महामारी पछिको अर्थतन्त्रका लागि तयार रहौं: नीरव पुडासैनीकाे लेख



वैश्विक अर्थतन्त्रको आँकलन गर्न वा त्यसको बाँछिटाको प्रभाव नेपाली अर्थव्यवस्था तथा अर्थराजनीतिमा (तथापि अर्थराजनीतिको राम्रो अध्ययन नभएता पनि) कस्तो असर पर्छ ? भनेर पूर्वानुमान गर्न सक्ने स्थिती अहिले छैन ।

तथापि विश्वका सम्पूर्ण पुँजीबजारका सूचकहरु तथा परिसूचकहरु दिनानुदिन नकारात्मक सर्किटसहित कारोबार गरिरहेका छन् । अर्थतन्त्रमा ठूलो हिस्सा तथा योगदान दिइरहेको वस्तुबजारका सबैजसो सूचकहरुको अवस्था पनि उस्तै छ । तर स्मरण रहोस सुरक्षित लगानीको साधनको रुपमा रहेको सुन, चाँदीलगायतका धातुहरुले आफ्नो धर्म यथावत निभाइरहेका छन् ।

विश्व अभाव, अन्योल र संत्रासको यस स्थितीमा विश्व अर्थ व्यवस्थामा प्रत्यक्ष प्रभाव पार्ने रोजागारीका दरहरु क्रमिक रुपमा घट्दै जानेछन् भन्दा अन्यथा नहोला । अस्थायी कर्मचारी कटौती शुरु भइरहेको समाचारहरु क्रमिक रुपमा आउन थालिसकेका छन् ।
औद्योगिक कच्चा पदार्थ जस्तै, कच्चा तेल, कोइला, फलाम आदिको भाउ घटिरहेको छ ।

तर अमेरिकी डलरको उच्च वृद्धिले गर्दा नेपाल लगायतका देशहरुलाई सहज छैन भन्ने अनुमान लगाउन सकिन्छ ।

‘अनिकालमा बिऊ जोगाउन, हुलमुलमा जिऊ जोगाउनु’ भन्ने आहानलाई आत्मसाथ गर्नु अहिलेको टड्कारो आवश्यकता भएको छ । सरकारले जसरी हुलमुललाई निस्तेज गर्न विकेकपूर्ण निर्णयहरु एकपछि अर्को गरेर लिइरहेको छ । त्यसरी नै भविष्यमा अर्थतन्त्रमा आउन सक्ने अभिसम्भाव्य परिणामहरुको आँकलन गरेर सही संशोधनात्मक उपायहरु लिनेछ भन्ने विश्वास आम जनताले लिनुको विकल्प अहिले छैन ।

अर्थतन्त्रमा आउन सक्ने नकारात्मक प्रभावालाई विषम परिस्थितीको गलत फाइदा उठाएर कमाएको धनको अर्थ केही रहन्न भनेर सबैले हेक्का राख्नु जरुरी हुन्छ । तसर्थ कस्तो बजार उन्मुख व्यापार गरिएको छ भने आजबाटै छाड्नु होस् ।

यसै लेखमार्फत म सबैलाई न्यूनतम मानवीय संवेदना देखाउन अपिल गर्छु । ओईसीडीको भनाइलाई आधार मान्ने हो भने संसारलाई वा भनौ अर्थतन्त्रलाई यस महामारीको प्रभावबाट बाहिर आउन कम्तीमा पनि एक वर्ष लाग्छ ।

तर हेक्का के राखौं भने यो प्रक्षेपण “यो भनाइ राखेको समयको भन्दा खराब भएन भने” भन्ने हो । अन्यथा त्यो भन्दा बढी समय लाग्ने वा अर्थव्यवस्था तहसनहस हुने कुरा अभिसम्भाव्य छ ।

तसर्थ बदनियतपूर्वक कमाएको धनको कुनै औचित्य हुन्न भन्ने कुरालाई आत्मसाथ गर्दै आफ्नो व्यवसाय गर्नुको विकल्प छेन । त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषणले पनि विश्व आर्थिक मन्दी आउने कुरालाई निश्चितता गरिसकेको छ ।

