घर र गाडी किन्न सस्तो ब्याजदरमै कर्जा दिन बैंकहरुको प्रतिस्पर्धाः कुन बैंकको कस्तो स्किम ?



काठमाडौं । केही दिनअघि एनआईसी एशिया बैंकले सस्तो ब्याजदरमा ऋण दिने स्किम ल्यायो । एनआइसी एशियाले शुरु गरेपछि सस्तो व्याजदरमा ऋण दिने स्किमको बाढी नै चल्यो ।

यतिबेला कस्ले सस्तो, सुलभ र छिटो ऋण दिने भनेर बैंकहरुबीच तीब्र प्रतिस्पर्धा छ ।

लकडाउनको ४ महिनामा कर्जाको माग सुस्ताएपछि बैंकहरुमा लगानी योग्य रकम थुप्रिएको छ । जसकारण लकडाउन सकिएसँगै लगानी बढाउन बैंकहरु नयाँ रणनीति अपनाउँदै सस्तो र सहजै कर्जा दिने योजना सार्वजनिक गरिरहेका छन् ।

असार मसान्तसम्म वाणिज्य बैंकहरुमा मात्र ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छन् । तर यो अवधिमा बैंकहरुको कर्जा लगानीभने २९ खर्ब ३ अर्ब रुपैयाँ मात्र छ । राष्ट्र बैंककाअनुसार अहिले बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँ अधिक तरलता छ ।

निक्षेप संकलन अनुसारको कर्जा लगानी बढ्न नसक्दा बैंकको खर्च भने बढिरहेको हुन्छ । निक्षेपकर्तालाई ब्याज दिनै भएपनि बैंकले संकलित प्राप्त रकममा केही मार्जिन राखेर कर्जा लगानी गर्नुपर्छ ।

कर्जाको माग नहुँदा आम्दानी घट्दै जाने तर खर्चमात्र बढ्दा नाफामा प्रतिकुल असर पर्छ । यसको न्यूनिकरणमा बैंकहरुले कर्जाको ब्याजदर घटाएरै भए पनि कर्जा विस्तार रणनीति अपनाएका हुन् ।

सरकारले कोरोना भाइसरको रोकथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेबाट साउन ६ गतेसम्म लकडाउन गरेको थियो । असार १ गतेबाट क्रमिक रुपमा लकडाउन खुकुलो भएर अर्थत्रतन्त्र सोहीअनुसार चलायमान भइरहेको छ ।

तर हालसम्म बैंकहरुमा नयाँ कर्जामा ठुलो परियोजनामा भने माग बढेको छैन ।

ठुला परियोजनामा कर्जाको माग नभएपछि बैंकहरुले खुद्रा कर्जामा लगानी बढाउन तर्फ लागेका छन् । समयको आवश्यकताअनुसार बैंकहरुले सवारी, घर/जग्गा र एसएमई क्षेत्रमा कर्जाको आर्कषक योजनाहरु सार्वजनिक गरिरहेका हुन् ।

सरकारले लकडाउन खुल्ला गरेपनि कोरोना भाइरसको संक्रमणको भय भने आम जनतामा छ । जसकारण सार्वजनिक यातायातमाभन्दा क्षमता अनुसारको निजी सवारी खरिद गर्ने सोचमा प्रायः मानिस छन् । यसैबीच विभिन्न अटोमोबाइल्स कम्पनीहरुले सवारी खरीदमा विभिन्न आर्कषक योजनाहरु समेत ल्याइरहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले पनि ब्याजदर घटाएर अझ घटेको कर्जामा पनि विभिन्न प्रकारका आर्कषक योजना ल्याएर फिक्स ब्याजदरमा सवारी साधन तथा घर कर्जा योजना ल्याउन थालेका हुन् ।

यसरी कर्जामा सस्तो ब्याजदर र सरल प्रक्रियाका योजना सार्वजनिक गर्ने बैंकहरुमा हालसम्म सानिमा बैंक, एनआइसी एशीया, ग्लोबल आइएमई बैंक, नबिल, सनराईज, स्ट्याण्डर्ट चार्टर्ड र एभरेष्ट बैंक हुन् ।

