महामारीले फलिफाप बनायो जुमलाई, आम्दानी ३५५ प्रतिशतले बढेर ७८ अर्ब पुग्यो
काठमाडौं । समस्याले समाधानका उपाय पनि खोज्छ । विपद धेरैलाई विपद नै बनेपनि केहीका लागि भने त्यसले अवसर पनि लिएर आउँछ ।
कुनै पनि अप्ठ्याराभित्र समस्या मात्रै हुँदैनन, अवसर पनि हुन्छन् भन्ने कुरा विश्व परिवेशमा पछिल्ला ९ महिनाले देखाएको छ ।
विपदलाई अवसरमा बदल्ने साहस थोरै मान्छेसँग मात्रै हुन्छ । नयाँ तरिकाले काम गर्नेले मात्रै त्यस्ता अवसरको खोज गर्न सक्छन् । उनीहरुले त्यसैलाई उपयोग गरेर आफूलाई ठूलो सम्पत्तिको मालिकका रुपमा पनि स्थापित गर्न सक्छन् ।
कोरोनाले असर र विपद मात्रै होइन राम्रै अवसर पनि ल्याइदिएको छ । नयाँ नयाँ खोज तथा अनुसन्धान समेत भइसकेका छन् । विपद भनेर खोज तथा अनुसन्धानकर्ता चुप लागेर बसेका छैनन् । उनीहरुले जीवनलाई नयाँ तरिकाले चलाउने र केही नयाँ सिर्जना गर्ने सुगम गन्तव्यका रुपमा समेत विकास गरिरहेका छन् ।
किनकी समस्या नै समाधानको जननी हो । त्यसले नयाँ तरिकाबाट जिउन र अगाडि बढ्न मद्दत गर्दछ ।
सन् २०१९ मा चीनको उहानबाट शुरु भएको कोरोना भाइरसले धेरैलाई घरभित्र बस्न बाध्य पारिदिएको छ । धेरैका रोजगारी गुमेका छन् । आर्थिक रुपमा समस्या पनि पैदा गरिदिएको छ । धेरै जसो मुलुक कोरोना भाइरसका कारण अझै लकडाउनमा नै छ । कार्यालयहरु बन्द छन् भने बाहिर हिँड्न पनि पाइएको छैन । मानिसहरु महिनौंदेखि घरभित्र बस्न बाध्य भएका छन् । यही अवसरलाई सदुपयोग गरेको छ ‘जुम’ले ।
पछिल्लो ३ महिनाको अवधिमा जुमले ३५५ प्रतिशतले आफ्नो आम्दानीमा वृद्धि गरेको छ । गत जुलाई ३१ सम्म जुमले आम्दानी वृद्धि गरेर ६६३ मिलियन डलर पुर्याएको छ । जबकी कम्पनी आफैले आम्दानी वृद्धि भइ ५००.५ मिलियन पुग्ने अपेक्षा गरेको थियो ।
जुमले सो अवधिमा १८६ मिलियन डलर नाफा आर्जन गरेको छ । यस्तै प्रयोगकर्ताको संख्या भने ४५८ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै जुमको सेयर मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । उसले सार्वजनिक गरेको अपेक्षा ३० प्रतिशतले वृद्धि हुने रहेपनि त्यसमा उच्च अंकले वृद्धि भएको हो । उसले आफै २.३७ बिलियनदेखि २.३९ बिलियन डलर हुने देखिएको छ । पूर्ववत्रुपमा उसले मात्रै १.७८ बिलियन डलर देखि १.८० बिलियन डलर हुने बताएको थियो ।
भिडियो कन्फेरेन्सिङ प्लेटफर्म जुमको अप्रत्यासित वृद्धि देखिएको छ । उसले कर्पोरेट प्रयोगकर्ता देखि शुल्क तिरेर उपभोग गर्ने प्रयोगकर्तालाई बढावा दिँदै गएको छ । यस्तै, निशुल्क उपभोग गर्ने प्रयोगकर्तालाई समेत साथमा लिएर अगाडि बढेको छ । सुरक्षामा देखिएको समस्यालाई समेत क्रमशः समाधान गर्दै गएको छ ।
जुमले प्रयोगकर्ता वृद्धि हुँदै गएपछि कर्मचारीको संख्या समेत ७०० पुर्याएको छ । तर उसलाई राजनीतिकरुपमा आक्रमण पनि शुरु भएको बीबीसीले जनाएको छ । उसको सुरक्षा उपकरण तथा प्रणालीका बारेमा पटक पटक प्रश्न पनि उठ्ने गरेको छ ।
यो एक सफ्टवेयर एप्लिकेशन हो । जसको मुख्य उद्देश्य भिडियो कल हो । कार्यालयका मिटिङ, कन्फरेन्सका लागि, कुराकानी गर्नका लागि पछिल्लो समय सबैभन्दा उपयोगी माध्यम बनेको छ । यसअघि सामान्य रुपमा प्रचलनमा आए पनि कोरोना भाइरसको संक्रमणले सबै मासिनहरुलाई घरमै बसाइदिएपछि कार्यालयका मिटिङका लागि यो निकै उपयोगी एप बनेको छ ।
