कोरोनाले साढे ३ लाख सवारी साधन थन्किए, १० लाख यातायात मजदुर बेरोजगार
काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारीले संक्रमण बढेसँगै गत वैशाख १६ गतेबाट निषेधाज्ञा गरेको छ । निषेधाज्ञा लागू गरेसँगै देशभरका साढे तीन लाख बढी सवारी साधन ग्यारेजमा थन्किएका छन् ।
कोरोना महामारीका कारण गत वर्ष पनि लकडाउन र निषेधाज्ञाले यातायात व्यवसायीले निकै कठिन परिस्थिति र घाटा व्यहोर्नु परेको थियो ।
साथै, गत वर्षको कोरोना महामारीले थलिएर केही तंग्रिएको यातायात व्यवसायी पुनः थला परेको छ ।
यातायात क्षेत्रामा वित्तिय संस्थाबाट कर्जा लिएर सवारी साधन किनेका र स्वरोजगार हुने मानिस तथा व्यवसायीहरू धेरै रहेका छन् । जसमा गत वर्ष कोरोनाले गर्दा यस क्षेत्रमा आबद्ध व्यवासायीले ब्याजसहितको किस्ता तिर्न नसकेको अवस्थामा दोस्रो लहरको कोरोना महामारीले झन मारमा पारेको छ ।
एकातिर ब्याजसहितको किस्ता निर्त नसकेको अवस्था छ भने अर्कोतर्फ कसरी जीविकोपार्जन अर्थात आश्रित परिवारको दैनिक हातमुख जोड्ने भन्ने समस्यामा परेका छन् ।
देशभर ३ लाख ५० हजार सार्वजनिक यातायात छन् । त्यसमध्ये करिब एक लाख ५० हजार माध्यम र ठूलो राजधानी बाहिर गुड्ने यातायात रहेका छन् भने बाँकी उपत्यकामा सञ्चालन हुने यातायातहरू रहेका छन् ।
अहिले उक्त सम्पूर्ण सवारी साधन थन्किएकाले अब कसरी सञ्चालन ल्याउने र कहिलेदेखि सञ्चालनमा आउनेभन्ने कुनै टुङ्गो छैन ।
यसले गर्दा यस क्षेत्रमा आबद्ध भएका व्यवसायी र मजदुरी निकै मारमा परेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य बताउँछन् । उनका अनुसार गत वर्ष पनि यस क्षेत्रमा नकारात्मक असर परेको थियो ।
साथै, पछिल्ला दिनमा विस्तारै यस क्षेत्रले आफ्नो लय समात्न प्रयास गरिरहेका थिए । तर, देशमा दोस्रो लहरकोे कोरोनाले यातायात क्षेत्र उठ्न नसक्ने गरी थलिएको बताए ।
‘अहिले देशभरका यातायात ठप्प अवस्थामा छन् । गत वर्ष कोरोनाले गर्दा नै व्यवसायीहरूले किस्ता तिर्न सकेको थिएन,’ उनले भने, ‘पछिल्ला दिनमा केही चलायमान हुँदै गएको थियो । तर, पुनः कोरोनाले गर्दा व्यवसायीलाई निराश बनाएको छ ।’
साथै, किस्ता कसरी तिर्ने र कसरी परिवार पाल्ने भन्ने चिन्ता बढी भएको उनको बुझाइ छ ।
‘यातायात क्षेत्रमा स्वरोजगार व्यवसायीलाई किस्ताको चिन्ता छ भने मजदुर व्यवसायीहरूको सह-चालक र कर्मचारीको समस्या रहेको छ । अहिले सवारी साधनभन्दा पनि पहिलो कसरी रोगबाट बच्ने भन्ने रहेको छ । त्यसैले ज्यानभन्दा ठूलो केही नभएकाले यस क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा कुनै छलफल भएको छैन,’ उनले भने ।
त्यसैगरी, अहिलेको कोरोना संक्रमणको अवस्था हेर्दा असार अघि खोल्न नसक्ने उनको अनुमान छ । साथै, त्यसबेला यातायात सञ्चालनमा ल्याए यात्रुहरूको आवातजावत नहुने उनको बुझाइ छ । यसले गर्दा आगामी दिनमा कसरी सञ्चालन गर्ने र कसरी व्यवस्थापन गर्ने कुनै टुङ्गो लाउन नसकेको उनले जानकारी दिए ।
‘दैनिक रुपमा कोरोना संक्रमण बढिरहेको छ । अब यो एक महिनाको स्थिति हेरौं । त्यसपछि अर्को महिनादेखि कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल गर्नेछौं,’ उनले भने ।
व्यवसायीहरूले गत वर्षको निषेधाज्ञा र लकडाउनको असरले गर्दा किस्ता तिर्न सकेको थिएन । जसमा व्यवसायीहरूलाई सम्पूर्ण मजुरीलाई पारिश्रमिक दिई बैशाख भरीमा तिरिसक्नुपर्ने ताकेता तोकिएको थियो ।
तर, अहिले लकडाउन भएकाले त्यो पनि सम्भव नभएको उनी बताउँछन् ।
१० लाख मजदुर कामविहिन
लकडाउनले गर्दा यातायात क्षेत्रमा निर्भर रहेको लगभग १० लाख मानिस कामविहिन भएका छन् । उक्त क्षेत्रबाट आश्रित ४० लाख मानिसले जिविकोपार्जन गरिरहेको महासंघले जनाएको छ । यो क्षेत्रमा धेरै मानिस जोडिएकाले सरकारले केही राहत प्रदान गनुपर्नेमा सरकारले यस क्षेत्रमा कुनै सहानुभूति नदेखाएको कर्मचार्यको गुनासो छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले दोस्रो लहरको कोरोनाले यातायात मजदुर भोकभोकै पर्ने अवस्था सिर्जना भएको बताए ।
गत वर्ष पनि कोरोनाले यस क्षेत्रमा आबद्ध भएका मजदुरहरू कामविहिन बन्दै गएकोमा यो वर्ष पनि कामविहिन बनेको उनको भनाइ छ ।
अघिल्लो वर्ष पनि कोरोनापश्चात यातायात सञ्चालनको लागि यातायात व्यवसायीहरूले सरकारसमक्ष विभिन्न छलफल र चेतावनीसहित ध्यानाकर्षण बुझाएका थिए । जसमा व्यवसायीको माग पूरा नभएको अवस्थामा आन्दोलनमा उत्रिने चेतावनी सरकारलाई दिएको थियो ।
यो वर्ष पनि कोरोना महामारीको निकै प्रभाव परेकाले आगामी दिनमा कसरी सञ्चालन गर्ने विषय चिन्ताजनक बनेको उनको भनाइ छ ।