चीन लक्षित ट्रम्पको कर योजनाले एसियाका देशहरुलाई के फाइदा ?
एजेन्सी । जनवरीमा अमेरिकाको राष्ट्रपति पदभार गर्ने तयारी गरेका डोनाल्ड ट्रम्पले अगाडि सारेको कर वृद्धिको योजना यतिबेला निकै चर्चामा छ । राष्ट्रपति निर्वाचनका बेला उनले अगाडि सारेको कर बढाउने योजना विशेषगरी चीन लक्षित रहेको धेरैको आकलन छ ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आयातमा भारी मात्रामा कर लगाउने प्रतिबद्धता गरेका थिए । जुन प्रतिबद्धता यदि कार्यान्यवन भयो भने यसको असर कहाँ कहाँ र कसरी पर्ला भनेर धेरैतिर चासो रहँदै आएको छ । खासगरी भारत, इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, नेपाल लगायत अरु एसियाली देशहरुमा पनि यसको असर पर्छ त ?
विश्लेषकहरुका अनुसार चीन बाहेक विकासमा उदाउँदै गरेका भारतसहितका एसियाली देशहरुलाई भने ट्रम्पको कर योजनाले नोक्सान नभएर झन फाइदा हुने प्रक्षेपण गरिएको छ । यसको एउटा प्रमुख कारण के हो भने कतिपय कम्पनीहरु चीनबाट हटेर भारतसहितका एसियाली क्षेत्रका साना देशहरुमा स्थानान्तरण हुनसक्ने छन् ।
यद्यपि विश्वका दुई ठूला अर्थतन्त्र भएका देशहरु अमेरिका र चीनबीच व्यापार युद्धले विश्व बजार अस्थिर हुनसक्ने विश्लेषकहरुको आकलन छ । र यसको असर अरु एसियाली देशहरुमा पनि पर्ने नै छ ।
ट्रम्पले चुनावमा भाग लिइरहेका बेला एउटा घोषणा बारम्बार गरिरहेका थिए । त्यो हो चीनबाट अमेरिका आयात हुने सबै सामानमा ६० प्रतिशत कर लगाउने ।
जसले दुई देशबीच व्यापार सन्तुलन कायम हुनसक्ने उनको जिकिर थियो । ट्रम्प आफ्नो यो प्रतिबद्धतामा अडिग होलान् वा यसबाट पछि हट्लान् । तर यदि उनले आफ्नो कर योजना लागु गरे भने चीनको जिडीपीमा ०.७ प्रतिशतबाट १.६ प्रतिशतसम्म गिरावट हुनसक्ने धेरैको प्रक्षेपण छ ।
यसको आंशिक असर दक्षिण पूर्व एसियामा पनि महसुस गरिनेछ । जहाँको उत्पादन क्षमता प्रत्यक्ष चीनसँग जोडिएको छ । र चीनको राम्रो लगानी पनि छ । अक्सफोर्ड इकोनोमिक्सका एडम अहमद समादिनका अनुसार, ‘चीनमाथि कर बढाउँदा यसको असर अमेरिकी मागमा कमी हुनुका साथै आसियान देशहरुको निर्यातमा पनि पर्नेछ । जवकि ती देशहरुमा प्रत्यक्ष अमेरिकी कर लाग्ने छैन ।’
त्यसको असर विशेष रुपमा इन्डोनेसियामा पनि पर्ने बताइन्छ । किनकि इन्डोनेसियाको खनिज निर्यातमा अमेरिकी करको असर पर्नसक्नेछ । यसवाहेक जापान, ताइवान र दक्षिण कोरिया पनि प्रभावित हुने बताइन्छ । किनकि ती देशहरुमा चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ ।
यसैगरी ट्रम्पले के पनि भनेका छन् भने सबै आयातहरुमा १० देखि २० प्रतिशतसम्मले कर बढाउन सकिनेछ । यसरी कर बढाउनुलाई प्रभावकारी हतियारको रुपमा ट्रम्पले किन पनि लिइराखेका छन् भने उनको एउटा विश्वास छ-अन्य देशहरुले अमेरिकाबाट फाइदा उठाइरहेका छन् । त्यसैको बदलाको रुपमा ट्रम्पले आयात हुने सामानमा कर बढाउने योजनालाई जोडतोडका साथ उठाइरहेका छन् ।
ट्रम्पको कर योजनाले कुन देशलाई कस्तो असर पर्छ भन्ने कुरा उक्त देशको व्यापार सम्पर्क अमेरिकासँग कस्तो छ भन्ने कुराले पनि निर्धारण गर्नेछ । विश्लेषक सामादिनले भनेका छन्, ‘अमेरिका कम्बोडियाको ३९.१ प्रतिशत निर्यात हिस्सा हो । यस्तै भियतनामको २७.४ प्रतिशत, थाइल्यान्डको १७ प्रतिशत र फिलिपिन्सको १५.४ प्रतिशत निर्यात हिस्सा हो । अमेरिकामा हरेक देशको अर्थव्यवस्थाको कति प्रत्यक्ष सम्पर्क छ भन्ने कुराले कति असर पार्छ भन्ने निर्धारण गर्छ ।’
२०१८ मा पनि ट्रम्पले चीनमाथि भारी मात्रामा भन्सार शुल्क बढाएका थिए । जसले गर्दा अन्य व्यापार सम्पर्क रहेका देशहरुलाई लाभ मिल्यो । र ती देशहरुको माध्यमबाट चिनियाँ कम्पनीहरुले आफ्ना उत्पादन अमेरिका पठाए । तर अब भने यस्तो वैकल्पिक उपाय र छिद्रलाई पनि अमेरिकाले रोक्नसक्ने कतिपयको दाबी रहँदै आएको छ ।
जापानका सबैभन्दा ठूलो बैंक मित्सुबिसी युएफजी फाइनान्सियल ग्रुपका वरिष्ठ विश्लेषक लयड चानले भनेका छन्, ‘भियतनामको इलेक्ट्रोनिक्स निर्यात पनि ट्रम्पको निशानामा पर्नसक्ने देखिन्छ ।
ताकि चीनको इलेक्ट्रोनिक्स उत्पादनहरु भियतनामको माध्यमबाट अमेरिकी बजारमा प्रवेश रोक्न सक्ने देखिन्छ ।’ चानका अनुसार व्यापारको पुनर्गठन विशेषगरी इलेक्ट्रोनिक्स क्षेत्रमा तीब्र रुपमा हुन सक्नेछ ।
भारतलाई कस्तो असर ?
