प्राथमिकताप्राप्त वस्तुको निर्यात अपेक्षाअनुसार बढ्न सकेन, गत वर्ष साढे ३७ अर्बको मात्रै
काठमाडौं । सरकारले अलैंची, अदुवा, औषधीजन्य जडिबुटीलगायत ९ वस्तुको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति (एनटीआइएस) सन् २०१६ बनाए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन सकेको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७३ साल असोज १३ गते उद्योगी व्यवसायी र दातृ निकायका प्रतिनिधिको उपस्थितिमा नेपाल व्यापार एकीकृत रणनीति सार्वजनिक गरेको थियो ।
रणनीतिमा कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडिबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पश्मिना क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको थियो ।
मन्त्रालयले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, उनीका उत्पादन र चाँदीका गहनालाई पनि निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा राखेको थियो । यी वस्तुलाई २०१० को रणनीतिमा पनि निर्यातजन्य वस्तुका रुपमा राखिएको थियो ।
सरकारले रणनीतिमा उक्त निर्यातित वस्तुहरू समावेश गरे गुणात्मक हिसाबले निर्यात गर्न सकेको छैन । नेपालको कृषि क्षेत्रबाट उत्पादन र नेपालीहरूले उत्पादन गरेको वस्तु तथा सेवालाई गुणात्मक हिसाबले निर्यात गर्ने लक्ष्य राखेको सरकारले हालसम्म पूरा गर्न नसकेको तथ्याङ्कले देखाउँदछ ।
सरकारले २०१० को रणनीतिले नेपालको निर्यात क्षेत्रमा गुणात्मक सुधार ल्याउन नसकेको सन्दर्भमा नयाँ संस्करणको नेपाल व्यापार एकीकृत रणनीति पुराना रणनीतिका विद्यमान दोष र छिद्ररहित रूपमा आओस् भन्ने सबै क्षेत्रबाट अपेक्षा गरिएको थियो । अपेक्षा गरेपनि करिब ६ वर्ष बितिसक्दा पनि उल्लेख्य सुधार हुन सकेको छैन ।
सरकारले गुणात्मक रुपमा निर्यात गर्ने रणनीति अपनाए पनि करिब ३ वर्षको तथ्याङ्क हेर्दा उक्त वस्तुहरूको निर्यातमाा खासै सुधार आएको देखिँदैन । विगतको तुलनामा मूल्य वृद्धि कारण मात्रै वस्तुको निर्यात मूल्य बढेको देखिन्छ । तर परिमाणमा भने विगतको तुलनामा कमी रहेको व्यापार तथा निकासी केन्द्रको तथ्याङ्कले देखाउँदछ ।
आर्थिक वर्ष २०७७/७८ मा नेपालले एनटीआइएसमा समावेश रहेको वस्तु तथा सेवा ३७ अर्ब ४४ करोड ८१ लाख रुपैयाँको निर्यात भएको छ ।
प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार सरकारले अपनाएको रणनितीमा राखिएको ९ वटा वस्तु तथा सेवामा उत्पादनमा खासै सुधार नआए पनि मूल्यमा फरक परेको केन्द्रको भनाइ छ ।
केन्द्रका निर्देशक कृष्ण राज बजगाईका अनुसार देशकै व्यापार रणनीतिजस्तो नाम दिई भित्री विषयवस्तुहरू भने सीमित वस्तु र सेवाका वरिपरिमा केन्द्रित हुनु विगतका दुईवटै रणनीतिका कमजोर पक्ष रहेको बताए ।
उनका अनुसार अन्तरनिकाय समन्वय, जिम्मेवारी बाँडफाँट र मूल्यांकनका सम्बन्धमा विद्यमान अस्पष्टताका कारण ती सीमित वस्तु र सेवाको निर्यातमा अपेक्षित सुधार आउन नसकेको हो ।
‘निर्यात प्रवद्र्धनका अन्तरसम्बद्ध तत्वहरूको विकासमा पर्याप्त ध्यान दिन नसक्दा उत्पादन, भण्डारण, ढुवानी, गुणस्तर प्रमाणीकरण, प्रक्रियाजस्ता क्षेत्रमा अवरोधको अवस्था सृजना हुन गई निर्यात क्षेत्रले अपेक्षित गति लिन सकेन,’ उनले भने ।
केन्द्रले सार्वजनिक गरेको गत आवको तथ्याङ्कले पनि २०७५÷७६ मा निर्यात मूल्यमा केहीले मात्रै कमी आएको छ । सो वर्ष नेपालले अलैंची, अदुवा, चिया, औषधीजन्य जडीबुटी, धागो, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पश्मिना ३७ अर्ब १ करोड ८७ लाख रुपैयाँको निर्यात गरेको थियो ।
त्यस्तै, २०७६/७७ मा कोरोना प्रभाव भएकाले ३० अर्ब ११ करोड ५५ लाख रुपैयाँको मात्रै निर्यात भएको थियो । त्यस्तै चालु आवमा भने करिब ४३ करोड रुपैयाँले मात्रै बढी निर्यात भएको देखिन्छ ।
कुन वस्तु कति निर्यात ?
केन्द्रका अनुसार नेपाली कृषिबाट उत्पादन भएको वस्तु तथा सेवा सबैभन्दा बढी निर्यात हुनेमा अलैंची रहेको छ । नेपालले गत वर्ष ७ अर्ब २ करोड २४ लाख रुपैयाँ बराबरको ८८ लाख ५७ हजार केजी अलैंची निर्यात गरेको थियो । त्यस्तै ४४ करोड ८३ लाखको अदुवा, ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँको चिया, १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको औषधीजन्य जडीबुटी निर्यात गरेको छ ।
त्यसैगरी क्राफ्ट र उत्पादित वस्तुमध्ये टेक्स्टायल, धागो १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँको निर्यात गरेको तथ्याङ्कले देखाउँदछ । साथै, छाला १४ करोड ७३ लाख, जुत्ता ७१ करोड ६३ लाख, पस्मिना २ अर्ब ७० करोड र कार्पेट ७ अर्ब २४ करोड ४३ लाख रुपैयाँको निर्यात भएको तथ्याङ्कले उल्लेख गरेको छ ।