प्रत्येक निजी विद्यालयले कम्तीमा एउटा सामूदायिक विद्यालय सुधारको जिम्मेवारी लिनुपर्ने




काठमाडौं । सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि निजी विद्यालयलाई जिम्मेवारी दिइने भएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आगामी वर्षको बजेटमा निजी विद्यालयले कम्तीमा एउटा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ ।

यसका लागि शैक्षिक पूर्वाधारको समेत जिम्मेवारी निजी विद्यालयले लिनुपर्नेछ । उनका अनुसार माध्यमिक तहसम्म अध्यापन गराउने प्रत्येक निजी विद्यालयले कम्तीमा एउटा सामूदायिक विद्यालयको जिम्मेवारी लिनुपर्नेछ ।

त्यसैगरी बजेटमा आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने उल्लेख छ । शिक्षामा नविनतम प्रविधिको प्रयोग गरी गुणस्तरीय शिक्षा र आधारभूत तहसम्म सबैको पुहँच पुर्याइने उल्लेख छ ।

त्यस्तै, साक्षर हुन बाँकी रहेका २४ जिल्लालाई साक्षर बनाइ साक्षर नेपाल घोषणा गरिनेछ भने हालसम्म ६०७ स्थानीय तहमा भएकोमा आगामी वर्ष सबै स्थानीय तहमा प्राविधिक शिक्षा अध्यापन गराइने उल्लेख छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिनेछ । कोरोनाका कारण अबरुद्ध भएको पढन पाठनका लागि भर्चुअल कक्षा, रेडियोमार्फत कक्षा सञ्चालन गरिने उल्लेख छ ।

आगामी वर्ष १ हजार ८०० विद्यालय भवन र ३८ विश्वविद्यालय भवन पुर्नसंरचना गरिनेछ । कम्प्युटर ल्याव स्थापना गरिनेछ । छात्रवृत्तिका लागि ६ लाखलाई २ अर्ब ७० करोड बिनियोजन गरिएको छ ।

कक्षा ५ सम्मको दिवाखाजा अब सबै जिल्लामा विस्तार गरिनेछ भने यसका लागि ७ अर्ब ५२ करोड रुपैयाँ बिनियोजन गरिएको छ । यस कार्यक्रमबाट २८ लाख विद्यार्थीहरु लाभान्वित हुनेछ ।


क्लिकमान्डु