फास्ट ट्रयाकमा सडकको निर्माणको काम अन्तिम चरणमा, सुरुङ र पुल निर्माण भने जटिल



काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ तराई मधेश द्रूत मार्गको सडक निर्माणको कामले गति लिएपछि सबैभन्दा जटिल मानिएको सुरुङ र पुल निर्माण प्रक्रियाले भने गति लिन सकेको छैन ।

सेनाले निर्माण व्यवसायी मार्फत विभिन्न ३० वटा प्याकेजमा सडक निर्माणको काम गरिरहेको भएपनि सुरुङ र पुलको भने परामर्शदाता छनोटको प्रक्रियामा नै रहेको छ । सो काम नै आयोजनाको सबैभन्दा जटिल काम हो ।

सो आयोजनामा ५२० मिटर लामा अग्ला पुल बनाउनुपर्नेछ । त्यसका लागि सेनासँग प्राविधिक दक्षता भने रहेको छैन । त्यस्तै साना ठूला गरी ८६ वटा पुल निर्माण गर्नुपर्नेछ ।

सेनाले सडक निर्माणको काममा गति दिएको भएपनि पुल र सुरुङ निर्माणमा गति पैदा नभए पछि आयोजना तोकिएको समयमा पूरा हुनेमा आशंका देखिउको छ । यद्यपी सेनाले आर्थिक वर्ष २०८०/८१ मा आयोजना निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।

आयोजना हेरिरहेका नेपाली सेनाका अधिकारी भने आयोजनाको समयसीमा तोक्नु भन्दा पनि काममा सबैको सहजीकरण भए तोकिएको समयमा सम्पन्न गर्न आफूहरुलाई कठिनाई नहुने बताउँदै आएका छन् ।

द्रुतमार्गको सबैभन्दा बढी खण्ड मकवानपुर जिल्लामा पर्ने तथा पुल र सुरुङ समेत सोही जिल्लामा बढी पर्ने भएकाले कामको गति समेत सो जिल्लामा कम देखिएको छ । सहज स्थानमा सेनाले सडक निर्माण सम्पन्न गरिरहेको छ । चालु आवको अन्तयसम्म सेनाले कूल ७२.५ किलोमिटर लामो सडक मध्ये ५५.५ किलोमिटर सडक कालोपत्र गर्न सक्ने अवस्थामा पुर्याउने बताएको छ ।

त्यसपछि आयोजनाको प्रमुख काम भनेको पुल र सुरुङ निर्माण रहनेछ । पुल र सडकका लागि हाल ६ वटा परामर्शदाता कम्पनीले प्रस्ताव गरेको सेनाले जनाएको छ ।

ती परामर्शदाताको सबै कागजातको परिक्षण गरेपछि आगामी फागुनसम्म आयोजनाका लागि योग्य परामर्शदाता छनोट गरिनेछ । सो परामर्शदाता कम्पनीले पुल र सुरुङ निर्माणको आवश्यक तयारी गर्नेछ । सोही तयारीका आधारमा ठेकेदार छनोटको प्रक्रिया अगाडि बढ्नेछ ।

परामर्श दिने कामका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको कोरियन कम्पनी सुसङलगायत चिनियाँ तथा जर्मनको कम्पनीले समेत आवेदन दिएको छ । उनीहरुको प्राविधिक पक्षको समग्र मूल्यांकन गरेपनि छनोट गरिने सेनाको भनाइ छ ।

सेनाले साना पुल भने आगामी भदौदेखि निर्माण सुरु गर्ने तयारी गरेको छ भने ठूला र अग्ला पुलको निर्माण भने आगामी वर्षको पुसदेखि मात्रै शुरु गर्ने तयारी गरेको छ ।

नेपालको विद्यमान खरीद कानून अनुसार १ अर्ब माथिको आयोजनामा अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने प्रावधान छ । सोही अनुसार नै ठेकेदार छनोट समेत अन्तर्राष्ट्रिय रुपमा नै गर्नुपर्नेछ ।

ठूला पुल र सुरुङ निर्माणको काम असाध्यै प्राविधिक विषय भएकाले पनि सहजीकरण गर्न सेनालाई केही कठिनाई भएको छ ।

आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा पुगेको छ ।

द्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

यस्तै धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ । यी सुरुङ दुई÷दुई वटाका दरले निर्माण गर्नुपर्ने भएकाले आयोजनामा मात्रै १३ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ ।

सेनाको कार्यसूची अनुसार परामर्शदाता छनोटको काम र ठेकेदार छनोटमा नै लामो समय लाग्ने र कागजी प्रक्रिया नै लामो भएकाले थप समय लाग्ने देखिएको छ ।

कूल ४ लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ ।

यस्तै अग्ला र धेरै स्पान भएका पूलको कूल लम्बाई नै १०. ५९ किलोमिटर हुनेछ ।

हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ । यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुनेछ । हाल कूल ३१ किलोमिटरको सडक निर्माणको काम करीब सम्पन्न भएको छ । कठिन भूबनोट तथा महाभारत पर्वतबाट तराईमा सकड लैजाँदा त्यसले पारेको प्रभाव पनि उस्तै जटिल रहेको सेनाको बुझाइ छ ।

सेनाले हालसम्म १ करोड ३५ लाख घनमिटर माटो ‘कटिङ’ गरेको छ भने भने १५ लाख घनमिटर माटो ‘फिलिङ’ गरेको छ ।

आयोजनाको कूल खण्डमध्ये ललितपुरमा ७.९ किलोमिटर, काठमाडौँमा ४ किलोमिटर, मकवानपुरमा ५३ किलोमिटर र बारामा ७.६ किलोमिटर पर्छ ।


क्लिकमान्डु