कोरोना असरबारे राष्ट्र बैंकले शुरु गर्यो डिजिटल सर्भेक्षण



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरको डिजिटल सर्भेक्षण शुरु गरेको छ । हालको बन्दाबन्दीले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव विश्लेषणका लागि अनलाइन सर्वेक्षण शुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘कुल ग्राहस्थका सम्बन्धित क्षेत्रमध्ये सार्वजनिक प्रशासनबाहेक सबै क्षेत्रमा अनलाइन सर्भेक्षण शुरु गरिएको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘प्राप्त सर्भेक्षणबाट वैज्ञानिक तथ्य उपलब्ध भएमा केन्द्रीय तथ्यांक विभागको पछिल्लो सर्भेक्षणको तथ्यांकलाई परिमार्जन गर्न सुझाव समेत दिन सकिन्छ ।’

कृषि, पशुपंक्षी, पर्यटन, होटल रेष्टुराँ, मनोरञ्जन, निर्माणलगायतका निजी क्षेत्रका सम्पूर्ण उद्योग व्यवसायको डिजिटल सर्भेक्षण गरिने उनले जानकारी दिए । जुन राष्ट्र बैंकको वेवसाइटमा कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षणमा क्लिक गरेर त्यहाँ राखिएको फारम भर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले यही साताबाट शुरु गरेको अनलाइन सर्भेक्षण पहिलो डिजिटल सर्भे हो । जसमा उद्योग, व्यापार/व्यवसायको बारेमा विस्तृत विवरण, बन्दाबन्दीले पारेको असर, लकडाउन खुलेको कति समयमा पुरानो अवस्थामा व्यवसाय पुग्न सक्छ र सो अवस्था सबैभन्दा बढी सम्बन्धीत निकायबाट आवश्यक पर्ने सहयोग के हो ? जस्ता प्रश्नको जवाफ सर्भेमा सहभागी हुनेले उल्लेख गर्नुपर्ने हुन्छ । जुन तथ्यांक ऐन, २०१५ अनुसार गोप्य रहने राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाको कारणले कुल क्षेत्रमा कस्तो असर परेको छ भने विभिन्न निकाय क्षेत्रले आ–आफ्नै तबरले विश्लेषण गरिरहेका छन् । केन्द्रीय तथ्यांक विभागले २.२८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण समेत गरिसकेको छ । राष्ट्र बैंकले कोरोनाको असर अध्ययनलाई वैज्ञानिक र व्यवस्थित बनाउन यो सर्भेक्षण शुरु गरेको जनाएको छ ।

‘कोरोनाको असर लामो समय नहला भन्ने थियो तर यसको असर लम्बिँदै गएपछि यो सर्भे शुरु गरिएको हो,’ भट्टले भने ‘यो सर्भेलाई तीव्र बनाएर मौद्रिक नीति अगाडि पूरा गछौँ ।’

यसले मौद्रिक नीति तर्जुमा गर्न सर्भेबाट आधार तयार हुने उनको भनाइ छ ।

अहिले गरिएको डिजिटल सर्भे खुला सर्भे भएको हुँदा यसबाट वास्तविक कोरोनाबाट असर परेको तथ्यांक प्राप्त हुने भट्टको विश्वास छ ।

‘यसअघिका सर्भेहरु विद्यालयका शिक्षकहरुलाई जिम्मा दिइन्थ्यो, यो खुला भएको हुँदा आफै सर्भेमा सहभागी हुन आउने भएकाले वास्तविक तथ्यांक आउने सम्भावना बढी हुन्छ,’ उनले भने ‘यो सर्भेबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा संलग्न भएका सरोकारवाला प्रतिक्रिया प्रत्यक्ष रुपमा प्राप्त हुन्छ ।’

राष्ट्र बैंकको सबै प्रदेशमार्फत् त्यस क्षेत्रका उद्योगी व्यवसायी तथा सम्पूर्ण सरोकारवालालाई सर्भेमा सहभागी गराइएको उनले बताए ।

राष्ट्र बैंकले यसअघि नै केन्द्रीय तथ्यांक विभागको सर्भेलाई आधार मानेर अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँ नोक्सान हुने अनुमान गरिसकेको छ ।


क्लिकमान्डु