बजारमा चिनीको कृत्रिम अभाव गराएर मूल्यवृद्धि



काठमाडौं । कोभिड–१९ महामारीको समस्या भोगिरहेको बेला बजारमा चिनीको मूल्य बढेको छ । चिनी उद्योग संघका अनुसार उद्योगमा चिनी नभएका कारण बजारमा मूल्य वृद्धि भएको हो ।

तर, खुद्रा व्यापारीहरूले भने कृत्रिम अभाव देखाएर चिनीको मूल्य बढाएको आरोप लगाएका छन् । हरेक वर्ष चाडपर्व नजिकिँदै गर्दा उद्योगसँग कृत्रिम अभाव देखाउँदै बजारमा मृल्यवृद्धि गरेको व्यापारीहरूको भनाइ छ ।

लकडाउनका कारण आयात गर्न नपाएकाले उद्योगसँग रहेको मौज्दात चिनी साउनमै सकिएकाले बजारमा चिनीको अभाव भएको उद्योग संघले जनाएको छ ।

चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको अभाव भएसँगै व्यापारीहरुले चिनी लुकाएर कृत्रिम अभाव गराएको एक जानकारले बताए । एकातिर साल्ट ट्रेडिङमा मौज्दात चिनी सकिन लागेको र अर्कोतिर चिनी आयातको निर्णयमा ढिलाइ हुँदा बजारमा चिनीको भाउ एक्कासी बढाइएको उनको भनाइ छ ।

नेपालमा ११ वटा सुगर मिल छन् । जसबाट वार्षिक करिब एक लाख ८० मेट्रिक टन उत्पादनको क्षमता छ । त्यसमध्ये बजारमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग हुने गर्दछ ।

तर, नेपालमा ११ वटा सुगर मिलबाट एक सिजनमा ४ लाखभन्दा बढी टन चिनी उत्पादन हुने सक्ने संघले अनुमान गरेका छन् । साथै, खुल्ला सिमानाका कारणले ठूलो संख्यामा तस्करीबाट नेपालमा चिनी भित्रिने गरेको चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

अग्रवालका अनुसार बजारमा चिनीको खपत बढी तर उत्पादन कम हुने भएकाले मूल्यवृद्धि भएको बताए । लकडाउनका कारण चिनी प्रशोधित हुन नपाउँदा पनि बजारमा चिनीको अभाव देखिएको उनले जानकारी दिए । साथै, नेपालमा उखु उत्पादन पनि कम भएकाले पनि बजारमा अभाव हुने गरेको उनले बताए ।

केही समय अघिसम्म खुद्रामा ८० पर्ने चिनी अहिले ९० पुगेको छ । तर, अहिले भने उद्योगमा चिनी सकिएको कारणले गर्दा उद्योगमा नै महंगो पर्न गएको अग्रवालले बताए । उनका अनुसार बजारमा खुद्रा पसलमा ८५, ९० परे पनि धेरै असर नपार्ने उनको भनाइ छ ।

बजारमा चिनीको मूल्य नियन्त्रण गर्नका लागि सरकारले साल्ट ट्रेडिङ कर्पाेरेशनलाई २० हजार र खाद्य तथा व्यापार कम्पनीलाई १० हजार क्विन्टल चिनी आयात गर्नका लागि अनुमति दिएको छ ।

अहिले व्यापारी, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था विभागले पनि चिनी ल्याउन शुरु गरिसकेको हुनाले अबको दिनमा मूल्य नबढ्ने संघका अध्यक्ष अग्रवालको दाबी छ ।


क्लिकमान्डु