४ वर्षमा १२ खर्ब लगानी भित्र्याउने लगानी बोर्डको लक्ष्य



काठमाडौं । लगानी बोर्डले आगामी ४ वर्षभित्रमा ११ खर्ब ८० अर्ब रुपैयाँ (१० अर्ब अमेरिकी डलर) बराबरको लगानी भित्र्याउने योजना सार्वजनिक गरेको छ ।

बोर्डले आफ्नो आगामी चारवर्षे कार्यदिशा तथा रणनीतिक योजनामार्फत् यस्तो लक्ष्य सार्वजनिक गरेको हो ।

स्थापनाको १० वर्ष मनाईरहेको बोर्डले सन् २०२६ सम्ममा विभिन्न क्षेत्रका आयोजनाहरुमा स्वदेशी र विदेशी करिब १२ खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने लक्ष्य राखेको छ । यसरी आएको लगानीले नेपालभित्रै १ लाख जनालाई रोजगारी सिर्जना गर्ने बोर्डले जनाएको छ ।

त्यस्तै, बोर्डले यहि अवधिमा ७ खर्ब रुपैयाँ बढी (६ अर्ब अमेरिकी) डलरका आयोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा विकास गर्न तयार पार्ने पनि लक्ष्य राखेको छ ।

बोर्डले तयार पारेको रणनीतिक योजनामा लगानी प्रवद्र्धनमार्फत लगानी वातावरण बनाउने, ‘पीपीपी सेन्टर अफ एक्सिलेन्स’का रुपमा लगानी बोर्डलाई स्थापित गर्नेलगायत लक्ष्य राखिएका छन् ।

यी लक्ष्य प्राप्त गर्नका लागि बोर्डले चारवटा रणनीतिक खम्बा (स्ट्राटेजिक पिलर) तयार पारेको जनाएको छ । जसअन्तर्गत पहिलो खम्बा आयोजना विकास तथा व्यवस्थापन, दोस्रो लगानी प्रबद्र्धन, तेस्रो संस्थागत संरचना विकास तथा सुधार, र चौथो समन्वय तथा सहकार्य रहेका छन् ।

अहिले बोर्डले तयार पारेको रणनीतिक योजनाले नीतिगत फड्को मार्ने (पोलिसी डिपार्चर) र संगठनात्मक संरचनालाई सुधार गर्ने विषयलाई महत्व दिएको छ ।

त्यस्तै, लगानीसम्बन्धी दीर्घकालीन रणनीतिक योजना बनाउने, आयोजना बैंक तयार पार्ने, स्वचालित एकल बिन्दु सेवा केन्द्र (वान स्टप सर्भिस) संचालनमा ल्याउने, नलेज म्यानेजमेन्ट पोर्टल (केएमपी) कार्यान्वयन गर्ने, र विदेशी लगानीसम्बन्धी विद्यमान कानुनमा संशोधन, नीतिगत सुधार तथा कार्यविधि बनाउने विषयलाई पनि बोर्डले आफ्नो रणनीतिक योजनामा समेटेको छ ।

बोर्डले पछिल्लो १० वर्ष अवधिमा विभिन्न क्षेत्रका २७ वटा आयोजनामा ८ खर्ब ३२ अर्ब बढी लगानी स्वीकृत गरेको छ । यी आयोजना अहिले कार्यान्वयनको विभिन्न चरणमा छन् । यो अवधिमा बोर्डमार्फत लगानी भित्र्याएर निर्माण सम्पन्न तथा प्रतिफल दिनेगरी सञ्चालनमा आएका आयोजनाको संख्या भने शून्य छ ।

अहिले बोर्डमा ६६ करोड अमेरिकी डलर लागत बराबरको माथिल्लो मस्र्याङ्दी २ जलविद्युत् आयोजना, ५३ करोड अमेरिकी डलर बराबरको माथिल्लो तमोर, ५४ करोड अमेरिकी डलर लागत बराबरको चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क र ८ करोड ९० लाख अमेरिकी डलर बराबरको भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्ली प्लान्ट गरी चारवटा आयोजना पाइपलाइनमा रहेका छन् । आयोजना विकास सम्झौता (पीडीए) र आयोजना कार्यान्वयन सम्झौता (पीआइए) गर्न बाँकी यी परियोजनाहरु बोर्डले तत्कालै अघि बढाउन सक्ने अवस्थामा रहेका छन् ।


क्लिकमान्डु