सामाजिक सञ्जाल होइड्रोजन बम भयो, अब दर्ता नगरी चलाउन पाइँदैन: सञ्चारमन्त्री बास्कोटा



काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताएका छन् ।

आइतबार विकास समितिको बैठकमा सूचना प्रविधि सम्बन्धि विधेयक उपर छलफलका क्रममा बास्कोटाले सामाजिक सञ्जालमार्फत् साइबर बुलिङ धेरै भएको भन्दै विधेयकको बचाउ गरेका थिए ।

‘सामाजिक सञ्जालमा आएका कुरा मेनस्ट्रिम मिडियाका विषय हुन सक्दैनन्, त्यसैले सामाजिक सञ्जाललाई जिम्मेवार बनाउनुपर्छ, कतिपय देशमा सामाजिक सञ्जाललाई हाइड्रोजन बम समेत बनेका छन्, नेपालमा त्यो हुनुहुँदैन्,’ उनले भने ।

लामो समयसम्म चलेको बैठकमा मन्त्री बास्कोटाले सामाजिक सञ्जाल दर्ता गर्न नभनेको तर सञ्चालनका लागि नेपालमा कम्पनी दर्ता गर्नुपर्ने बताए । उनले सामाजिक सञ्जालमा हुने खर्चमध्ये १० प्रतिशत रकम फेसबुकको बुस्टमार्फत् हुने भएकाले त्यसलाई कानूनी दायरमा ल्याइ राजस्व बढाउनु पर्ने बताए । उनले भारत, फ्रान्सलगायतका देशमा समेत सामाजिक सञ्जाल दर्ता भइ सञ्चालन भइरहेको बताए ।

विधयेकमा ४ जना सांसदले फरक मत राख्दै नोट अफ डिसेन्ट लेखेका थिए । त्यस्तै, ११ जनाले हात उठाएर विधेयकको समर्थन गरेका थिए ।

विधेयक बहुमतले पारित भएको छ ।

बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामालेले बिधेयकले जनताको मौलिक अधिकार कुण्ठित गरेको भन्दै विधेयकमा भएका बुँदा नम्बर ५०, ५२, ७८ र ९१ देखि ९४ नम्बरसम्मका बुँदा हटाउन माग गरेका थिए ।

नेपाली कांग्रेसकी सांसद रंगवती शाहीले विधेयकले सरकार विरोधमा बोल्न नपाउने व्यवस्था गरेको भन्दै बोल्न पाउने हो भने यसलाई हटाउनुपर्ने दाबी गरिन् । उनले लोकतन्त्रमा बोल्न पाउने अधिकारलाई विधेयकले कुण्ठित गरेको बताइन् ।


क्लिकमान्डु