दशैंमा खसी बोका अभाव नहुने, कोरोनाले ३० प्रतिशतले खरिद बिक्री कम



फाइल

काठमाडौं । नेपालीहरूको महान चाड दशैंमा सबैभन्दा बढी मासुजन्य पदार्थ खसी बोका हो । हरेक वर्ष हजारौंको संख्यामा दशैंमा खसी बोकाको खपत हुने गर्दछ । कोरोनाको डरसँगै दशैं नजिकिँदै गर्दा बजारमा चहलपहल शुरु भएको छ । तर, चहलपहल बढेता पनि विगतको जस्तो उत्साह भने छैन ।

यसैगरी विशषगरी दशैंमा सबैभन्दा बढी खपत हुने मासुजन्य पशु खसी बोका कोरोनाको समयमा पनि अभाव नहुने भएको छ । कोरोना भाइरस महामारीले गर्दा खसीबोकाको खरिद बिक्रीमा प्रभाव भएता पनि दशैंमा भने खसीबोकाको अभाव नहुने चौपाया बिक्री संघले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण बजारमा करिब ३० देखि ४० प्रतिशतसम्म खरिद बिक्रिमा कमी आएता पनि दशैंको माहोलमा केही मात्राले बढ्ने व्यापारीहरुले अनुमान गरेका छन् । गत वर्ष घटस्थापनापछि खसी बोका खरिद गर्ने मानिसको भीड हुन्थ्यो ।

तर, यो वर्ष कोरोनाले गर्दा खरिद गर्न आउने ग्राहक निकै कम भएको चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्री बताउँछन् ।

‘अहिले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा कडाइ गरेको छ । साथै, कतिपय ठाउँमा लकडाउन गरेको छ,’ उनले भने, ‘व्यापारी तथा मानिस बाहिर निस्कन गाह्रो हुने र गाउँमा जाँदा कोरोना ल्यायो भन्ने संकाका साथ काम गरिरहेका छौं । जसले गर्दा दशैंको लागि खरिद बिक्रीमा निकै कठिन भएको छ ।’

गत वर्षको दशैंमा संघले उपत्यकामा करिब ४८ हजार खसी बोका खरिद बिक्री गरेको थियो । तर, यो वर्ष करिब ३२ हजार मात्रै खसी बोका उपत्यकाका ल्याएको खत्रीले बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष खरिद बिक्री कम हुने भएकाले ३२ हजार मात्र ल्याउने भएको बताए ।

उक्त ल्याएको खसी बोका पनि बिक्री हुने वा नहुने अहिले अनुमान गर्न नसक्ने स्थिति रहेको उनको भनाइ छ । ‘अहिले गत वर्षको तुलनामा करिब ३० प्रतिशतले कमी आएको छ,’ उनले भने, ‘यो माहोलमा अबको केही दिनमा बढ्छ वा घट्छ भन्ने निश्चित छैन ।’

संघले देशभरका विभिन्न स्थानबाट खसीबोका खरिद गरेर बिक्री गर्दै आएको छ । हाल करिब ८० प्रतिशत नेपालमा उत्पादन भएको खसी बोकाले नै आपूर्ति गरिरहेको उनले बताए । यसैगरी खसीबोका ल्याउने प्रमुख जिल्ला भनेको दाङ, गोर्खा, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, सिराहा, सप्तरी, सर्लाही, कैललाली, सुर्खेत, बर्दिया, उदयपुर, सिन्धुली, इलाम, उदयपुरलगायत अन्य जिल्लाबाट आयात भइरहेको उनले जानकारी दिए । तर, कोरोनाले खरिद बिक्रीमा असर पारेता पनि मूल्य भने स्थिर रहेको उनको भनाइ छ ।

साथै, अझै नेपालमा राम्रोसँग उत्पादन गरिरह्यो भने पछिल्लो दिनहरूमा खसी बोका उत्पादनमा आत्मनिर्भर हुने उनको बुझाइ छ ।

वार्षिक ३३ लाख खपत

हाल नेपालमा एक करोड २५ लाख खसी बोका छन् । साथै, विश्वको खसी बोका उत्पादनमा १० औं स्थानमा रहेको नेपालले वार्षिक ३३ लाख खसी बोका खपत गर्ने गरेको पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्मा बताउँछन् ।

उनका अनुसार उक्त खपतभएको मध्ये ६ लाख उपत्यकामा खपत हुने गर्दछ भने बाँकी २७ लाख उपत्यका बाहिरको जिल्लामा खपत हुने गरेको बताए ।

त्यस्तै, अन्य समयमा मासिक ५० हजार खपत हुने गर्दछ । जुन नेपाली बजारमै उत्पादन भएको खसी बोकाले धान्ने गरेको शर्माको भनाइ छ ।

त्यसैगरी सबैभन्दा बढी नेपालीहरूको महान चाडपर्व दशैंको माहोलमा सामान्य अवस्थाको दोब्बर खपत हुने गर्दछ । त्यसमा दशैंको बेलामा दैनिक ५ हजारको दरले उपत्यकामा खसी बोका खपत हुने गरेको शर्माले जानकारी दिए ।


क्लिकमान्डु