दशकपछि प्रवर्द्धनको मूल एजेण्डमा पर्यटन बोर्डको बजेट, ६५ प्रतिशतभन्दा बढी खर्चँदै



काठमाडौं । करिब एक दशक पछाडि नेपाल पर्यटन बोर्ड प्रवर्द्धनको मूल एजेन्डामा फर्किएको छ । बोर्डले चार महिना ढिलो गरेर स्वीकृत गरेको चालु आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन गरेको कुल १ अर्ब ८१ करोड रुपैयाँको बजेटमा करिव ६५ प्रतिशत बजेट राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने गरी तय गरेको छ ।

बोर्डले गर्ने अन्तर्राष्ट्रिय प्रवर्द्धन, बजारीकरण, फेमिलाइजेसन, सहितमा छुट्टाएको यस्तो खर्च ६५ प्रतिशतको हाराहारीमा रहेको छ । बोर्डले २०७२ पछि तयार पारेको बजेटमा वर्षेनी पूर्वाधार निर्माण तथा गैरपर्यटनमा खर्च गर्दा वेथिति बढेको थियो । पर्यटन बोर्डको मूल उद्देश्य नै पर्यटन प्रवर्द्धन भएकोले आफ्नो मूल उद्देश्य विपरीत बोर्डले विदेशी पर्यटकबाट उठाएको बजेट खर्चदैँ आएको थियो ।

नेपाल पर्यटन बोर्डको मूल आम्दानीको स्रोत नै विदेशी पर्यटकबाट संकलन हुने शुल्क हो । नेपाल भित्रिएका हरेक विदेशी पर्यटक बाहिरिदा हवाई टिकेटमै मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक नै प्रति व्यक्ति एक हजार रुपैयाँ उठाउने गरेको छ । यो शुल्कबाट बोर्डले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेर प्रवर्द्धनको काम गर्ने र नेपाल चिनाउने गर्नुपर्छ ।

बोर्डले यही शुल्कबाट प्रवर्द्धन गर्नेदेखि दैनिक प्रशासनिकसम्मका काम गर्दै आएको छ । बोर्डलाई सरकारले पनि कुनै बजेट नदिने भएकोले प्रवर्द्धनको काम गर्नेदेखि कर्मचारी प्रशासन चलाउनेसम्मका सबै काम पर्यटकबाट उठाएको यही सेवा शुल्कबाट गर्नुपर्छ । सोही शुल्कबाट बोर्ड नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्दै आएको छ ।

बोर्डले अन्तर्राष्ट्रिय मेला महोत्सवमा पुगेरै प्रवर्द्धनको काम गर्दै आएको छ । यस्तो मेला महोत्सवमा पुगेर गर्ने खर्चलाई बोर्डका कर्मचारीको घुमघाम मात्रै भन्ने आरोप लाग्ने गरेको छ ।

पर्यटन बोर्डले गर्ने प्रवर्द्धनलाई लगानी नमान्ने र खर्च मात्रै गरेको ठान्नेहरुको कारण बोर्डलाई नियमित काम गर्नसमेत असहज हुन थालिसकेको छ । बोर्डले विगतका वर्षहरुको तुलनामा यो वर्ष मेला महोत्सव कम गर्ने र डिजिटल मार्केटिङ प्रवर्द्धन गर्ने र सोसल मिडियाबाट हुने प्रवर्द्धनलाई जोड दिएको छ । देशको उपस्थित हुनै पर्ने र भौतिक रुपमा पुग्नेपर्ने बाहेक प्रभावकारिकता कम हुने क्षेत्रको उपस्थितिलाई निरुत्साहन गर्न थालिसकेको छ ।

पर्यटन बोर्डले यो वर्ष पर्यटन पूर्वाधारसहितका गर्ने खर्च २० प्रतिशतभन्दा पनि कम गरेको छ । ट्रेल मेन्टेनेन्स, साना पूर्वाधार निर्माण, सांस्कृति सम्पदाको संरक्षण र सौन्दर्यीकरणमा कम बजेट खर्चेर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, रैथाने खाना महोत्सव, तालिमसहितमा बढाएको जानकारी पनि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।

‘आगामी २०/२५ वर्षमा पनि पर्यटक पुर्याउन नसक्ने पूर्वाधारमा अहिले नै लगानी गरेर खर्च गर्नु हुँदैन भन्ने हो,’ उनले भने ।

अहिले लगानी गरेर अर्को वर्ष नै पर्यटक आउने र छिटो लाभ दिने क्षेत्रमा गरिने खर्चलाई नै प्राथमिकता दिँदा उपलब्धी देखिने भएकोले पनि प्रवर्द्धनलाई नै जोड दिने गरी यो वर्षको बजेट आएको छ ।

नेपाल पर्यटन बोर्डलाई यो वर्ष विदेशमा गर्ने विदेशमा कार्यक्रम तथा खर्च गर्ने कार्यविधि स्वीकृत गराएको छ । यो कार्यविधि स्वीकृतपछि बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा यस अघि गर्न नसकिएको काम सहज हुने भएको छ ।

