९ अर्ब लगानी रहेको स्वदेशी पुष्प क्षेत्रबाट तिहारमा १० करोडको व्यापार, तर लक्ष्मीलाई चढाइने मालामा तस्करी !
सयपत्री प्रतिमालाको मूल्य १ सय र मखमली प्रतिमालाको ५० रुपैयाँ । यस वर्ष बाढीपहिरोका कारण समग्र पुष्प क्षेत्रमा १६ करोडभन्दा बढीको क्षति । तर दीर्घायुका लागि गलामा लगाइने माला र लक्ष्मीलाई चढाइने फूलमा पनि तस्करी !
काठमाडौं । यस वर्ष सयपत्री फूलको प्रति मालालाई थोक मूल्य १ सय रुपैयाँ तोकिएको छ । उत्पादक किसान, ढुवानीकर्ता र विक्रेताहरुको सल्लाहमा सयपत्री फूलको प्रतिमालालाई थोक मूल्य एक सय रुपैयाँ तोकिएको छ । बजारमा यो फूलको प्रतिमाला १५० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
यस्तै मखमली फूलको प्रति मालालाई थोकमा ५० रुपैयाँ तोकिएको बजारमा भने यो माला ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ । यस वर्ष अविरल वर्षासँगै आएको बाढीका कारण फूल खेतीमा ठूलो क्षति पुगेको थियो ।
त्यसमा पनि बाढी पहिरोका कारण बाटोघाटो अवरुद्ध हुँदा बाँकी रहेका सयपत्री र मखमली फूल बजारमा आउन नसक्दा यस्ता फूलको मालाको मूल्य केही बढेको व्यवसायीहरुले बताएका छन् । बाढी पहिरोका कारण समग्र पुष्प क्षेत्रमा १६ करोडभन्दा बढीको क्षति भएको नेपाल फ्लोरिकल्चर एशोसिएसन(फ्यान)का कार्यक्रम संयोजक जेबी तामाङले जानकारी दिए ।
बाढी पहिरोका कारण सबैभन्दा बढी वागमती प्रदेशमा क्षति पुगेको थियो । वागमती प्रदेशमै सबैभन्दा बढी पुष्पको खेती र व्यापार हुनेगर्छ । यसपछि कोशी प्रदेशसहित अन्य प्रदेशमा भएको पुष्प खेतीमा क्षति पुगेको थियो ।
उनका अनुसार बाढी पहिरोका कारण यो वर्ष बजारको मागअनुसार आन्तरिक उत्पादन अपुग भएको हो । यस्तै गत वर्ष सरकारको कमजोरी र काठमाडौं महानगरपालिकाको अपायक बिक्रीस्थल तोकिएका कारण लाखौं रुपैयाँबराबरको किसानहरुले घाटा व्यहोर्न बाध्य भएका थिए ।
‘गत वर्ष घाटा व्यहोरेका किसानहरुले यस वर्ष सयपत्री पुष्पको खेती नै गरेनन्,’ तामाङले भने,‘यसले गर्दा यो वर्ष मागअनुसार बजारमा केही मालाको अभाव हुने अवस्था आएको हो ।’
उपत्यकासहित केही ठूला सहरमा सयपत्री पुष्पबाट तयार भएको मालाको माग ४० लाख गोटा छ । यसमध्ये यो वर्ष स्वदेशमा करिब ३० लाख गोटाको हाराहारीमा उत्पादन भएको तामाङले जानकारी दिए ।
प्रतिबन्ध लागे पनि अवैध रुपमा आयात हुन्छ
तर अपुग भएको माला विभिन्न व्यापारीले विदेशबाट तस्करी गरेर ल्याउने क्रम अझै रोकिएको छैन । बिहीबार मात्रै तस्करी गरी काठमाडौं ल्याइएका फूल विभिन्न स्थानबाट बरामद गरिएको छ । सरकारले विदेशबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि व्यापारीहरुले भने अवैध रुपमा फूल ल्याइरहेका छन् ।
काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले दुई दिनको अवधीमा झण्डै ३५ लाख रुपैयाँबराबरको तस्करी गरी ल्याइएको सयपत्री फूलको माला बरामद गरेको छ ।
बुधबार हेटौंडा हुँदै अवैध रुपमा ल्याइएको एक ट्रक फूल खाडल खनेर पुरिएको नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए । यस्तै बिहीबार सातदोबाटोबाट एक गाडी फूलको माला बरामद गरिएको छ ।
नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष कुमारकसजु श्रेष्ठले भने यो वर्ष सयपत्री मालाको आयात गर्न आवश्यक नभएको जानकारी दिए ।
