गोकर्ण रिसोर्टको लिज २५ वर्ष थपियो, थप ६ ठाउँमा रिसोर्ट सञ्चालन गर्न दिने ट्रस्टको तयारी



काठमाडौं । नेपाल ट्रस्टको कार्यालयले गोकर्ण ट्रस्टको नाममा रहेको पोखराको हिमा गृह, दियालो बंगला, स्ट्यान्डर्ड बैंक भएको जग्गा र टेकुस्थित ट्रस्टको जग्गा र फर्पिङसहितका ६ वटा ठाउँमा लिज तथा रिसोर्ट निर्माणमा दिन लागेको हो ।

ट्रस्टका अनुसार ती सबै क्षेत्रबाट क वर्षमा ३५ देखि ४० करोड रुपैयाँ आम्दानी हुन्छ ।

त्यस्तै, ट्रस्टको स्वामित्व रहेको काठमाडौं प्लाजाले पहिले दिँदै आएको मासिक ६ लाख २५ हजार रुपैयाँमा सम्झौता भए बमोजिम सम्झौता सकिनु तीन महिना अघि ८ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरेको थियो ।

तर स्वतन्त्र मूल्यांकन गराउँदा ६० लाख रुपैयाँ आउने देखिए पछि ट्रस्टले त्यसका लागि समेत टेन्डरमा जाने निर्णय गरेको छ । साथै ट्रस्टले आगामी दिनमा लिजमा दिँदा नाफा बाँड्ने गरी सहमति गर्ने निर्णय गरेको छ ।

ट्रस्टका अनुसार पहिले चरणमा ५०/५० प्रतिशत, दोस्रो चरणमा ६०/४० प्रतिशत र तेस्रो चरणमा ७०/३० प्रतिशत अनुपातमा टेन्डर गरिनेछ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रस्टका सचिव गजेन्द्रकुमार ठाकुरले ट्रस्टको स्वामित्व रहेका कमलादीको २ रोपनी ४ आना, पूर्व राजा ज्ञानेन्द्र शाहको निर्मल निवास अगाडिको १ रोपनी ७ आना र लाजिम्पाटको ६ रोपनी जग्गा पनि लिजमा दिन लागिएको हो ।

ठाकुरले विवादित गोकर्ण रिसोर्टको जग्गाको लिज अवधि समेत २५ वर्ष थप गरिएको जानकारी दिए । उनले मन्त्रिपरिषद्को निर्णयबाट गोकर्ण रिसोर्टको लिज अवधि २५ वर्ष थप गरिएको हो ।

‘मन्त्रिपरिषद्को गत मंसिर २३ गतेको निर्णयले पुरानो लिज अवधि सकिने मितिले १५ दिन अगाडि सन् २०२५ अगस्टदेखि थप २५ वर्ष गरी सन् २०५० को अगस्ट महिनासम्म कायम गरिएको छ,’ सचिव ठाकुरले भने ।

लिज अवधि थप भएको २५ वर्षमा लिज भाडादरवापत अर्ब १ करोड ५१ लाख २ हजार १७० रुपैयाँ बुझाउनुपर्ने ट्रस्टको भनाइ छ ।

गोकर्ण फोरेस्ट रिसोर्ट सबैभन्दा पहिले एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले २०५२ साल साउन ३१ गते लिजमा लिएको थियो । तत्कालिन समयमा ३० वर्षका लागि ५० हजार डलरमा भाडा दिने सहमति भएको थियो ।

२०६४ सालमा नेपाल ट्रस्टको कार्यालय स्थापना भएपछि सोही कम्पनीसँग २०६७ बैशाख ५ गते पुरक सम्झौता भएको थियो । जसमा दुबै पक्षको सहमतिमा अवधि सकिनु अगावै लिज अवधि थप गर्न सक्ने प्रावधान राखिएको थियो ।

अहिले उक्त जग्गा २७ सय ९२ रोपनी ३ पैसा १ दाम क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ७०० रोपनी रिसोर्टले ओगटेको छ भने बाँकी जंगल छ । रिसोर्टले ओगटेका क्षेत्रफलमा १८ होलको गल्फ कोर्स, रिसोर्टमा १०० वटा बेडरुम, स्वीमिङ पुल र टेनिस कोर्ट छ ।

शुरुमा एलएम सुभिर ब्रदर्स कम्पनीमा विदेशी लगानी थियो भने २०६७ सालपछि सबै सेयर नेपाली पक्षले खरिद गरेको थियो ।

