सीएनआईका पूर्वअध्यक्ष हरिभक्तको देउराली जनताको वार्षिक कारोबार २ अर्ब नाघ्यो
काठमाडौं । देशर्क ठूलोमध्येको एक देउराली जनता फार्मास्युटिकल्सले १ वर्षमा २ अर्ब बढीको व्यापार गरेको छ ।
सन् १९९१ मा ‘हाम्रो स्वास्थ्यभन्दा मूल्यवान् केही छैन’ भन्ने स्लोगनका साथ सुरु भएको कम्पनीको पहिलो पटक वार्षिक कारोबार २ अर्ब नाघेको हो ।
देउराली जनता फार्मास्युटिकल्सले पछिल्लो चार वर्षमा आफ्नो आम्दानी बढाउँदै लगेको देखिन्छ ।
यो कम्पनीले आर्थिक वर्ष २०२४ मा २ अर्ब २१ करोडको कारोबार गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ३४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको हो ।
सन् २०२३ मा १ अर्ब ८७ करोडको कारोबार गरेको कम्पनीले कम्पनीले सन् २०२२ मा १ अर्ब ७१ करोड, २०२१ मा १ अर्ब ४७ करोडको व्यापार गरेको थियो । सन् २०२० मा १ अर्ब २० करोडको रुपैयाँको व्यापार गरेको देउरालीले ४ वर्षमै १ अर्बभन्दा बढीको व्यापार गर्न सफल भएको हो ।
पछिल्ला दुई अर्थिक वर्षमा कम्पनीको प्रोफिट मार्जिन कूल कारोबारको २० प्रतिशत छ । हाल कम्पनीले ५३ करोड ४ लाख रुपैयाँ ऋण लिएको छ ।
देउराली जनता नेपालमा खुलेको सबैभन्दा पुरानो र स्थापित औषधी उत्पादक कम्पनी हो । कम्पनीले हृदय, मधुमेह, स्त्री रोग र बालरोग, ग्यास्ट्रोलोजिक र हेपाटोलोजीको लागि सामान्य र विशेष औषधिहरु उत्पादन गर्दै आएको छ ।
देउराली जनताले ३३० वटाभन्दा बढी प्रकारका औषधी उत्पादन गर्दै आएको छ । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा अध्यक्ष रहेको कम्पनीमा उनको ७१ प्रतिशत हिस्सा छ भने बाँकी सेयर उनका परिवार र अन्य सदस्यको नाममा छ ।
कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । जसमा १ अर्ब ४ करोड २५ लाख रुपैयाँ अल्पकालीन र दीर्घकालीन ऋणका लागि ७ करोड ३८ लाख रुपैयाँ रेटिङ गराएको छ ।
रेटिङ एजेन्सी इक्राले दीर्घकालीन ऋण लागि इक्रा एलए तथा अल्पकालीन ऋण लागि इक्रा एटू रेटिङ दिएको छ ।
कम्पनीले गत वर्ष १ अर्ब १८ करोड ऋणका लागि रेटिङ गराएको थियो ।
जनता देउरालीले कम्पनीले आफ्ना विभिन्न ३३० थरीका उत्पादन नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । उद्योगको जडित क्षमताको ६५ प्रतिशत मात्र उत्पादन कार्यमा प्रयोग भइरहेको बताएको छ । बाँकी ३५ प्रतिशत उत्पादन क्षमतालाई विकासको चरणमा रहेको विभिन्न अत्यावश्यक औषधि, नशारोग, मनोचिकित्सा लगायतका औषधिहरू उत्पादन गरी बिक्री वितरण गर्ने लक्ष्य लिएको छ ।
कम्पनीले २०४७ माघ १६ गतेदेखि यसले औषधी उत्पादन थालेको थियो । कम्पनीले २०६० सालमा नेदरल्याण्डको गुणस्तर निर्धारण गर्ने संस्था डीएनभीबाट २०६० साल मंसिरमा आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ भने विश्व स्वास्थ्य संगठनले २०६१ भदौमा जीएमपी सर्टिफिकेट दिएको छ ।