बोर्डका अनुसार ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ पारित भएपछि यो वर्षदेखि प्रवर्द्धनको काम गर्न पनि सहज हुने भएको छ ।

पर्यटन बोर्डले यस अघि नेपाल नाउ क्याम्पेन चलाएकै मोडालिटीलाई नयाँ ढंगबाट अगाडि बढाउने भएको छ । यस वर्षदेखि नेपाल नाउ इनिसेटिभ सञ्चालन हुने छ । यसले पर्यटकलाई सहज हुने छ भने विदेशी पर्यटक आकर्षित गर्ने माध्यम पनि हुने भएको छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न ट्राभलरसँग जोडिने अवधारणा पनि बोर्डले अगाडि सारेको छ । नियमित रुपमा घुम्ने, भ्लग बनाउनेदेखि सामाजिक अभियन्तलाईसमेत पर्यटनमा जोड्ने प्रयास बोर्डले गर्दै छ ।

पर्यटन बोर्डले हरेक ऋतुका लागि एकएक पर्यटन प्रवर्द्धनको क्याम्पेन पनि गर्ने योजना अगाडि सारेको छ । योजना अनुसार गर्मीको सिजनमा भारत, वंगलादेश, जाडोको सिजनमा चीन, युरोपे मुलुक, मनसुनमा मध्यपूर्वी क्षेत्रमा प्रवर्द्धनको काम गर्ने भएको छ । यसका साथै नेपालको पर्यटनको मुख्य पर्यटकीय गन्तव्य चाहिँ भारत, चीन, मध्यपूर्व नै हो । नेपालबाट सीधा उडान नभएकोले युरोप अमेरिकाबाट आउने पर्यटक भित्र्याउने योजना भने अपेक्षा अनुसार हुनै सकेको छैन ।

हवाई भाडा वृद्धिको असर पर्यटनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ कात्तिक (८ नोभेम्बर)बाट त्रिभुवन विमानस्थल मर्मत गर्ने भन्दै रातीको समयमा विमानस्थल बन्द गर्दै आएको छ । राती १० बजेदेखि विहान ८ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्दको असर पर्यटन व्यवसायमा पर्न थालिएको सम्बन्धित क्षेत्रका पर्यटन व्यवसायीको गुनासो छ ।

एक त यो बेला पर्यटनको लागि वेमौसम हो हो अर्कोतर्फ विमानस्थल बन्दको बहानामा एयरलाइन्सहरुले चर्को भाडा असुल गरेको कारण धमाधम पर्यटकले बुकिङ रद्द गरिरहेको होटल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । उनका अनुसार ४० प्रतिशतमा हुनेपर्ने अहिलेको सिजनको अकुपेन्सी विमानस्थल बन्द र महंगो हवाई भाडाको बहानामा नै २०/२५ प्रतिशतमा झरेको छ ।

शाक्यका अनुसार अहिले पर्यटक आगामको सिजना नभएपछि दीर्घकालीन योजना बनाउने र युरोपेली तथा मध्यपूर्वी देशका पर्यटकको आगमन भने सन्तोषजनक हुँदै गएको थियो । विमानस्थल बन्दसँगै महँगिएको भाडादरलाई कारण देखाउँदै धमाधम बुकिङ रद्द हुन थालेकोले पनि यसले नेपालको पर्यटनलाई दीर्घकालनीन असर गर्ने देखिएको छ ।

पछिल्लो समय हवाई भाडामा भएको अस्वाभाविक बृद्धिकै कारण पर्यटकहरुमा टिकेट नपाइने, महंगो पर्नेसहितको सन्देश आइरहदा एक प्रकासको त्रासको वातावरण सिर्जना भएको गुनासो आइरहेको नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए । उनका अनुसार एसियाली क्षेत्रबा घुम्न निस्कने पर्यटक अन्तिम समयमा तयारी गर्ने गरेको हुन्छन् ।

युरोपेली पर्यटकले लामो समयको योजना बनाएर मात्रै घुम्न निस्कने भएकोले उनीहरुलाई तात्विक फरक नपरेपनि विमानस्थल बन्द वा भाडा महँगिएको कारण भारतीय, चिनियाँ, मध्यपूर्वीसहतिका पर्यटक प्रभाविन भएको गुनासो भने आइरहेको छ ।

बोर्डका सहप्रवक्ता लामिछानेले भने ‘टिकेट महंगो भएकै कारण पर्यटक अन्तै सिफ्ट हुने, महँगो शुल्क तिर्न नचाहने र सस्तो प्याकेज खोज्नेहरुको प्राथमिकता नेपाल नपर्न सक्नेसहतिको सन्देश आउनुे पनि ४० प्रतिशत पर्यटकलाई असर गरेको छ । हाल विमानस्थल १० घण्टा बन्दले ३० प्रतिशत हवाई पर्यटक कम हुने अनुमान भएकोले यसको असर पर्यटनमा जोडेर हेर्दा ४० प्रतिशत नै पर्ने सकने अनुमान छ ।’


क्लिकमान्डु