भ्यालेनटाइनको उपहारमा छैन व्यापार, गुलाफको माग ४० प्रतिशतले घट्यो



काठमाडौं । ‘भ्यालेन्टाइन डे’ नजिकिंदै गर्दा सहरका सपिङ मल तथा पसलहरु झकिझकाउ देखिन थालेका छन् । प्रेम दिवसमा विशेष गरी आफ्ना प्रियजनसँग प्रेम प्रकट गर्ने दिन भएकाले सपिङ मल र बजारका पसलहरुमा फुल र गिफ्टका सामग्रीहरू सजाएर झकिझकाउ बनाइएका छन् ।

पश्चिमा मुलुकबाट शुरु भएको भ्यालेन्टाइन नेपालमा पनि चाडपर्व झैं मनाइने गरिन्छ । बिशेषगरी युवा पुस्ताका महिला पुरुषहरुमा भ्यालेन्टाइन कार्ड, शो–पिस गिफ्ट, फ्रेम, गुलाफ, डेडी बियर आदानप्रदान गरी मनाउने चलन छ ।

भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा काठमाडौं उपत्यकाभित्रका सपिङ कम्प्लेक्स र गिफ्ट पसलहरुमा रातो गुलाफको फूल, गिफ्ट आइटमले आकर्षित रुपमा सजाइएको देखिन्छ । तर, भ्यालेनटाइन नजिकिँदै गर्दा व्यापारीहरूले आफ्नो पसल सजाएता पनि व्यापार भने हुन नसकेको व्यापारीहरूले बताएका छन् ।

विगतको दिनमा भ्यालेनटाइन नजिकिँदै गर्दा सोही अनुसार युवायुवतीहरूको पसलमा भिड हुन्थ्यो । साथै, व्यापार पनि राम्रो हुने व्यवसायीहरूको अनुभव छ । तर, यस वर्ष भने कोरोनाले गर्दा भ्यालेनटाइनमा रौनकता नछाएको गिफ्ट पसलका व्यापारीहरू बताउँछन् ।

साथै, पछिल्लो समय गिफ्टको सट्टामा अन्य दैनिक प्रयोग हुने सामग्री दिने प्रचलनले पनि गिफ्ट तथा कार्डको खासै व्यापार हुन नहुने उनीहरूको भनाइ छ ।

भ्यालेनटाइनमा ‘रोज डे’ का दिन गुलाफ टेडी वियरका दिन टेडी, चकलेट डेका दिन चकलेट र अरु भ्यालेन्टाइन डेका लागि विभिन्न प्रकारका गिफ्टहरु आफ्ना प्रेमीप्रेमीकाले दिने चलन रहेको पाइन्छ ।

नयाँ बानेश्वरस्थित लामो समयदेखि गिफ्टका प्रकारहरू बेच्दै आएका हलमार्कका सञ्चालक राजेश अग्रवालका अनुसार यस वर्षको भ्यालेन्टाइन विगतमा जस्तो व्यापार नभएको बताए । विगतका दिनमा भ्यालेनटाइनको शुरुवातसँगै पसलमा युवायुवतीको भिड हुन्थ्यो । तर, यो वर्ष भ्यालेनटाइनको समयमा पनि ग्राहकहरू निकै कम आएको उनले जानकारी दिए ।

‘विगतको केही वर्षदेखि नै भ्यालेनटाइनको समयमा पनि व्यापार कम हुँदै आएको थियो । यो वर्ष त झन ग्राहक आउनै सकेको छैन,’ उनले भने, ‘अझै, ३/४ दिन बाँकी रहेको छ । तर, बजारमा मानिसको आगमन निकै कम भएकाले आगामी दिनमा पनि ग्राहक आउने आश छैन ।’

उनका अनुसार ‘रोज डे’ मा भने केही मात्रामा व्यापार हुन सकेको बताए ।

गत वर्ष भ्यालेनटाइन शुरु भएदेखि नै व्यापार हुन थालेको थियो । यो वर्ष रोज डे, टेडी डेलगायत अन्य डेमा व्यापार नभएको कोटेश्वरस्थित रहेको न्यू आर्चिस गिफ्ट एण्ड कार्डका सञ्चालक श्यामकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार विगतको दिनमा यस दिनसम्ममा करिब २ लाखसम्मको व्यापार हुन्थ्यो भने भ्यालेनटाइन डे सकिने बेलासम्म ४ लाखसम्म व्यापार गर्न सकिन्थ्यो । तर, यो वर्ष एक लाखको पनि व्यापार नहुने बताए ।

‘गिफ्ट पसलहरूको सबैभन्दा बढी व्यापार हुने नै भ्यालेनटाइनको समय हो । जसमा शुरुवातीबाटै व्यापार कस्तो हुन्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘यो वर्ष कोेरोनाले लामो समयसम्म बन्द अवस्थाले गर्दा व्यापार घाटामा गएको छ । त्यति मात्रै नभई भ्यालेनटाइनमा पनि व्यापार नहुने छाँटकाँट रहेकाले चिन्ता बढेको छ ।’

विगतको दिनमा दैनिक ५०/६० जान छिर्ने उनको पसलमा अहिले ३/४ जना मात्रै दैनिक रुपमा ग्राहक आउने बताए ।

