर्षदेखि २० वर्षसम्मका लागि कर्जा दिईरहेका छन् । नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन् । उक्त बैंकहरूले आफ्नो ग्राहकलाई बैंकले घरजग्गा कर्जामा तोकेअनुसार ब्याजदर लिने गर्दछ ।

कुन वाणिज्य बैंकको कति ब्याजदर ?
बैंक अफ काठमाण्डूः
बैंकले हाउजिङ लोनका लागि न्यूनतम ६.५६ प्रतिशतदेखि ११.५६ प्रतिशतसम्म तोकेको छ । बैंकले १५ वर्षे अवधिसम्मको घर कर्जामा ११.९८ प्रतिशत र १५ वर्षभन्दा माथिको अवधिको घर कर्जामा १२.९८ प्रतिशत तोकेको छ ।

सेञ्चुरी बैंकः सेञ्चुरी बैंकले ५ वर्षे अवधिको घर कर्जामा ७.८० देखि ११.८० प्रतिशत ब्याजदर, १० वर्षसम्मको अवधिका लागि ७.८० देखि १२.३० प्रतिशत र १५ वर्षे अवधिको कर्जामा ७.८० देखि १२.८० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्षका लागि ११.४९ प्रतिशत, १० वषे अवधिका लागि ११.९९ प्रतिशत तोकेको छ ।

सिटिजन बैंक: बैंकले घर कर्जामा ७.८० देखि १२.५५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्षेका अवधिका लागि १०.५० प्रतिशत, १० वर्षे अवधिका लागि ११ प्रतिशत र १५ वर्ष अवधिका लागि १२ प्रतिशत ब्याजदर तोकेको छ ।

सिभिल बैंक: सिभिल बैंकले सिभिल होम र होम लोन दिँदै आएको छ । बैंकले ५ वर्षे अवधिको कर्जामा ७.८३ प्रतिशतदेखि ८.८३ प्रतिशत, १० वर्षको अवधिका लागि ७.८३ प्रतिशतदेखि ९.८३ प्रतिशत र १५ वर्षे अवधिका लागि ७.८३ प्रतिशतदेखि १०.३३ प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक: एभरेष्ट बैंकले घरजग्गा कर्जामा करिब १ करोडसम्म ऋण लिई मासिक रुपमा भुक्तानी गर्नेलाई ७.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सो बैंकले १ करोड रुपैयाँभन्दा बढी कर्जा लिनेलाई ८.४९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ भने ७ वर्षसम्म फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत तोकेको छ । साथै फिक्स्ड ब्याजदरतर्फ एक करोडभन्दा बढीको घरजग्गा कर्जा लिनेलाई१०.४९ प्रतिशत तोकेको छ ।

ग्लोबल आईएमई बैंक: ग्लोबल आईएमई बैंकले न्यूनतम ७.६० प्रतिशतदेखि १२.६० प्रतिशसम्म घर कर्जामा ब्यादजर निर्धारण गरेको छ ।
बैंकले फिक्स्ड ब्याजदरतर्फ ५ वर्र्ष अवधिको कर्जामा १०.१९ देखि ११.१९ प्रतिशत, १० वर्षको लागि ११.२० देखि १३.१९ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंक: हिमालयन बैंकले १० वर्षे अवधिको घर कर्जामा ६.७५ प्रतिशतदेखि ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । साथै, ७ वर्र्ष अवधिको फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक: कृषि विकास बैंकले घर कर्जा र जग्गा कर्जाको छुट्टाछुट्टै ब्याजदर तोकेको छ । बैंकले घर कर्जामा ७.१३ प्रतिशतदेखि १२.१३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसमा बैंकले घर किन्न, जग्गा किन्न र कम्प्लेक्स किन्नका लागि ७.१३ देखि १२.१३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्ष अवधिलाई ८.५० प्रतिशत, जग्गा किन्नेका लागि ८.६५ प्रतिशत र घर कर्जाको लागि ९ देखि ९.५० प्रतिशतसम्म तोकेको छ ।

कुमारी बैंक: कुमारी बैंकले घर कर्जामा ७.९० प्रतिशतदेखि १४.९० प्रतिशतसम्म ब्यादजर तोकेको छ ।
लक्ष्मी बैंकः लक्ष्मी बैंकले घरजग्गा कर्जा, साना व्यवसायी कर्जामा ७.३५ प्रतिशतदेखि १२.३५ प्रतिशत तोकेको छ ।

