असारमा बढेको घर जग्गाको कारोबार साउनमा घट्यो, दुई अर्ब राजस्व संकलन



काठामाडौं । नेपालभर छरिएर रहेको १२० वटा मालपोत कार्यालयले साउन महिनामा कुल ९७ हजार १ सय ६३ वटा जग्गाको कारोबार गरेको छ । जुन असार महिनाको तुलनामा झिनो संख्याले कमी आएको हो ।

असार महिनामा कुल ९८ हजार ८ सय ८ वटा जग्गाको कारोबार गरेको थियो भने साउन महिनामा १ हजार ६४५ ले कमी आएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण सरकारले गत चैत ११ मा लकडाउन गरेसँगै देशभरका मालपोत कार्यालय तीन महिना पूर्णरुपमा बन्द थिए ।

तीन महिनाको बन्दपछि सरकारले गत असार २ गतेबाट मालपोत कार्यलयले कारोबार शुरु गरेको थियो ।

तर, कोरोनाको संक्रमणको जोखिम बढ्दै गएपछि गत साउन २४ बाट फेरि देशभरका मालपोत कार्यालय बन्द भएका छन् । जसले गर्दा असारभन्दा साउनमा कारोबार कम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी सञ्जिव नेपालले जानकारी दिए ।

त्यस्तै, असारमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले कारोबार गरेको थियो । इनरुवाले असारमा कुल ४ हजार ३ सय ६१ कारोबार गरेको थियो । जसबाट २ हजार ४ सय ४३ लिखत पारित, ८ सय ८६ रोक्का र ७ सय ७ वटा फुकुवा गरेको छ । त्यस्तै,भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाले ३ हजार ९ सय ५७ वटा जग्गाको कार्य सम्पादन गरेको थियो ।

त्यस्तै, बेलवारी मोरङले ३ हजार ८ सय ३७, जनकपुरधाम, धनुषाले ३ हजार ७ सय ९५, लगनखेलले ३ हजार ५ सय २०, भक्तपुरले ३ हजार २ सय ३४ वटाको कारोबार गरेको छ । त्यस्तै सबैभन्दा कम कारोबार गरेकोमा गौर, चन्द्रनिगाहपुर रौतहट र दैलेख छन् भने १४ वटा मालपोत कार्यालयले कारोबार गरेको थिएन ।

नेपालभरको मालपोत कार्यालयले असारमा ४१ हजार ६ सय ५२ वटा लिखत पारित गरेको थियो भने १२ सय ६६ को नामसारी गरेको थियो ।

त्यसैगरी, २६ हजार २ सय ४६ वटा रोक्का, १६ हजार ६ सय ७ फुकुवा र २ हजार ४ सय ३२ को जग्गा संशोधन भएको थियो ।

त्यस्तै साउनमा सबैभन्दा बढी भद्रपुर झापाले कारोबार गरेको छ । जसमा साउन महिनामा भद्रपुरले कुल ४ हजार २ सय ६६ गरेकोमा १ हजार ५ सय ९५ लिखत पारित, रोक्का १ हजार १ सय ४१ र फुकुवा १ हजार ५९ वटाको गरेको छ ।

वेलवारी मोरङले ३ हजार २ सय २, भक्तपुरले २ हजार ९ सय ९५, ललितपुरले २ हजार ७ सय ७१, काभ्रेले २ हजार ७ सय १६ वटाको कारोबार गरेको छ ।

साउनमा जम्मा लिखत पारित ३७ हजार ९ सय ७० गरेको छ भने १ हजार ७ सय १९ ले नामसारी गरेको छ । त्यस्तै नेपालभरका मालपोत कार्यलयले २६ हजार २ सय ९ को रोक्का र १९ हजार २ सय १ फुकुवा गरेको छ । साथै, २ हजार ६ सय ५८ को संशोधन गरेको छ । साउन महिनामा पनि १३ वटा मालपोत कार्यलयले कारोबार गर्न सकेको छैन ।

दुई अर्ब राजस्व संकलन
सरकारले गत साउन ६ बाट लकडाउन खुकुलो गरेता पनि असारको तुलनामा केही मात्राले कमी आएको छ । तर, कोरोनाको संक्रमण बढेसँगै सरकारले गत २४ गतेबाट मालपात कार्यालय बन्द गरेको छ ।

यस अवधिमा पनि सरकारले देशभरका मालपोत कार्यलयबाट सरकारले २ अर्ब ७३ करोड ३० लाख राजस्व संकलन गरेको छ । जसमा सेवा करबापत २० करोड २५ लाख, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ५७ करोड ४३ लाख र पूँजीगत लाभ करबापत ६१ करोड ५८ लाख सरकारले राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय डिल्लीबजारले २४ करोड ५८ लाख राजस्व संकलन गरेको छ । त्यस्तै, लगनखेलले १९ करोड ८९ लाख, कलंकीले १९ करोड १३ लाख, भक्तपुरले १५ करोड १२ लाख र चावहिलले १४ करोड ८८ लाख राजस्व संकलन गरेको छ ।

सञ्चालनमा आउन नसकेको मालपोत कार्यालय 
विभिन्न जिल्लामा रहेको १ सय २० मालपोत कार्यलयमध्ये अझै १३ वटा मालपोत कार्यलयले साउन महिनामा कुनै पनि कारोबार गरेको छैन् । जसमा मालपोत कार्यलय दिङ्ला-भोजपुर, खोटाङबजार-खोटाङ, बलरा-सर्लाही, मौलापुर-रौतहट, मनाङ, रुकुम (पूर्व, पश्चिम), डोल्पा, मुगु, हुम्ला, झोताभैरव- बझाङ, बाजुरा, अछाम छन् ।

यी कारोबार नभएको जिल्लाहरूमा लकडाउनको कारण सञ्चालनमा नआएको विभागका सूचना अधिकारी नेपालले जानकारी दिए । साथै, कुनै जिल्लामा कारोबार नभएका कारणले पनि कुनै तथ्याङ्क उपलब्ध नभएको उनले बताए ।


क्लिकमान्डु