३ दिनभित्र भुक्तानीको निर्देशन दिने अर्थमन्त्रीले नै दावी भुक्तानीको दायित्वमा चासो देखाएनन्



काठमाडौं । दिन नै तोकेर कोरोना बीमा दावी भुक्तानीका लागि निर्देशन दिएका अर्थमन्त्री विष्णु पौडेलले सरकारी दायित्व बहनमा भने चासो देखाएका छैनन् ।

२०७७ बैशाखबाट शुरु भएको कोरोना बीमा लेख पनि २०७८ असार १ गतबाट बन्द भएको छ ।

तर बीमा लेख बन्द भइसक्दा समेत सरकारले दायित्व बहनमा वास्ता नदिँदा दावी गर्ने बीमितले भुक्तानी पाउन सकेका छैनन् ।

बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र अर्थमन्त्रालयबीच कोरोना दावी भुक्तानीमा सम्झौता भएको थियो ।

जसअनुसार साढे ३ अर्ब रुपैयाँमाथिको दावी भुक्तानी दायित्व सरकारले लिने सम्झौता भएको थियो ।

बीमा कम्पनीहरु, नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले सम्झौता अनुसार दावी भुक्तानीको दायित्व पूरा गरिसकेका छन् ।

तर, बीमा कम्पनीहरुले सरकारी दायित्व बरारबको कोरोना बीमा दावी भुक्तानी वापत रकम माग गर्दा पनि अर्थमन्त्रालयले वास्ता गरेको छैन् ।

कोरोना बीमा दावी भुक्तानीका लागि समितिबाट पत्र आएको भएपनि दायित्व अनुसारको रकम निकासीको पत्र उपर कुनै सुनुवाई नभएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

‘समितिबाट पत्र आएको हो तर त्यसमा रकम निकासी कहिले गर्ने त्यसबारेमा आवश्यक छलफल भएको जानकारी आएको छैन, कोरोना बीमा दावी भुक्तानीमा सरकारको दायित्व अनुसारको रकम भुक्तानीका लागि मन्त्रालयमा अहिलेसम्म के कस्ता छलफल भयो त्यसको जानकारी छैन,’ उनले क्लिकमाण्डूसँग भने ।

गत चैत तेस्रो साता नै पुलबाट कोरोना बीमाको विवरणसहित दावी भुक्तानीमा सरकारी दायित्व अनुसार ३ अर्ब रुपैयाँ माग गरी बीमा समितिमार्फत् अर्थमन्त्रालय पत्रचार गरिएको थियो ।

त्यसपछि पनि पुनः ३ अर्ब रुपैयाँ थप रकम माग गरिएको भएपनि हालसम्म मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएको नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

‘कोरोना बीमा दावी भुक्तानीमा सरकारको दायित्व अनुसार पुलबाट २ पटक ३/३ अर्ब रुपैयाँ गरी ६ अर्ब रुपैमाग गरी अर्थमन्त्रालय पत्र पठाइसकेका छौं,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर अहिलेसम्म १ रुपैयँ पनि प्राप्त भएको छैन ।’

बीमा कम्पनी, बीमा समिति र पुनर्बीमा कम्पनीमार्फत् प्राप्त दायित्व अनुसारको साढे ३ अर्ब रुपैयाँ बीमितलाई वितरण गरिसकेको हुँदा रकम अभावमा बीमितलाई दावी भुक्तानी हुन नसकेको उनको भनाइ छ ।

अर्थमन्त्रालयले सरकारको दायित्व अनुसारको दावी भुक्तानी रकम निकासाका लागि अध्ययन गरी आवश्यक रकम उल्लेख गरी पत्रचार गर्न समितिलाई भनेको थियो ।

सोही अनुसार पुलले रकम माग गरी बीमा समितिमार्फत् पठाएको भएपनि सरकारले वास्ता नगरेको उनले बताए ।

‘मन्त्रालयबाट बजेट पछि तुरुन्तै रकम निकास गर्ने जवाफ आएको समितिमार्फत् आएको थियो,’ उनले थपे, ‘तर बजेट आएको एक महिना हुन लाग्दा समेत रकम प्राप्त भएको छैन्, यसबारे पूलमा छलफल गरी समितिमा पत्रचार गरिने तयारी छ ।’

निषेधाज्ञाभन्दा अघिसम्म ९ अर्ब रुपैयाँ बढी कोरोना बीमामा दावी परिसकेको र त्यसमा थप बढ्न सक्ने उनको अनुमान छ ।

बीमा समितिले भने अर्थमन्त्रालयमा पुलमार्फत् आएको पत्र पठाएपनि हालसम्म त्यसको जवाफ मन्त्रालयबाट नआएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘२ पटक गरी ३ अर्ब रुपैयाँ रुपैयाँ कोरोना दावी भुक्तानीका लागि अर्थमन्त्रालयमा पत्रचार गरेको चैतमा नै हो तर अहिलेसम्म कुनै जवाफ आएको छैन,’ उनले क्लिकमाण्डूसँग भने ।

गत कात्तिकमा कोरोना बीमा दावी भुक्तानीको बक्यौताबारे चौतर्फी चर्चा हुँदा अर्थमन्त्री विष्णु पौडेलले बीमा समितिलाई मन्त्रालय नै बोलाएर कम्पनीहरुलाई ३ दिनभित्र बक्यौता भुक्तानीको निर्देशन दिन आदेश दिएका थिए ।

आफ्नो दायित्व बहनमा सरकारले आनाकानी गरेपछि कोरोना बीमा दावी भुक्तानी रोकिएको छ ।


क्लिकमान्डु