माछापुच्छ्रे बैंकः माछापुच्छ्रे बैंकले घरजग्गा कर्जामा ७.३५ देखि १४.२६ प्रतिशत तोकेको छ । बैंकले फिक्स्ड ब्याजदर ५ वर्ष अवधिसम्म किस्ता भुक्तानी गर्नेलाई ९.८९ प्रतिशत, १० वर्षको अवधिलाई १०.८९ प्रतिशत र मासिक किस्ता भुक्तानी गर्नेलाई ११.८९ प्रतिशत तोकेको छ ।

मेगा बैंक: मेगा बैंकले हाउजिङ लोन मात्रै दिँदै आएको छ । सो बैंकले ७.६१ प्रतिशतदेखि १४.६१ प्रतिशतसम्म तोकेको गरेको छ ।

नबिल बैंक: नबिल बैंकले हाउजिङ लोनमा ५.८६ प्रतिशतदेखि १२.८६ प्रतिशतसम्म तोकेको छ । त्यसैगरी बैंकले फिक्स्ड ब्याजदरमा ५ वर्षको अवधिसम्मको लागि ८.४९ प्रतिशत, १० वर्ष अवधिलाई १०.५० प्रतिशत र १५ वर्षको अवधिलाई ११ प्रतिशत ब्याजदर लिइरहेका छन् ।

एनबी बैंक: नेपाल बंगलादेश बैंकले हाउजिङ लोनमार्फत् ७.९१ प्रतिशतदेखि १२.४१ प्रतिशत ब्यादजर तोकेको छ । बैंकले ५ वर्षको फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत, १० वर्षको अवधिलाई १०.९९ प्रतिशत र २० वर्षको अवधिलाई ११.४९ प्रतिशत तोकेको छ ।

एनसीसी बैंक: एनसीसी बैंकले होम लोनमार्फत् ७.५७ प्रतिशतदेखि १२.५७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । उक्त बैंकले अन्य घर कर्जामा ५ वर्ष अवधिको फिक्स्ड ब्याजदरमा ९.५८ प्रतिशत, १० वर्ष अवधिको अवधिमा किस्ता भुक्तानी गर्नेलाई ७.२३ र बिना अवधि मासिक किस्ता भुक्तानी गर्नेलाई १० प्रतिशत तोकेको छ ।

नेपाल बैंक: नेपाल बैंकले घरजग्गा कर्जामा विभिन्न विधामा कर्जा दिँदै आएको देखिन्छ । बैंकले शुलभ आवास कर्जा शीर्षकमा ५ वर्षको अवधिलाई ६.९८ प्रतिशत र १० वर्षको अवधिलाई ७.२३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले होम लोनमा ५ वर्ष अवधिको, प्राफेसनल होम लोन र नेपाल लक्ष्मी होम लोनमा ७.२८ प्रतिशतदेखि ७.८९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी १५ वर्ष अवधिको शुलभ आवास कर्जामा ७.७३ प्रतिशत, १० वर्ष अवधिको होम लोनमा ७.९२ देखि ८.५३ प्रतिशत, २० वर्र्ष अवधिको शुलभ आवास कर्जामा ७.९८ र घडेरी कर्जामा ८.७३ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले १५ वर्ष अवधिको होम लोनका ग्राहकलाई ८.७८ प्रतिशतदेखि ९.३९ प्रतिशत, रियल स्टेट हाउजिङका ग्राहकलाई ८.९२ देखि ९.५३ प्रतिशत तोकेको छ । साथै फिक्स्ड ब्याजदर होम लोनमा ९.४९ देखि १२.९९ प्रतिशत र घडेरी कर्जामा १०.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छ ।

नेपाल एसबीआई बैंक: नेपाल एसबीआई बैंकले घर कर्जामा ७.३७ देखि १२.३७ प्रतिशतसम्म तोकेको छ । सो बैंकले घर कर्जामा ३ वर्ष अवधिसम्म फिक्स्ड ब्याजदर किस्ता भुक्तानी गर्नेलाई १२.५० प्रतिशत, ५ वर्ष अवधिलाई १३.५० प्रतिशत, १० वर्षको अवधिलाई १४ प्रतिशत र मासिक किस्ता भुक्तानी गर्नेलाई १४.५० प्रतिशत तोकेको छ ।

एनआईबीएल बैंकः नेपाल इन्भेमष्टमेन्ट बैंकले प्राइम हाउजिङ लोनमा ६.२४ देखि ८.७४ प्रतिशत र हाउजिङ लोनमा ६.७४ देखि १०.७४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फिक्स्ड ब्याजदर ७ वर्ष अवधिलाई ८.९९ प्रतिशत र १० वर्ष अवधिमा किस्ता भुक्तानी गर्नेलाई ११.५० प्रतिशत तोकेको छ ।

