सुन आयातको कोटा दैनिक २० केजी पुर्याउँदा पनि सन्तुष्ट छैनन् व्यवसायी
काठमाडौं । सरकारले अहिले सुनको कोटा १० केजीबाट २० केजी पुर्याएको छ । गत वर्षको लकडाउन र निषेधाज्ञाको समयमा सरकारले सुनको कोटा २० केजीबाट घटाएर १० केजी कोटामा झारेको थियो ।
सुनको कोटा घटाएको भन्दै व्यवसायीहरूले विरोध जनाउँदै आएका थिए । साथै, बजारमा कच्चा सुनको चरम अभाव भएकाले व्यवसायीहरूले विभिन्न सरकारी निकायसँग छलफल तथा भेटघाट गरी कोटा बढाउन माग गरेका थिए ।व्यवसायीको माग अनुसार सरकारले सुनको कोटा १० केजीदेखि २० केजी पुर्याएको छ ।
तर, लामो समय सुनको चरम अभाव खेपिरहेका व्यवसायीहरू सरकारले २० केजी कोटा पुर्याउँदा पनि सन्तुष्ट छैनन् ।
व्यवसायीहरूले सामान्य अवस्थामा हुँदा २० केजी र मौसमको समयमा ३० अथवा ४० केजी पुर्याउनुपर्ने माग गर्दै आएका छन् । यद्यपी व्यवसायीहरूको सरकारी निकायसँगको बाक्लो उपस्थिति र लविङले मात्रै सम्भव भएको उनीहरूको भनाइ छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०७६ को एकीकृत इजाजत प्राप्त परिपत्र ०३/२०७६ को १. सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को बुँदा नम्बर ४. (क)लाई संशोधन गरी आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरिएको जनाएको छ ।
तर, बजारमा भने उक्त कोटाको सुन बजारमा पुग्न अझै २,३ दिन लाग्ने जनाएको छ । व्यवसायीहरूले हालको लागि तोकिएको कोटा अपुग भएपनि केही सहज हुने बताउँछन् ।
सरकारले दैनिक १० केजीबाट २० केजी सुनको कोटाले व्यवसायीलाई केही सहज भए पनि उक्त कोटाले नपुग्ने सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मनिकरत्न शाक्यले बताए ।
‘व्यवसायीहरूले सामान्य अवस्थामा दैनिक ३० केजी र मौसमको सयममा ४० केजी माग गरेका हौं,’ शाक्यले क्लिकमान्डूसँग भने, ‘अहिले बजारमा सामान्य ३० केजीको माग छ । सरकारले हालको लागि २० केजी कोटा तोकेकाले केही नभएको अवस्थामा यसले पनि राहत मिल्नेछ ।’
यसले गर्दा विगतको जस्तो भिषण अभाव नहुने उनको दाबी छ ।
किन सन्तुष्ट छैनन् व्यवसायी ?
व्यवसायीहरूले सुनको कोटा कम तोकेको र समयमै प्रदान नगरेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । दैनिक १० केजी सुन पाइरहेको व्यवसायीहरूले हालको सयममा ३० केजी बजारमा माग रहेको उनीहरूको भनाइ छ । यसले गर्दा २० केजीले पनि बजारमा केही सन्तुलन मिलाउन सक्ने महासंघका अध्यक्ष शाक्य बताउँछन् ।
एकातिर २० केजी कोटा पाउने कार्यान्वयनमा आएको छ भने अर्कोतर्फ सरकारले यसको निर्णय ढिलो गरेकोमा व्यवसायीहरूले असन्तुष्ट जनाएका छन् ।
‘सरकारले कोटा बेलैमा कोटा बढाएको भए धेरै राहत हुन्थ्यो,’ महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने, ‘बैशाखको लगनको लागि कतिपय व्यक्तिले २, ३ हजार बढी पनि तिरेर बनाउन बाध्य भएको थियो । जुन बजारमा राम्रो भएको थिएन ।’
विगतको दिनमा सामान्य अवस्थामा २० केजी र लगन भएको बेलाको लागि २५ केजी कोटा रहिआएको थियो । तर, अहिले बैशाखको महिना अर्थात् लगन भएको महिना नजिकिँदै गर्दा सरकारले सुनको कोटा २० तोेकेको उनले असन्तुष्ट जनाए । साथै, ढिलो भएकोमा पनि व्यवसायीहरूले असन्तुष्ट जनाएका छन् ।