फोन कन्फरेन्स, च्याट गर्नका लागि सजिलो छ । यो एप चलाउन एक त सजिलो छ भने अर्को तिर मोबाइल, ल्यापटप, डेस्कटप जहाँ पनि चलाउन सकिन्छ । र, एकै साथ १ हजार जना पनि एकैसाथ बैठक गर्न सकिन्छ ।
सन् २०११ मा शुरुवात भएको यो एप अहिले विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ । लकडाउनका कारण विश्वविद्यालयको अध्यापन ठप्प भएको छ, कार्यालयहरु चलेका छैनन् । यस्तोमा सोसल डिस्टेन्सिङ कायम राख्नका लागि यो एपको प्रयोग अनिवार्य जस्तै बनेको छ ।
लकडाउनका कारण विश्वव्यापीरुपमा लकडाउन हुँदा विश्वका धनीहरुको सम्पत्ति खर्बौ रुपैयाँले कमी आएको छ ।
प्रयोगकर्ताको कुरा गर्दा गत १ वर्षमा जुमका प्रयोगकर्ता १.९९ मिलियन थिए भने कोरोना भाइरस शुरु भइसकेपछि गत ३ महिनामा मात्रै २.२२ मिलियन प्रयोगकर्ता बढेका थिए ।
त्यति मात्रै होइन, गत वर्षसम्म एक दिनमा जुमले १० लाख मानिसलाई कनेक्ट गर्न सक्ने क्षमता थियो भने अहिले २ सय मिलियन जनालाई एक दिनमा कनेक्ट गर्न गरी क्षमता वृद्धि गरेको छ ।
यसरी भयो जन्म
जुमको शुरुवात हुनुका पछाडि एउटा कथा छ ।
सन् २०१० भन्दा अघि चिनियाँ नागकिर इरिक युयान लङ डिस्टेन्स रिलेसनमा थिए । उनीकी प्रेमिका चीनकै अर्का ठाउँमा थिइन । उनीहरुबीचको दुरी १० घण्टाको रेल यात्रा बराबरको थियो । अर्थात् एक अर्कोलाई भेट्ने हो भने १० घण्टा रेलमा यात्रा गर्नुपथ्र्यो ।
हरेक समय १० घण्टाको लामो यात्राबाट पट्यार लागेका इरिकले भिडियो कल गर्ने एप निर्माण गर्ने आइडिया निकाले ।
जुमको शुरुवात हुनुभन्दा अघि उनलाई इन्टरनेटमा केही काम गर्नुपर्छ भन्ने योजना बनाएका थिए । यो प्रेरणा उनलाई बिल गेट्सको अन्तर्वार्ताबाट आएको थियो । तर चीनमा तत्कालिन समयमा इन्टरनेटको पहुँच उत्ति साह्रो राम्रो थिएन । त्यसैले उनी अमेरिका गएर केही काम गर्न चाहन्थे ।
तर अमेरिका जान उनलाई समस्या थियो । उनलाई अंग्रेजी पनि आउँदैनथ्यो । तर उनलाई सफ्वटेयरमा कोडिङ गर्न भने आउँथ्यो । कैयन कम्पनीमध्ये कोडिङका लागि अमेरिकी कम्पनी वेवएक्सले उनलाई निमन्त्रणा पठायो । तर अमेरिकाले भिसा दिएन । पटक पटक प्रयास गर्दा पनि दिएन । आठ पटकसम्म भिसा अस्वीकार भयो । तै पनि हार भने मानेनन र नवौं पटकमा उनले भिसा पाए ।
अमेरिकामा गएर सिस्को कम्पनीमा काम गर्दा गर्दा उनले आफ्नो काममा सन्तुष्ट हुन सकेनन् । साथै आफ्नो आइडिया अनुसारको काम गर्नका लागि नयाँ कम्पनी शुरु गर्ने योजना बनाए । र सन् २०११ मा काम छाडेर जुमको शुरुवात गरे । सिस्कोमा उनी मातहतमा काम गर्ने ४० भन्दा बढी इन्जिनियरलाई पनि सँगै जुममा ल्याए ।
त्यतिञ्जेलसम्म सिकेको अनुभवका आधारमा, अडियन्सको चाहनालाई ध्यानमा राख्दै उनले काम शुरु गरे । शुरुको २ वर्षसम्म अध्ययन र यसको विकासमा मात्रै खर्चिए ।
त्यसपछि लगानी जुटाउँदै जुमको शुरुवात गरे । र, सन् २०१३ जनवरीमा प्रडक्ट लञ्च गरे । सोही वर्षको मे महिनासम्ममा यसका ग्राहक १० लाख जना भइसकेका छन् । विस्तारै जुमको लोकप्रियता यति बढ्यो कि अहिले अर्बौ डलरको सम्पत्तिको कम्पनी बनेको छ ।