लकडाउनमा इन्टरनेटको खपत ३५ प्रतिशतले बढ्यो



man sitting near the globe with Laptop

काठमाडौं । लकडाउनको समयमा इन्टरनेट खपत बढेको छ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारले गत चैत ११ बाट लकडाउन गरेसँगै इन्टरनेट खपत बढेको इन्टरनेट प्रदायक संस्थाहरूले जनाएका छन् ।

लकडाउन भएसँगै मानिसको समय बिताउन सजिलो माध्यम बनेको छ इन्टरनेट । पछिल्लो समय प्रविधिको विकास भएसँगै हरेक मानिससँग प्रविधियुक्त मोबाइल, फोनको सुविधाले गर्दा पनि इन्टरनेटको पहुँच उल्लेखनीय छ । साथै, मानिसको आवश्यकताले गर्दा अहिले हरेक मानिसको घरमा इन्टरनेटको सुविधा रहेको छ ।

लामो समयसम्मको बन्दाबन्दीमा इन्टरनेटको खपत निकै बढेको सुविसुका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । लकडाउन अघि ४० जीबीपीएस खपत हुन्थ्यो भने अहिले ५५/५६ जीबीपीएस खपत भइरहेको छ उनले बताए ।

एकातिर खपत बढेको बेला बजारमा नयाँ नेट इन्टरनेट जोड्नेमा भने कमी आएको उनले बताए । यस समयअवधिमा लगभग २० देखि २५ प्रतिशतमा इन्टरनेटको खपत बढेको उनको भनाइ छ ।

यो अवधिमा नयाँ इन्टरनेट जोड्न सक्ने स्थितिमा थिएन तर बीचमा सामान्य अवस्थामा पुग्न लाग्दा पुनः लकडाउन भएको उनले बताए । उनका अनुसार लकडाउनको समयमा वर्क फ्रम होम, अनलाइन क्लासलयागत अन्य विभिन्न गेमहरूका कारण इन्टरनेट खपत बढी भएको उनको बुझाइ छ ।

त्यसैगरी नेपालकै एक वृहत इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिङ्को पनि खपत बढेको वल्र्ड लिङ्कका मिडिया सल्लाहकार पुनिमा झाले जानकारी दिए । उनका अनुसार लकडाउनको समयमा इन्टरनेटको प्रयोगकर्ता विगतको भन्दा निकै बढेको उनले बताए । साथै, यो बीचमा लगभग २५ प्रतिशतले खपत बढेको उनले जानकारी दिए ।

लकडाउन अगाडिको तुलनामा लकडाउन पछिको समयमा इन्टरनेटको खपत वृद्धि भएको छ । नेपाल सेवा प्रदायक संघका तथ्याङ्कअनुसार लकडाउनको अवधिमा ३५ प्रतिशतले बढेको जनाएको छ ।

लकडाउनअघि १ हजार १ सय ५२ जीबीपीएस खपत भएकोमा लकडाउनको अवधिमा वृद्धि भई १ हजार ५ सय ५३ जीबीपीएस खपत भएको छ । जुन विगतको तुलनामा ४ सय १ जीबीपीएसले बढी अर्थात ३५ प्रतिशतले बढी हो ।

यसमा सबैभन्दा बढी आईपीटिभि, भिओडी (नेटटिभि)मा खपत भएको पाइन्छ । नेपालमा लकडाउन अघि २ सय ५४ जीबीपीएस खपत हुनेमा लकडाउनको समयमा वृद्धि भई ३ सय ९४ जीबीपीएस खपत भएको छ । यस अवधिमा १ सय ४० जीबीपीएस खपत भई ५५ प्रतिशतले बढेको छ ।

त्यसैगरी इन्टरनेटमा ब्यान्डविथ गुगल र फेसबुकमा पनि बढी खपत भएको संघको तथ्याङ्कले देखाउँदछ । लकडाउन अघि ५ सय ९ जीबीपीएस खपत भएकोेमा अहिले ५ सय ९१ जीबीपीएस खपत भएको छ । यसमा विगतको तुलनामा ८१ जीबीपीएस अर्थात १६ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, फेसबुक पहिले २ सय ६७ जीबीपीएसले खपत भएकोमा हाल ३ सय २७ जीबीपीएस खपत भएको छ । जुन ६० जीबीपीएसले खपतमा भई २२ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, लकडाउनअघि नेटफ्लिक्स् १७ जीबीपीएस खपत भएको थियो भने लकडाउनपछि ४३ जीबीपीएस पुगेको छ । यस अवधिमा २६ जीबीपीएसले खपत भई १५ प्रतिशत बढेको छ ।

यसबाहेक अकामाईमा ११२ प्रतिशत, क्लाउडफ्लेयरमा ८८ प्रतिशत, अन्य सीडिएनमा ६७ प्रतिशत र नेपाल इन्टरनेट जोड्नेमा ११६ प्रतिशतले खपत वृद्धि भएको तथ्याङ्कले देखाउँदछ ।

साथै, पछिल्लो समय निकै चर्चामा रहेको टिकटकले पनि इन्टरनेटको खपतमा वृद्धि भएको संघका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । उनका अनुसार लकडाउनको भारतमा टिकटक ब्यान्ड भएसँगै नेपालमा इन्टरनेटको खपत बढेको उनले बताए ।

त्यस्तै टिकटकले मात्रै इन्टरनेटमा २५ प्रतिशतले खपट वृद्धि भएको उनको भनाइ छ ।

‘लकडाउन अघि टिकटक २५ जीपीएस खपत हुन्थ्यो भने अहिले बढेर १ सय ७५ जीपीएस खपत भएको छ,’ उनले भने ।

साथै, विभिन्न वेवीनार, अनलाइन क्लास जस्ता विभिन्न क्रियाकलापले गर्दा खपतमा वृद्धि भइरहेको उनी बताउँछन् ।

‘लकडाउनका कारण खपत बढेको बढै छ, मूल्य स्थिर राखेर अनलिमिटेड डाटाको सेवा प्रदान गर्दा आर्थिक भार परिरहेको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय इन्टरनेटको खपत २५ ले वृद्धि

यस्तै लकडाउनको समयमा अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा पनि खपत २५ प्रतिशतले खपत वृद्धि भएको छ । जसमा लकडाउन अघि ३ सय ३४ जीबीपीएस खपत भएकोमा लकडाउनपछि ४ सय १८ जीपीएस खपत भएको छ । जसमा ८४ जीपीएसले खपत भई २५ प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा ब्यान्डविथ खपतमा सबैभन्दा बढी नेटफ्लिक्स, टिकटक, गेमिङ एक सय प्रतिशतले खपतमा वृद्धि भएको छ ।

लकडाउनअघि नेटफ्लिक्स, टिकटकमा इन्टरनेटको खपत ७ जीबीपीएस भएकोमा लकडाउनपछि १३ जीबीपीएस खपत भएको छ । यस्तै, गेमिङमा पहिले ३ जीबीपीएस अहिले ७ जीबीपीएस पुगेको छ । जुन विगतको तुलनामा एक सय प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय इन्टरनेटको खपतमा गुगल १२, फेसबुक १७, क्लाउडफ्लेयर ५०, अकामाई ८३, माइक्रोसफ्ट ६७, अमेजन ५० र अन्य ३० प्रतिशतले वृद्धि भएको संघको तथ्याङ्कले उल्लेख गरेको छ ।
संघको अध्यक्ष भट्टका अनुसार अन्तर्राष्ट्रिय ब्यान्डविथले गर्दा इन्टरनेटको खपत बढेको उनको भनाइ छ ।


पुष्प दुलाल