एनआईसी बैंक: एनआई बैंकले होम लोन ओडी, रेसिडेन्टल होम लोन, १५ वर्ष अवधिको होम इक्विडिटी लोन र इजी होम इक्विडिटी लोनमा ६.८४ देखि १२.८४ प्रतिशत ब्याजदर ताकेको छ ।

बैंकले १५ वर्ष अवधिको फिक्स्ड ब्याजदर भुक्तानी गर्नेलाई होम इक्विडिटी लोन, रेसिडेन्टल होम लोन र इजी होम इक्विडिटी लोनमा १२.८२ प्रतिशत तोकेको छ । साथै हाउजिङ लोन र स्ट्रक्चर्ड लो कस्ट हाउजिङमा ७.३३ देखि १२.३३ प्रतिशत ब्याजर तोकेको छ ।

प्रभु बैंक: प्रभु बैंकले २५ वर्ष अवधिको प्रभु होम लोनमा र लो कस्ट हाउजिङमा ६.८८ प्रतिशतदेखि ११.८८ प्रतिशतसम्म तोकेको छ । बैंकले होम लोनमा ५ वर्ष अवधिको फिक्स्ड ब्याजदरमा ९.९९ प्रतिशत र होम लोनमा १०.९९ प्रतिशत कायम गरेको छ ।

प्राइम कमर्सिएल बैंक: प्राइम कमर्सियल बैंकले होम लोन र होम लोन रिपियरमार्फत् ७.२१ देखि १४.२० प्रतिशत तोकेको छ । सो बैंकले २० वर्ष अवधिको फिक्स्ड ब्याजदरमा ११ प्रतिशत तोकको छ ।

राष्ट्रिय वाणिज्य बैंक: राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षको होमलोन, १० वर्षको महालक्ष्मी होम लोन र १५ वर्षको महालक्ष्मी होम लोनमा ६.९१ देखि ७.७१ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै युओर वन होम लोनमा २० वर्ष अवधिको ब्याजदर ७.१६ प्रतिशत, १० वर्षको होम लोनमा ७.४१ देखि ७.९१ र १५ वर्षको होम लोनमा ७.९१ देखि ८.४१ प्रतिशत तोकेको छ ।

बैंकले फिक्स्ड ब्याजदरमार्फत् ५ वर्षको होम लोनमा ९ प्रतिशत, १० वर्षको होम लोन र महालक्ष्मी होमलोनमा १० प्रतिशत, १५ वर्षको होम लोनमा र महालक्ष्मी होम लोनमा ११ प्रतिशत तोकेको छ ।

सानिमा बैंक: सानिमा बैंकले होम लोन र होम इक्विटी लोनमा ६.३४ देखि ११.३४ प्रतिशत तोकेको छ ।

एससीबी बैंक: स्ट्यान्डर्ड च्यार्टर्ड बैंकले होम लोनमा ७.७६ देखि ९.५१ प्रतिशत तोकेको छ । बैंकले फिक्स्ड ब्याजदरमार्फत् ५ वर्षको होम लोनमा ९.७५ प्रतिशत, ७ वर्षको होम लोनमा १०.२५ प्रतिशत, १० वर्षको होम लोनमा ११.२५ प्रतिशत र मासिक किस्ता भुक्तानी होम लोनमा १२.२५ प्रतिशत तोकेको छ ।

सिद्धार्थ बैंक: सिद्धार्थ बैंकले घर कर्जाका लागि होम लोन, डेढ करोड बढी होम लोन र फिक्स्ड ब्याजदर होम लोनमा ७.१६ देखि १२.१६ प्रतिशत तोकेको छ । फिक्स्ड ब्याजदरमा डेढ करोड बढी रकमको ५ वर्ष अवधिको होम लोनमा ८.२७ प्रतिशत, ५ वर्षको होम लोनमा ८.४९ प्रतिशत, १० वर्षको होम लोनमा ९.७५ प्रतिशत, होम लोनमा र १० वर्षको अवधिको लागि डेढ करोड बढी रकम लोन लिएकालाई ९.९९ प्रतिशत र डेढ करोड बढी रकम लिई किस्ता भुक्तानी गर्नेलाई १०.४९ प्रतिशत तोकेको छ ।

सनराइज बैंक: सनराइज बैंकले घर कर्जाका लागि ६.७० प्रतिशतदेखि १२.७० प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले फिक्स्ड ब्याजदरतर्फ ५ वर्षे अवधिका लागि १०.५० प्रतिशत, १० वर्षे अवधिका लागि ११ प्रतिशत र १५ वर्षे अवधिका लागि ११.५० प्रतिशत ब्याजदर तोकेको छ ।


क्लिकमान्डु