यी बाहेक केही विकास बैंकहरुले पनि नयाँ कर्जाका ग्राहकलाई विभिन्न प्रकारका सुविधा सहितका सहुलियत योजना सार्वजनिक गरिरहेका छन् । जसमा प्राय बैंकहरुले हायर पर्चेज, घर जग्गा र एसएमई कर्जालाई प्राथमिकतामा राखेका छन् ।

अहिलेको आवश्यकता भनेको नै एसएमई क्षेत्रमा लगानी र कोरोना संक्रमणबाट सुरक्षित हुनको लागि निजी सवारीको हो । यस्तो परिस्थीतिमा केही बैंकहरुले सवारी कर्जामा न्यून र फिक्स ब्याजदर योजना ल्याउँदा अन्य बैंकहरुको ऋण समेत स्वाप हुन हुने देखिन्छ ।

सर्वसाधारणको आवश्यकता र बजारको स्थितिलाई अन्य बैंकहरुले पनि यस्ता प्रकारको कर्जाको ब्याजदरमा सुविधाजनक योजना नल्याएमा ऋण स्वाप हुने जानकारहरु बताउँछन् ।

अहिलेको परिस्थिति सामान्य हुने हो भने सीमित बैंकहरुको मात्र कर्जाको ब्याजदर घट्दा बैंक अन्य बैंकहरुको ऋण स्वाप हुने समस्याले विकराल अवस्था सिर्जना हुन्थ्यो ।

तर कोरोना भाइसरको संक्रमणको जोखिम सामान्य भइनसकेको हुँदा आर्थिक गतिविधि सुस्नै नै छ । जसकारण तत्काल बैंकबाट कर्जा लिएर नयाँ परियोजनामा लगानी गर्न वा घर, सवारी खरिद गर्ने स्थितिमा मानिस छन् । जसकारण आर्कषक कर्जा योजनामा पनि बैंकमा थुप्रिएको पैसा बजारमा चलायमान हुनसक्ने भने खासै देखिँदैन ।

तर केही बैंकहरुले सार्वजनिक गरेका यस्ता सस्सो कर्जा योजनामा आफ्ना ग्राहक अन्य बैंकमा जान्छन् भन्ने भय भने छ । त्यसैले ग्राहकलाई अरु बैंकमा जान नदिन यस प्रकारका कर्जा योजना ल्याउन बैंकहरुले प्रतिस्प्रर्धा गर्ने क्रम बढेको हो ।

कुन बैंकमा सस्तो कर्जा ?

एनआइसी एशिया बैंक: एनआइसी एशिया बैंकले जेठ महिनामा बेसरेट घटाएर बेसरेटभन्दा केही बढी मार्जिन लिएर सवारी तथा घर जग्गा कर्जा योजना ल्याएको छ । बैंकले जेठ महिनामा घटाएको बेसरेटमा झिनो मार्जिन राखेर असारको दोस्रो सातामा ८.२५ प्रतिशत ब्याजदरमा घर र गाडी कर्जाको योजना ल्याएको हो ।

सुपर चमत्कारी योजना भन्दै बैंकले एक वर्षसम्म कर्जाको ब्याज नबढ्ने गरी बेसरेटभन्दा ०.०३ प्रतिशत बढी र सेवा शूल्क ०.२५ प्रतिशतमात्र लिने घोषणा गर्दै घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिदआदिका लागि कर्जा योजना ल्याएको छ । बैंकले यो योजना न्यूनतम ५ वर्षदेखि १० वर्षसम्मका लागि ल्याएको जनाएको छ ।

सानिमा बैंक: केही समयअघि सानिमा बैंकले १० वर्षको लागि सवारी कर्जा एकल अंकको ब्याजदरमा १ वर्षसम्म नबढ्ने गरी योजना सार्वजनिक गरेको छ । बैंकले बेसरेटभन्दा १.४७ प्रतिशत बढीमा ९.९९ प्रतिशतमा १ प्रतिशत सेवा शूल्क लिएर सवारी कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