एसिया र विश्वकै ठूलो बजार रहेका देशमध्ये एक हो भारत । ट्रम्पको दोस्रो कार्यकालमा भारत र अमेरिकाबीच सुरक्षा सम्बन्ध पहिलेकै जस्तो कायम हुने धेरैको आकलन छ । जवकि व्यापारिक सम्बन्धबारे भने ठोस रुपमा अनुमान गर्न सक्ने अवस्था छैन ।
भारतीय विदेश नीति विशेषज्ञ राजा मोहनका अनुसार ट्रम्पको अमेरिका फर्स्ट नीतिका कारण भारतबाट निर्यात हुने सामानहरुमा भन्सार बढ्नसक्ने देखिएको छ । यसबाट आईटी, औषधि र कपडा जस्ता सामानमा बढी असर पर्ने बताइन्छ ।
अक्सफोर्ड इकोनोमिक्सका अर्थशास्त्री एलेग्जेन्ड्रा हरमनका अनुसार भारतीय उत्पादनमा चिनियाँ हिस्सेदारी भएकाले भारत पनि ट्रम्पको संरक्षणवादी कदमको सिकार बन्नसक्ने देखिन्छ । कतिपय भारतीय विज्ञहरुले भारतबाट निर्यात हुने अटोमोबाइल, टेक्सटाइल, औषधि तथा वाइन लगायतका सामानमा अमेरिकाले उच्च कर लगाउन सक्ने र त्यसले गर्दा भारतीय उत्पादन अमेरिकी बजारमा महंगो हुनसक्ने देखिने बताउँदै आएका छन् ।
यसैगरी अमेरिका र चीनको व्यापार युद्ध भारतका लागि खतरनाक हुनसक्ने बताइन्छ । यतिसम्म कि ट्रम्पले भारतीय उत्पादनमा कर बढाएर अमेरिकी सामानमा कर घटाउने सर्त राख्नसक्ने पनि कतिपय विज्ञहरुको आकलन छ ।
चीन प्लस १ रणनीतिका कारण ट्रम्पको पहिलो कार्यकालमा चीनका कतिपय कम्पनीहरु भारत, मलेसिया, थाइल्यान्ड र भियतनाम जस्ता देशमा स्थानान्तरण हुन पुगे ।
यसले भियतनामलाई भने फाइदा नै भयो । भियतनामले अहिले पनि चीन प्लस १ रणनीतिको लाभ लिइराखेको छ । जहाँ एप्पलको सहयोगी निर्माता कम्पनी फक्सकन र पेगाट्रन तथा दक्षिण कोरियाको सामसङको लगानी पनि छ । यससँगै भियतनाम हाल चीनपछि विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्यातकर्ता बनेको छ ।
चिनियाँ कम्पनीहरु पनि भियतनामदेखि इन्डोनेसियासम्ममा बढी लगानी गरिरहेका छन् । विशेषगरी सोलार, ब्याट्री, विद्युतीय गाडी र खनिज क्षेत्रमा ।
यतिसम्म कि अमेरिकी लगानीकर्तालाई पनि पछिल्लो समय भियतनामले आकर्षित गरिरहेको छ । आखिर ट्रम्पको कर योजनासँगै एसियाका साना देशहरुमा लगानी बढ्ने र बजार विस्तार हुने अपेक्षा भने गर्न सकिन्छ । यसले प्रतिस्पर्धा बढाउनुका साथै ससाना एसियाली देशहरु निर्यातमा आफ्नो हिस्सा बढाउन सकेने धेरैको विश्लेषण छ ।