त्यसैगरी, भिमसेनगोलास्थित रहेको आर्चिस गिफ्ट शपका सञ्चालक अर्चना बिस्टका अनुसार रोज डेमा मात्रै व्यापार बढेको बताइन । उक्त दिनमा करिब ५०/६० वटा रोज बेच्न सफल भएको उनले जानकारी दिइन् । पछिल्लो समय भ्यालेनटाइनको रौनक कम हुँदै गएकाले व्यापार पनि खस्किँदै गएको उनको अनुभव छ ।

सजावटका गिफ्ट दिने प्रचलन हट्दै
केही वर्ष अगाडिसम्म भ्यालेन्टाइन विशेष लभ कार्ड, लभ शो–पिस, लभका आकार डलहरुलगायत मायाको प्रतिक जनाउने सामाग्रीहरुको बिक्री अत्यधिक हुने गर्दथ्यो ।

तर, पछिल्लो समय डिजिटल प्लेटफर्मको सहायताका कारण अहिले गिफ्ट, कार्डहरु कम मात्रामा बिक्री हुने गरेको व्यवसायीहरूको भनाइ । उनीहरूका अनुसार सजावटको सामान केही मात्रामा बिक्री भएता पनि कार्डको चलन भने ठप्प भएको व्यवसायीहरूको अनुभव छ ।

यससँगै, विगतको दिनमा कोठामा सजाएर राख्ने सामाग्री भ्यालेनटाइमा अत्यधिक बिक्री हुन्थ्यो भने अहिले सजावटको सामग्रीभन्दा अन्य सामग्रीमा आकर्षण बढेको व्यवसायीहरूको बुझाइ छ ।

पछिल्लो समय आफ्नो प्रेमीप्रेमीकालाई भ्यालेनटाइनमा लुगा, घडी, परफ्यूमलगायत अन्य आवश्यक सामग्री दिने प्रचलन बढेका छन् । साथै, सजावटको सामग्रीमा कम मात्रामा रुचि राखेकाले भ्यालेनटाइनको समयमा पनि गिफ्टका प्रकारहरु बिक्री हुन छोडेको उनीहरुको भनाइ छ ।

भ्यालेन्टाइमा एक करोड व्यापार
भ्यालेनटाइन डेमा सबैभन्दा बढी बिक्री हुने वस्तु हो गुलाबको फुल । त्यसैले फ्लोरिकल्चर एशोशिएसन अफ नेपालले भ्यालेनटाइन डेका लागि १ लाख २० हजार स्टिम गुलाव फुल आयात भएको जानकारी दिएको छ ।

जसमा फुल डच रोज तथा कलकत्ते लोकल रोज मात्र आयात भएको एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार १ हप्ताको अवधिमा उपत्यकामा करिब ७२ हजार स्टिम गुलाब खपत हुने र बाँकी ४८ हजार स्टिम गुलाब उपत्यका बाहिरको शहरहरुमा खपत हुनेछ ।

प्रेम दिवसका लागि हुने जम्मा बजार मागको झण्डै ६० प्रतिशत काठमाडौं उपत्याकामा मात्र खपत हुने गर्दछ भने २० प्रतिशत पोखरामा र बाँकी २० प्रतिशत अन्य शहरहरुमा खपत हुने गर्दछ ।

त्यस्तै, बजार मागको २० प्रतिशत आन्तरिक उत्पादनबाट र ८० प्रतिशत बाहिरबाट आयात गरी माग पुरा हुने उनको भनाइ छ । जसमा ९६ हजार स्टिम गुलाबको फूल विदेशबाट आयात भएको छ भने २४ हजार स्टिम गुलाबको फुल आन्तरिक बजारबाट आयात भएको बताए । यससँगै, प्रेम दिवस अवधिभर झण्डै १ करोडको व्यवसायीक कारोबार हुने एशोसिएसनले अनुमान गरेको छ । बजारमा अहिले फूलको गुणस्तर अनुसार प्रति स्टिम मुल्य ६० देखि १०० को हाराहारीमा बिक्री भइरहेको छ ।

४० प्रतिशतले माग कम
गत बर्षको तुलनामा कोभिड–१९ को कारण स्थानीय उत्पादन र बजार माग ४० प्रतिशतले कमी आएको अध्यक्ष कसजुले जानकारी दिए । गत वर्ष करिब २ लाख स्टिम गुलाबको कारोबार भएको थियो ।

यो वर्षमा भने १ लाख २० हजारको मात्रै माग आएको उनले बताए । जसमा गत वर्ष प्रति स्टिम व्यवसायीहरूले ८० देखि १०० को हाराहारीमा कारोबार गरेको थियो ।

नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रतिदिन सरदर ८ हजार स्टिम गुलाब फूलको माग रहने गरेको छ । नेपालमा मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात गरी परिपुर्ति भइरहेको कसजुले बताए ।

‘कोभिड-१९ कारणले उत्पादन तथा बजार मागमा ४० ले कमी आएको छ,’ उनले भने, ‘फेब्रुअरी महिनामा नेपालमा गुलाब उत्पादनमा प्रतिकुल मौसम हुने भएकाले आन्तरिक उत्पादनमा कमि हुने भएको हुँदा अधिक मात्रामा आयात गरी बजार माग पूरा गर्नुपर्ने स्थिती रहेको छ ।’

नेपालमा गुलाबको व्यवसायीक खेती उपत्यकाका तीन जिल्ला, चितवन, काभ्रेपलाञ्चोकमा हुँदै आएको छ । साथै, अन्य जिल्लाहरुमा पनि गुलाब फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको एशोसिएसनको भनाइ छ ।


क्लिकमान्डु