बैंककाअनुसार सवारी कर्जालाई प्रोत्साहन गर्नका लागि १ वर्षसम्म ब्याजदर नबढ्ने गरी कर्जा योजना ल्याएको हो । हाल सवारी कर्जा योजनामात्र ल्याएको र केही समयमा नै घर कर्जा योजना पनि न्यून ब्याजदरमा ल्याउने तयारी गरेको बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमइ बैंक

कर्जाको प्रक्रिया पुरा भएका ऋणीलाई बैंकले ३ दिनमै सस्तो ब्याजरमा कर्जा योजना ल्याइसकेको छ । बैंकले सो योजनामा रहेको ९.९९ प्रतिशत ब्याजदरमा १५ वर्षसम्मको लागि १ करोड ५० लाख रुपैयाँसम्म घर कर्जा दिने जनाएको छ ।

सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने, खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले योजना ल्याएको हो । घर कर्जा आवेदन प्रक्रिया पूरा भएको ३ कार्य दिनभित्र कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

सनराइज बैंक

सनराइज बैंकले सस्तो ब्याजदरमा २४ घण्टामै १ करोड रुपैयाँ एसएमई कर्जा दिने घोषणा गरेको छ । बैंकले ‘साइज सरल एस.एम.ई कर्जा’ नामक कर्जा ९.९५५ वार्षिक ब्याज दरमा दिने भएको हो ।

उक्त योजना अन्र्तगत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । जसअन्र्तगत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

त्यो भन्दा पनि अघि बढेर सनराइजले ८.९५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । योजनामा सहभागी हुनेले घर बनाउने तथा घर किन्न सक्नेछन् । यो योजना अन्तर्गत ४० वर्षमा ऋण तिर्दा हुने सुविधा पाइने छ ।

यस्तै सनराइज बैंकले सेयरधितोमा ९.९५ प्रतिशत ब्याजदरमा ऋण दिने योजनाा ल्याएको छ । सनराइज बैंकको सबै शाखा कार्यालयबाट ऋण लिन सकिने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक

 

एभरेष्ट बैंकले सस्तो कर्जा योजना ल्याएको छ । ‘चाडपर्व विशेष कर्जा योजना’ नामक सो योजना बैंकले ३ महिनाको लागि ल्याएको हो । जसमा बैंकले सस्तो घर कर्जा, साना तथा मझौला उद्योग कर्जा, सावारी कर्जा तथा व्यक्तिगत कर्जा योजना समावेश छन् ।

साउन १५ गतेदेखि कात्तिक १४ गतेसम्म लागु हुने सो कर्जा योजनामा घर कर्जा ८.२५ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५ प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ । साथै चाडपर्व विशेष कर्जा योजनामा सेवा शूल्क समेत ०.५० प्रतिशत मात्र हुने बताउएको छ ।

नविल बैंक: 

नबिल बैंकले घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा विशेष छुट अफर ल्याएको छ । बैंकले ३६औं वार्षिकोत्सवको अवसरमा कर्जा विषेश छुट योजना सार्वजनिक गरेको हो ।

जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक: 

बैंकले घर जग्गा तथा सवारी खरिद गर्न चाहने ग्राहकको लागि सस्तो कर्जा योजना ल्याएको छ । बार्षिक ७.५९ प्रतिशत ब्याजदरमा १ वर्षको लागि घर/जग्गा तथा सवारी कर्जा योजना ल्याएको हो । जसमा बैंकले ०.७५ प्रतिशत सेवा शूल्क लिने जनाएको छ ।

बैंकले एक वर्षपछि भने बेसरेटमा २.२ प्रतिशत प्रिमियम जोड्ने जनाएको छ ।

हिमालयन बैंक:

हिमालयन बैंकले घर र गाडी किन्न चाहनेलाई ८.४९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । बैंकले विभिन्न प्रकारका योजना सार्वजनिक गरेको छ ।

 


पुष्प दुलाल