‘नेपालमै पर्याप्त परिमाणमा उत्पादन भएको र नेपालीको क्रयशक्ति पनि घटेकाले बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था छैन,’ उनले भने,‘हाम्रै आन्तरिक उत्पादनले यो वर्षको बजार धान्छ ।’
तिहारमा मात्रै प्रतिमाला एक सय रुपैयाँको दरले हिसाब गर्दा ४ करोडभन्दा बढीको सयपत्री मालाको कारोबार हुन्छ भने मखमली मालाको ३ करोड रुपैयाँको कारोबार हुन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १६ प्रकारको रोगकिराबाट मुक्त भएको अवस्थामा मात्रै पुष्पजन्य सामग्री ल्याउन पाउने गरी ३ वर्षअघि आयातमा प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध लागे पनि नेपालको बजारमा अवैध रुपमा यस्तो माला पर्याप्त परिमाणमा आयात भएका छन् । बिहीबार मात्रै सातदोबाटो चोकमा अवैध रुपमा ल्याइएको ३० टोकरी माला स्वदेशी किसानहरुले नियन्त्रणमा लिएका छन् ।
एक टोकरीमा २ सय माला हुन्छ । एक सय रुपैयाँको दरले ६ लाख रुपैयाँबराबरको ६ हजार गोटा माला नियन्त्रणमा लिइएको थियो ।
विदेश निर्यात हुन्छ मखमली माला
मखमली मालाको माग ६ लाख गोटा छ । नर्सरी तथा पुष्प उत्पादक किसान संघका अध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार उत्पादन हुने कूल मखमली मालामध्ये झण्डै एक चौथाई माला नेपालीको बाक्लो बसोवास रहेको अष्ट्रेलिया, जापान, अमेरिका, खाडी मुलुकलगायतका मुलुकमा निर्यात हुँदै आएको छ ।
५२ जिल्लामा पुष्प खेती, ९ अर्बको लगानी
नेपालमा २०११ देखि सामान्य रुपमा पुष्प खेतीको सुरुआत भएको मानिन्छ । अहिले नेपालको ५२ जिल्लामा करिब २ सय ६० हेक्टर क्षेत्रफलमा सबै प्रकारका पुष्प खेती भइरहेका छन् । पुष्प क्षेत्रमा १ हजार १ सय ७४ भन्दा बढी पुष्प व्यवसायी संलग्न छन् भने करिब ५१ हजार सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
यो क्षेत्रमा ९ अर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा पुष्प व्यापारमा १९.८६ प्रतिशतले वृद्धि भएर ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
यस्तै आथिक वर्ष २०७९/८० मा ३ अर्व ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट १ करोड २ लाख १२ हजार रुपैयाँको स्वदेशी पुष्प विभिन्न मुलुकमा निर्यात भएको थियो भने २७ करोड ७९ लाख रुपैयाँबराबरको आयात भएको थियो ।
आयात र बिक्री वितरणमा प्रतिबन्ध तर बजारमा पाइन्छ प्लास्टिकका पुष्प र माला
प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिबन्ध लागे पनि राजधानीसहित देशभरका बजारमा यस्ता सामाग्री खुलेआम बिक्री वितरण भइरहेका छन् ।
वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) अनुसार सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाए पनि प्रभावकारी अनुगमन नगर्दा बजार छयापछ्याप्ती यस्ता पुष्प र मालाको बजारिकरण भइरहेको छ ।
यो वर्ष पर्याप्त परिमाणमा नेपालमा अवैध रुपमा प्लाष्टिकजन्य पुष्प र माला आयात भइसकेपछि तीन अघि मात्रै वातावरण विभागले प्लाष्टिकजन्य पुष्प र मालाको आयात रोक्न भन्सार विभागलाई पत्राचार गरेको थियो ।
‘कानूनले प्रतिबन्ध गरे पनि देशभरका बजारमा अहिले पनि यस्ता वस्तुको बिक्री वितरण खुलेआम रुपमा भइरहेको छ,’ तामाङले भने,‘सरकारको कमजोर अनुगमन नीतिका कारण तिहारको मुखमा प्लाष्टिकजन्य पुष्प र गुच्छाको व्यापार निकै फस्टाएको छ ।’