एफएनसीसीआई र सीएनआईलाई मर्ज हुन प्रधानमन्त्रीको सुझाव, अध्यक्षको प्रत्यक्ष चुनाव गर्नुस्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघलाई आपसमा एकीकरण हुन सुझाव दिएका छन् ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले यस्तो सुझाव दिएका हुन् ।

‘चेम्बर अफ कमर्शको उदेश्य केही फरक भए पनि महासंघ र परिसंघको उदेश्य समान छ, तपाईंहरु एकिकरण भएर अघि बढ्नुभयो भने निजी क्षेत्र अझ सबल, सक्षम र मजबुत हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा उपस्थित निवर्तमान अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन् ।

यो कठिन परिस्थितिमा फुटेर भन्दा जुटेर अघि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीले दोहोर्याए । उनले निजी क्षेत्रलाई एकतावद्ध बनाएर लैजान महासंघका पदाधिकारीलाई सुझाए ।

सरकार र निजी क्षेत्रबीच लामो समयलेखि सहकार्य भएको स्मरण गर्दै ओलीले आफ्नो सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न सदैब तयार रहेको जानकारी गराए ।

‘सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प छैन, निजी क्षेत्रलाई काम गर्न सजिलो हुनेगरी सरकारले कुन कुन कानूनमा के कस्तो परिवर्तन गर्नुपर्छ, लेखेर दिनुस् त्यो गर्न सरकार तयार छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी महासंघका विशिष्ट सदस्य पशुपति मुरारकाले भने ।

प्रधानमन्त्रीले निजी क्षेत्रलाई आन्तरिक उत्पादन, कृषि, निर्यात र रोजगारी बढाउन महत्वपूर्ण भूमिका खेल्न आह्वान पनि गरे ।

‘स्वदेशमै उत्पादन हुने वस्तु किन बाहिरबाट किन्ने ?’ प्रधानमन्त्रीले प्रश्न गरे ।

महासंघको बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्थाप्रति प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गर्न आग्रह गरे ।

‘बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने महासंघको विधान परिवर्तन गर्नुस र प्रत्यक्ष निर्वाचिन अध्यक्ष हुने व्यवस्था मिलाउनुहोस्,’ प्रधानमन्त्रीले सुझाए, ‘बरिष्ठ उपाध्यक्ष निर्वाचित भएको व्यक्तिले नराम्रो काम गर्यो भने पनि स्वत अध्यक्ष मान्नुपर्ने अवस्था आउन सक्छ, जुन त्यति उपयुक्त होइन ।’

स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता दोहोर्याएको भेटमा सहभागी वस्तुतग उपाध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए । कर्मचारीतन्त्रले अलि घुमाउने गरेकाले निजी क्षेत्रले दुखः पाएको पनि प्रधानमन्त्रीले सुनाए ।

बुधबार मंगलबार साँझ साढे ८ बजे बालुवाटार पुगेको महासंघको टोलीसँग प्रधानमन्त्रीले डेढ घन्टा विताए । भेटघाटका क्रममा अधिकांश समय प्रधानमन्त्री ओलीले नै बोलेका थिए । आफ्ना गुनासो सुनाउन र विभिन्न माग राख्न गएका व्यवसायीका कुरा सुन्नुभन्दा पनि प्रधानमन्त्रीले व्यवसायीलाई आफ्ना कुरा सुनाएर पठाए ।

उनले नेकपाभित्रको विद्यमान अन्तरद्धन्द्धको विषय पनि व्यवसायीहरुलाई सुनाएका थिए ।

प्रधानमन्त्रीले सबै पदाधिकारीलाई बधाई दिए । खासगरी, महासंघ अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई नामै लिएर बधाई दिए ।

बीचबीचमा प्रधानमन्त्रीले उखाटुक्का सुनाएर र ठट्यौली गरेर व्यवसायीहरुलाई हसाँएका पनि थिए ।  नयाँ नेतृत्व आएपछि सरकार प्रमुखलाई भेट्ने परम्परालाई अनुसार नै महासंघको टोली प्रधानमन्त्री भेट्न गएको थियो । यसअघि नै महासंघको टोलीले अर्थमन्त्री, उद्योगमन्त्री, श्रममन्त्री लगायतसँग भेटघाट गरिसकेको छ ।

प्रधानमन्त्रीसंगको भेटघाटमा अध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसियट उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन उपस्थित थिए ।


पुष्प दुलाल