२०७५ फागुन १९ गते नेपाल ट्रस्ट ऐन, २०६४ को पहिलो संशोधनले सञ्चालक समितिको संरचना परिवर्तन गरी ७ सदस्यीय बनाएको थियो । जसमा नेपाल ट्रस्टको सम्पत्ति लिजमा लिएको पक्षलाई थप ममर्त र नयाँ संरचना निर्माण गर्न चाहेमा र सोबाट ट्रस्टलाई फाइदा पुगेमा ट्रस्ट सञ्चालक समितिको सिफारिसमा नेपाल सरकारले पुरानो लिज अवधिमा नबढ्ने गरी म्याद थप गर्न सकिने व्यवस्था थप गरेको थियो ।

जसको दफा ५ (३) (ख) मा अवधि तोकी लिजमा दिइएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पुँजी लगानी सहित विद्यमान संरचनालाई ममर्त सम्भार गरी सञ् चालन गर्न चाहेमा र सोबाट ट्रस्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनु अगावै समेत आवश्यकता अनुसार ट्रस्टको सिफारिसमा नेपाल सरकारले लिजको अवधि थप गर्न सक्ने उल्लेख छ ।

यस व्यवस्था अन्तर्गत रही एलएम सुभिर ब्रदर्स प्रालिले ५ वर्ष ८ महिना अवागै २९ करोड रुपैयाँ लगानी गरी ४८ वटा बेडरुम, ४०० जना अट्ने कन्फरेन्स हल निर्माण गर्ने र आवश्यक ममर्त सम्भार गर्ने गरी पुनः ३० वर्षको म्याद थप गर्न २०७६ बैशाख १० गते निवेदन दिएको थियो । ९२ करोड रुपैयाँ लगानी गर्ने गरी थप १२०० रोपनी जग्गा समेत माग र हाल प्रयोग गरेको मात्रै क्षेत्रमा २९ करोड रुपैयाँ लगानी गरी संरचना निर्माण गर्ने गरी प्रस्ताव गर्दै निवेदन दिएको थियो । उक्त निवेदन उपर नेपाल ट्रस्टले कारबाही अगाडि बढाएको थियो ।

जसमा नयाँ भाडादर उपर वर्तमानको वास्तविक मूल्यका आधारमा बजार मूल्य निकाल्न नेपाल चार्टर्ड अकाउन्ट संस्था आइक्यानलाई २०७६ साउन ६ गते अनुरोध गरिएको थियो । जसमा स्वतन्त्र मूल्यांकनकर्ताबाट गराउन अनुरोध भएको ट्रस्टको कार्यालयको दाबी छ ।

जसका लागि एस देवकोटा एन्ड कम्पनी छनोट भइ मूल्यांकन गराइएृको थियो । उक्त कम्पनीले एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले पेश गरेको लिज रकम ९४ लाख ७० हजार ३०८ अमेरिकी डलर कम भएको र फेयर मार्केट भ्यालू अनुसार १ करोड ७ लाख ९५ हजार ७३० अमेरिकी डलर हुने प्रतिवेदन बुझाएको थियो ।

उक्त रकम कम्पनीले पेश गरेको रकमभन्दा १३ लाख २५ हजार ४२३ अमेरिकी डलर हो । त्यसपनि उक्त कम्पनीले पुनः १ करोड ८ लाख २३ हजार २०५ अमेरिकी डलरको प्रस्ताव गरेको थियो ।

उक्त निर्णयमा पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल, गोकर्णेश्वर नगरपालिकाले पनि लिज अवधि थप गर्नका लागि समेत सकारात्मक राय दिएका थिए । साथै वातावरणीय प्रभावका विषयमा समेत मूल्यांकन गराइएको थियो ।

जसबाट नेपाल ट्रस्टलाई लिज भाडादर वापत १ अर्ब २२ करोड ३२ लाख ६४ हजार १६६ रुपैयाँ र लिज अवधिमा कर्पोरेट करवापत नेपाल सरकारलाई ३ अर्ब ९ करोड ६८ लाख २६ हजार ९२ रुपैयाँ गरी कुल ४ अर्ब ३२ करोड प्राप्त हुने देखिएको ट्रस्टको भनाइ छ ।

उक्त प्रस्ताव कम्पनीले कात्तिक २६ गतेको बैठकले सिफारिस गरेको थियो । जसलाई मन्त्रिपरिषद्को बैठकले पुस २३ गते स्वीकृति दिएको थियो ।


क्लिकमान्डु