सेयर धितो कर्जाको हिस्सा साढे २%, बैंकिङ प्रणालीबाट १ खर्ब बढी कर्जा गयो



काठमाडौं । बैंक तथा वित्त कम्पनीले कुल कर्जाको साढे २ प्रतिशत कर्जा सेयर धितोमा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा प्रवाहित कुल कर्जामध्ये १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितो राखेर बैंक तथा वित्त कम्पनीले प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकद्वारा सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्त कम्निीले ४१ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए ।

सो अवधिमा प्रवाहित कर्जामा वाणिज्य बैंकहरुले २.४५ प्रतिशत विकास बैंकहरुले ३.२७ प्रतिशत र वित्त कम्पनीहरुले ७.०४ प्रतिशत सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका थिए । जसमा ९० अर्ब ९२ करोड ११ लाख रुपैयाँ सेयर धितोमा प्रवाह गरेका छन् । गत आवमा वाणिज्य बैंकहरुले सेयर धितोमा प्रवाह गरेको कर्जा अघिल्लो आवको तुलनामा ११.८९ प्रतिशत अर्थात् ९ अर्ब ६६ करोड २० लाख रुपैयाँ बढी हो ।

यसैगरी, विकास बैंकहरुले गत आवमा कुल ३ खर्ब ८३ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा १२ अर्ब ५२ करोड ७६ लाख रुपैयाँ सेयर धितो राखेर कर्जा प्रवाह गरेका हुन् । गत आवमा विकास बैंकहरुले प्रवाह गरेको सेयर धितो कर्जा अघिल्लो आवको तुलनामा १८.१० प्रतिशत अर्थात् १ अर्ब ९२ लाख रुपैयाँ बढी हो ।

साथै, गत आवमा वित्त कम्पनीहरुले कुल ७१ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा २ अर्ब ८३ करोड २६ लाख रुपैयाँ कर्जा सेयर धितोमा प्रवाह गरेका हुन् । वित्त कम्पनीहरुले गत आवमा सेयर धितोमा प्रवाहित कर्जा अघिल्लो आवको तुलनामा ५.३६ प्रतिशत अर्थात् १४ करोड ४० लाख रुपैयाँ बढी हो ।

वाणिज्य बैंकहरुको सेयर धितो कर्जा
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २५ वटा बैंकहरुले सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । सेयर धितोमा नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयर धितोमा कर्जा प्रवाह गरेका छैनन् ।

बाँकी २५ वाणिज्य बैंकले कुल कर्जामा ०.१७ प्रतिशतदेखि ४.६१ प्रतिशतसम्मले सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

गत आवमा प्रवाहित कुल कर्जा ९ वटा वाणिज्य बैंकहरुले ३ प्रतिशदेखि ४.६२ प्रतिशतसम्म, ९ वटाले १ देखि २ प्रतिशतसम्म र ७ वटाले २ प्रतिशतभन्दा सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

समीक्षा अवधिमा प्रवाहित कुल कर्जामा सेयर धितोमा सबैभन्दा बढी कर्जा सिभिल बैंकले र सबैभन्दा थोरै कृषि विकास बैंकले प्रवाह गरेका छन् ।

सो अवधिमा सबैभन्दा बढी सेयर धितोमा कर्जा भने ग्लोबल आइएमई बैंक र सबैभन्दा थोरै कृषि विकास बैंकले प्रवाह गरेका छन् । गत आवमा वाणिज्य बैंकहरुले २५ करोड रुपैयाँदेखि सावाँ ७ अर्ब रुपैयाँसम्म सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

जसमध्ये ७ वटा बैंकले ५ देखि सावाँ ७ अर्ब रुपैयाँसम्म, १६ वटा बैंकले १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म र २ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा कम सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

विकास बैंकहरुको सेयर धितो कर्जा
सञ्चालनमा रहेका १८ वटा विकास बैंकहरुमध्ये गत आवमा १२ वटा विकास बैंकले सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरुले गत आवमा प्रवाहित कुल कर्जाको ०.१६ प्रतिशतदेखि ५.६१ प्रतिशतसम्म सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । जसमध्ये कुल प्रवाहित कर्जामा सबैभन्दा बढी महालक्ष्मी विकास बैंक र सबैभन्दा थोरै ग्रीन डेभलपमेन्ट बैंकले सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

साथै, विकास बैंकहरुले गत आवमा ३१ लाख रुपैयाँदेखि २ अर्ब ५२ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । सेयर धितोमा गत आवमा ७ वटा विकास बैंकहरुले १ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँ बढी, ३ वटा विकास बैंकले ११ करोड रुपैयाँदेखि ४९ करोड रुपैयाँसम्म र २ वटा विकास बैंकले ३१ लाख र ७१ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरको छन् ।

जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा थोरै ग्रिन डेभलपमेन्ट बैंकले प्रवाह गरेका हुन् ।

कुन विकास बैंकको सेयर कर्जा कति ?

वित्त कम्पनीहरुको सेयर धितो कर्जा
गत आवमा १४ वटा वित्त कम्पनीहरुलेमात्र सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । सो अवधिमा वित्त कम्पनीहरुद्वारा प्रवाहित कुल कर्जामा कम्पनीहरुले ०.०७ प्रतिशतदेखि १२.८९ प्रतिशतसम्म सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

जसमध्ये, ६ वटा कम्पनीले ५ प्रतिशतभन्दा माथि करिब १३ प्रतिशतसम्म र ८ वटा कम्पनीले ५ प्रतिशतभन्दा कम सेयर धितोमा कर्जा प्रवाह गरका छन् ।

गत आवमा २८ लाख रुपैयाँदेखि पौने ४७ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । जसमध्ये ८ वटा कम्पनीले १२ करोड रुपैयाँभन्दा माथि पौने ४७ करोड रुपैयाँसम्म र ६ वटा कम्पनीले ६ करोड रुपैयाँभन्दा कम सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।


क्लिकमान्डु