निर्यातमुखी उद्योग व्यवसायलाई शुन्य प्रतिशत ब्याजमा पुनरकर्जा प्रदान गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको ब्याजदर घटाउने भएको छ । पुनरकर्जा कार्याविधिलाई संशोधन गर्दै यसको ब्याजदर घटाउने तयारी राष्ट्र बैंकले गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै विभिन्न सार्वजनिक छलफल तथा बैठकमार्फत पुनरकर्जाको दायरालाई घटाउने बताइसकेका छन् । उनले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हाल भइरहेको ५० करोड रुपैयाँसम्मको दायरालाई घटाएर १० करोड रुपैयाँ बनाउने बताएका हुन् ।
पुनरकर्जाको दायरा घटाउनुको साथै कर्जा प्रकार अनुसार ब्याजदरमा पनि केही हेरफेर हुने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
‘साना तथा मझौला उद्योग व्यवसायले यसको लाभ लिन सकुन भन्ने उदेश्यले यस्तो व्यवस्था गर्न लागिएको हो,’ उनले क्लिकमाण्डूसँग भने ‘बैंकबाट ठुला व्यवसायीहरुले लिने पुनरकर्जाको दायरा र ब्याजदर घटाउँदा आवश्यक पर्ने अरु साना व्यवसायीहरुले पनि पुनरकर्जाको उपयोग गर्न सक्छन् ।’ राष्ट्र बैंकले बिषेश पुनरकर्जा मार्फत प्रदान गर्ने निर्यातमुखी उद्योग व्यवसायका लागि प्रवाहित पुनरकर्जाको ब्याजदर घट्नसक्ने उनको भनाई छ ।
‘पुनरकर्जाको ब्याजदर घट्दा साधारण, बिशेष र एमएमईको नै ब्याजदर घट्छ, तर बिषेश पुनरकर्जाको ब्याजदरमा भने अन्यको तुलनामा केही धेरै हुने सम्भावना छ’– भट्टले भने ।
हालसम्म विशष पुनरकर्जा अन्तर्गतको निर्यातमूखी व्यवसाय र उद्योगहरुलाई राष्ट्र बैंकले १ प्रतिशतबाट पुनरकर्जा लिएर बैंकहरुले व्यवसायीहरुलाई ३ प्रतिशतमा प्रदान गरिरहेका छन् ।
निर्यातमुखी व्यवसायको लागि नेपाल राष्ट्र बैंकले शुन्य प्रतिशत ब्याजदरमा नै पुनकर्जा उपलब्ध गराउने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
‘निर्यात जन्य उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने उदेश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्ने भएको हो,’ उनले क्लिमाण्डूसँग भने ‘यस प्रकारको उद्योग व्यवसाय फस्टाउन सकेमा मुलुकको अर्थतन्त्र विकासको लागि ठुलो राहत हुन्छ ।’ कार्यविधि संशोधन गरी निर्यातमुखी व्यवसायको लागि शुन्य प्रतिशतमा नै पुनकर्जा उपलब्ध गराएर बैंकहरुलाई पनि शुन्य प्रतिशत ब्याजदरमा नै व्यवसायीहरुलाई प्रदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको ती अधिकारीले जानकारी दिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले यस प्रकारको पुनरकर्जा ऋणीहरुले दिएको कर्जाको निवेदनको आधारमा यसअधि राष्ट्र बैंकबाट बैंकहरुले साधारण पुनरकर्जा ३ प्रतिशतमा लिएर ७ प्रतिशतमा व्यवसायीलाई प्रवाह गर्ने गरेका थिए । यसलाई पनि राष्ट्र बैंकले २ प्रतिशमा बैंकलाई र व्यवसायीले बैंकबाट ५ प्रतिशतमा कर्जा लिन पाउने व्यवस्था गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।
यस्तै, पुनरकर्जाको वितरण प्रणालीलाई पनि संसोधन गरी नयाँ वितरण प्रणाली लागु हुने राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।
‘हालसम्म बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट पुनरकर्जा प्रदान गर्ने र हरेक फाइल राष्ट्र बैंकमा लैजानुपर्ने व्यवस्थामा परिवर्तन हुन्छ,’ उनले भने, ‘अब बैंकहरूलाई राष्ट्र बैंकले एकमुष्ट उपलब्ध गराउने र बैंकहरूले नै फाइल हेरेर लगानी गर्नसक्ने गरी कार्यविधि संशोधन हुन्छ ।’ अहिले हरेक पुनर्कर्जाको फाइल राष्ट्र बैंक हेर्ने गरेको उनले बताए ।