‘बैशाख र जेठको लागि सामान्यतया २५ केजी कोटा पु¥याउनुपथ्र्यो । सरकारले किन कन्जुस्याँई गरिरहेको छ थाहा छैन,’ उनले भने । व्यवसायीहरूलाई भन्दा उपभोक्ताको आवश्यकता पूरा गर्ने भएकाले सोही अनुसार कर तिर्ने हुन्छ । त्यसैले सरकारले यस क्षेत्रमा आपूर्तिको लागि कन्जुस्याँई गर्न नहुने उनको तर्क छ ।
‘सरकारले सुन भित्र्याउँदा राजश्व आइहाल्थ्यो । करोडौंको गाडी आयात खोल्न हुने तर ८० हजारको सुन आयात गर्न नुहने,’ उनले प्रश्न गरे ।
उनका अनुसार सरकारले हाल २० केजी पु¥याए पनि समयमै काम हुन नसकेको उनको गुनासो छ । उपभोक्ताहरूलाई वैशाखको लगनको लागि माग अनुसार सुनको आपूर्ति गर्नको लागि ढिलाई भएको जनाउँदै यो निर्णय करिब एक महिना अगाडि हुनुपर्ने उनले जिकिर गरे ।
‘समय समयमा आउने लगनको लागि करिब एक महिना अगाडि नै उपभोक्ताहरूले बजार सुन अर्डर गर्छन । तर, यस वर्ष सुनको कोटा थोरै हुँदा चरम अभाव भएको थियो,’ उनले भने, ‘वैशाखको लागि फागुनमै यो निर्णय गरेको भए बजारमा आपूर्ति गर्न सहज हुन्थ्यो ।’
कालीगढको समस्या हुनसक्ने
सुनको लागि अधिकांश कालीगढ भारतीय नागरिक रहेका छन् । त्यसमा करिब ८० प्रतिशत कालीगढ भारतीय छन् भने २० प्रतिशत नेपाली कालीगढ रहेका छन् । त्यसमध्ये कोरोना भाइरस महामारीले भारत गएका कालिगढहरू हालसम्म ५० प्रतिशत फर्केका छन् भने ३० प्रतिशत अझै फर्कन सकेको छैनन् ।
तर, उक्त कालीगढले पनि पनि बजारमा धान्न सक्ने व्यवसायीहरूको भनाइ छ । अहिले अवस्थालाई नियाल्दा बजारमा आवश्यक अनुसार सुन पनि पर्याप्त नभएकाले कालीगढको कुनै समस्या नरहेको पूर्वअध्यक्ष शाक्य बताउँछन् ।
‘विगतको दिनमा कम कालीगढ हुँदा पनि ठिकै थियो । त्यसबेला काम भएको थिएन तर आगामी दिनमा भने कालीगढको समस्या हुने भएको छ,’ उनले भने ।
अबका केही दिनमा दैनिक २० केजी सुन बजारमा आउन थालेपछि बजार सन्तुलनमा आउने उनीको दाबी छ । साथै, उक्त समयमा भने कालीगढ पर्याप्त नभएमा समस्या आउन सक्ने उनको अनुमान छ ।
त्यस्तै, अहिले पनि नयाँ प्रकारको सुनको गरगहना बनाउनको लागि विदेशी नागरिकको भर पर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सरकारले तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताए ।
कोटा बढाउन अझै पहल गर्ने
सरकारले गरेको निर्णय प्रति असन्तुष्ट जनाउँदै व्यवसायीहरूले पुनः कोटा बढाउन अझै पहल गर्ने जनाएको छ । महासंघका अध्यक्ष मणिक रत्न शाक्यका अनुसार आगामी दिनमा उक्त कोटा बढाएर ३० केजीको लागि पहल गर्ने बताए ।
‘हालको लागि उक्त २० केजी कोटा भएको छ,’ उनले भने, ‘अब आउने दिनहरू सुनको बिक्री हुने मौसम भएकाले उक्त कोटाले नपुग्ने हुँदा फेरी महासंघले विस्तारै पहल गर्नेछौं ।’
त्यस्तै पूर्वअध्यक्ष शाक्यका अनुसार पनि करिब एक महिनाको माग र आपूर्तिको अध्ययन गरेर कोटा बढाउन माग गर्ने बताए ।
‘बैशाखमा थोरै मात्रै लगन छ, बैशाखको लगनको लागि उपभोक्ताहरूले प्राय ५० प्रतिशत आवश्यकता अनुसारको अर्डर गरेर बनाइसकेको अवस्था छ तर, जेठको लगन लागि भने वैशाखमा अर्डर आउने गर्दछ,’ उनले भने, ‘त्यसलाई अध्ययन गरेर बैशाखको अन्तिममा फेरि माग धेरै आए र उक्त कोटाले धान्न गाह्रो भएको अवस्थामा माग गर्छौं ।’
त्यसैले यस क्षेत्रमा सरकारले सकारात्मक पूर्वक निर्णय गरेमा रोजगारीका साथसाथै व्यवसायीलाई सहज हुने उनको भनाइ छ ।