तर यसको साथै उसले यो पनि भनेको छ कि जति छिटो यो महामारी अन्त्य हुन्छ त्यति छिटो विश्व अर्थतन्त्रले गति लिन्छ । आशा गर्ने आधार यो पनि हो तर हरेक क्षेत्रमा आत्मनिर्भर हाम्रो अर्थतन्त्रलाई भने त्यत्ति सहज नहोला ।

चलायमान अर्थतन्त्रका लागि रोजगारी प्रमुख मेरुदण्ड हो । तसर्थ रोजगारी सिर्जना गर्ने तथा विभिन्न सुरक्षित रोजगारीको चिन्तन र भविष्यमा लागू गराउनका लागि सरकारले तयार हुनु जरुरी छ ।
महामारीसँग लड्ने योजनासँगै भविष्यका लागि यस्तो कुरामा पनि सोच्नु जरुरी छ । संगठनात्मक पेन्सन कार्यक्रमहरुलाई (जति देशमा छन्) जति सक्दो छुटको व्यवस्था गरियोस ।

साथै नयाँ पेन्सन योजनाहरुको पनि शुरुवात गरियोस । कामको क्षेत्र अनुरुपको योजनाहरु विकास गर्न सक्नुपर्छ । निम्न आय क्षेत्र र उच्च आय क्षेत्रको एकै किसिमको पेन्सन योजनाको कुनै तुक छैन ।
साथै यसका दायराहरु बढाउन जरुरी देखिन्छ । वार्षिक २० हजारको प्रिमियममा कर छुटको व्यवस्था बाहियात तथा अव्यवहारिक छ । तसर्थ यसलाई कम्तीमा पनि ५० लाखको बीमा योजनामा जति प्रिमियम लाग्छ त्यो सीमासम्मको कर छुटको व्यवस्था गर्नुपर्छ ।

व्यक्तिको हकमा सीमा कम गर्न सकिन्छ । हुन त महामारीमा यस्ता कुरा किन सोच्ने भन्ने प्रश्न आउँछ । तर महामारीपछिको आर्थिक समस्याबाट पार गर्न यस्ता कुराहरुको पनि चिन्तन गर्न जरुरी हुन्छ । साथै अन्य धेरै योजनाहरु जस्तै स्वास्थ्य बीमा योजना, बाल शिक्षा पेन्सन योजना आदि । हामीले विश्वको अत्यन्त राम्रो रोजगारी पेन्सन योजना भएका तीन मुलुक नेदरल्याण्ड, डेनमार्क तथा अष्ट्रेलियाबाट धेरै कुरा सिकेर आफूले गर्न सक्ने योजनालाई लागू गराउने प्रयास गर्नुपर्छ ।

महामारीपछिको अर्थतन्त्रलाई चलायमान गर्न यस्तो योजनाहरु प्रभावकारी हुन्छन् । हाम्रो अर्थतन्त्रको आकार तथा जनसंख्याको आकारका कारण अन्य देशलाई भन्दा केही सहज छ भन्दा अन्यथा हुँदैन ।

यस महामारीलाई मानव जातिले पक्कै पनि जित्नेछ । त्यसकारण त्यसपछि उत्पन्न हुने आर्थिक तथा सामाजिक प्रभावलाई सहज बनाउन विश्वका धेरै राष्ट्रहरुले एकपछि अर्को आर्थिक प्याकेजहरु ल्याइ रहेका छन् ।

हामीले पनि त्यसतर्फ सोच्न ढिला गर्नु हुन्न । यस विषम परिस्थितको कारण उत्पन्न नैराश्यतालाई चिर्न पनि आर्थिक प्याकेजका घोषणाहरु गर्न नेपालले ढिला गर्नु हुन्न ।

अन्यथा पूँजी पलायनको मारमा नेपाल महामारी पछि शतप्रतिशत पर्छ भन्ने आँकलन गर्न धेरै अर्थतन्त्र बुझ्न जरुरी छैन । रोजगारी सृजना गर्ने निजी क्षेत्रको सुधारका लागि आर्थिक सुधार तथा प्याकेजको घोषणा गर्न ढिला नगरौं ।


पुष्प दुलाल