पुनरकर्जामा कोभिड प्रभावितलाई प्राथमिकतामा, ५ प्रतिशत ब्याजदरमा ५ करोड रुपैयाँसम्म कर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावितलाई प्राथमिकतामा राखेर पुनरकर्जा कार्यविधि लागू गरेको छ । कोभिडका कारण उच्च जोखिममा परेका ऋणको वर्गिकरण गरी मंगलबार केन्द्रिय बैंकले पुनकर्जा कार्यविधि, २०७७ लागू गरेको हो ।

कोरोनाबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशत ब्याजदरमा पुनरकर्जा उपलब्ध गराउनका सरकारले एक अर्ब रुपैयाँको पुनरकर्जा कोषको व्यवस्था गरेको छ । जसका लागि राष्ट्र बैंकले वर्गिकरण सहित कार्यविधि लागू गरेको हो ।

कोभिडले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप श्रोत आवश्यक पर्ने भएकोले पुनरकर्जा प्रयोजनको लागि प्राप्त हुने कुल श्रोत रकमको अधिकतम पाँच गुणासम्म बैंकले पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

पुनरकर्जा कार्यविधिअनुसार बैंकबाट आह्वान गरी इजाजतप्रत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने कर्जा ‍प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड रुपैयाँ तोकिएको छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी हुने छैन ।

यस्तै, बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन । साथै बैंकबाट आह्वान गरी लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंक तथा वित्त संस्थाले पुनरकर्जा सुविधा प्राप्त गर्ने ग्राहक ऋणीहरूको छनोट गर्दा न्यून आय भएका, व्यवसायमा स्थापित हुने प्रयासमा रहेका, सामाजिक, आर्थिक दृष्टिकोणबाट पछाडि परेका, महिला, दलित, आदिवासी, जनजाती, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, अल्पसंख्यक सीमान्तकृत, किसान र फरक ढङ्गले सक्षम व्यक्तिहरूबाट सञ्चालित उद्यम/व्यवसायलाई प्राथमिकता दिनुपर्नेछ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को लागि ग्राहक ऋणीहरू छनोट गर्दा कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्राथमिकतामा राख्नुपर्नेछ ।


लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि राष्ट्र बैंकले २ प्रतिशत बैंकहरुलाई दिने छ भने बैंकहरुले कर्जालिनेलाई ५ प्रतिशतमा पुनकर्जा दिने छन् ।

विशेष पुनरकर्जा लिनेले बैंकबाट ३ प्रतिशतमा कर्जा पाउने छन् । त्यसको लागि १ प्रतिशत राष्ट्र बैंकले बैंकहरुलाई दिने छ । कर्जा लिनेले २ प्रतिशत तिरे पुग्ने छ ।
यस्तै साधारण पुनकर्जाको ब्याजदर ५ प्रतिशत रहेको छ । त्यसको लगि राष्ट्र बैंकले ३ प्रतिशत राष्ट्र बैंकले व्यवहोर्ने छ ।

पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्रप्राप्त संस्थाले बैंकलाई तिर्नुपर्ने ब्याजदर र सम्बन्धित ग्राहक/ऋणीहरूबाट लिने ब्याजदर बैंकले समय समयमा तोके बमोजिम हुनेछ ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पुनरकर्जालाई ३ प्रकारमा विभाजन गरेको छ । जसमा लघु, घरेलु तथा साना उद्यम रहेको छ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाख रुपैयाँसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटना अघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाख रुपैयाँ सम्मका कर्जाहरू, प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू रहेका छन् ।

यस्तै वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्री वितरणलाई मात्रै योग्य कर्जा मानिने छ ।

यस्तै विशेष पुनरकर्जाका सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएका कर्जाहरु, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जाहरु , कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जाहरुलाई योग्य मानिने छ ।

यता साधारण पुनरकर्जाका लागि जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगमा प्रवाह भएका कर्जाहरू रहेका छन् ।

यस्तै पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्न प्रदान गरिएका कर्जाहरूलाई योग्य मनिने छ ।

कोरोना लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले लिएका कर्जाहरूलाई साधारण कर्जाको रुपमा योग्य मानिने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु