किन बढ्दैछ सगरमाथाको उचाइ ? हिमाल अग्लो बनाउने अरुण नदीको रोचक तथ्य



काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाबारे आम मानिसहरुले पाठ्यक्रमसहित हरेक पुस्तकमा पढिरहेको र सुनिराखेको एउटा सत्य थियो, यसको उचाइ ८८४८ मिटर छ । यो तथ्य केही वर्षअघिसम्मका लागि ठीक थियो । तर पछिल्लो पटक यसको उचाइ नाप्ने क्रममा केही इन्च बढेको पाइयो ।

अर्थात् सगरमाथाको उचाइ ८८४८.८६ अर्थात् झण्डै ८८४९ मिटर रहेको पाइयो । धेरैलाई आश्चर्य लागे पनि यसबारे गहिराइमा पुगेर सोधखोज भने गरिएन । विशेषगरी नेपालमा त यसलाई लिएर खुसियाली मनाइयो । प्रकृतिको यो अनुपम सिर्जनामा परिवर्तन कसरी आयो भन्ने बारेमा खासै ध्यान दिएको पाइएन ।

तर यसबारे चासो राख्ने मानिस वा संस्थाहरुले भने यसबीचमा गहिराइमा पुगेर अध्ययन र खोज गरिरहेका छन् । हालै बीबीसीमा यसको उचाइ किन बढिरहेको छ भन्ने विषयमा एउटा रोचक र तथ्यपरक रिपोर्ट प्रकाशित छ । नवीनसिंह खड्काले तयार पारेको यो रिपोर्ट लण्डनको विश्वविद्यालयमा भएको अध्ययनमा आधारित छ । नेपाली नागरिकसमेत रहेका खड्का भने बीबीसी विश्वसेवाका वातावरण तथा जलवायु रिपोर्टर हुन् ।

उक्त रिपोर्टमा भनिए अनुसार एक नयाँ अध्ययनबाट सगरमाथा एक नदीको कारण १५ देखि ५० मिटर अग्लो बनेको छ । साथै उक्त नदीले विश्वको सबैभन्दा उच्च हिमालको तहबाट चट्टान र माटोलाई काटिरहेको छ । र सोहीकारण सगरमाथाको उचाइ बढिरहेको उक्त रिपोर्टमा उल्लेख छ ।

युनिभर्सिटी कलेज लन्डन युसिएलका सोधकर्ताहरुको हवाला दिँदै रिपोर्टमा भनिएको छ, सगरमाथा हरेक वर्ष २ मिलिमिटरसम्म बढिरहेको छ । अनुसन्धानकर्मीहरुका अनुसार विश्वको सर्वोच्च शिखरबाट ७५ किलोमिटर टाढा रहेको अरुण नदीको जमिनको सतहमा आएको परिवर्तनले सगरमाथा प्रत्येक वर्ष दुई मिलिमिटरले बढिरहेको छ ।

उक्त अध्ययनका सहलेखक एडम स्मिथले बीबीसीका लागि भनेका छन्, ‘जस्तो कि तपाइँले समुद्री जहाजबाट सामान तल फाल्दा जहाज जसरी हल्का हुन्छ ठीक यो पनि त्यस्तै हो । यसैले जहाज पानीमा थोरै माथि तैरिन्छ ।’

हिमालयको निर्माण ४ देखि ५ करोड वर्ष पहिले भारतीय तथा युरेसिया टेक्टोनिक प्लेटहरु टकराउँदा भएको मानिन्छ । टेक्टोनिक प्लेटहरुको घर्षण नै यीनीहरु निरन्तर बढ्नुको मुख्य कारण भएको मानिन्छ ।

तर युसीएलको अन्सन्धान टोलीले भने सगरमाथाको उचाइ बढ्नुमा अरुण नदीको योगदानलाई प्रमुख मानेको छ । पूर्वको अरुण नदी जसरी हिमालयबाट तल झर्छ जसको कारण म्यानटल अर्थात पृथ्वीको तल्लो तहमा पर्ने दबाब कम हुन्छ ।

र कम चापको कारण, पातलो तह विघटन हुन्छ र माथि उठेर नदीसँग बग्न थाल्छ। यसैलाई आइसोस्टेटिक रिबाउन्ड अर्थात् एक किसिमको सन्तुलन प्रतिक्रिया भनिन्छ ।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित अध्ययनका अनुसार यसले गर्दा केबल सगरमाथा नभएर आसपासका साना चुचुराहरुको उचाइ पनि अग्लिरहेका छन् । यसरी उचाइ बढ्नेमा विश्वको चौथो र पाँचौं सबैभन्दा अग्ला हिमाल ल्होत्से र मकालु पनि पर्छन् ।

नयाँ अध्ययनका सहलेखक डा म्याथ्यु फक्सले बताए अनुसार सगरमाथा र यसका आसपासका हिमालहरु अग्ला भइरहेका छन्। किनकि आइसोस्टिक रिबाउन्डले बेसिनमा घर्षणको कारणले तिनीहरुलाई द्रुत गतिमा उठाइरहेको छ ।

साथै जीपीएस उपकरणको सहायताले यसलाई हरेक वर्ष अग्लो भएको देख्न सकिने पनि म्याथ्युले बताएका छन् । ‘पहिले यसको कारण थाहा थिएन । अब हामीलाई किन यसरी अग्लो भइरहेको छ भनेर कारण थाहा भयो,’ म्याथ्युले भनेका छन् ।

नदीको कटानको असर

उक्त अनुसन्धानमा जति भूवैज्ञानिकहरु सहभागी थिए उनीहरुले भनिरहेका छन् कि सैद्धान्तिक रुपमा यो ज्यादै रोचक विषय हो। तर अनुसन्धानमा धेरै यस्ता कुराहरु हुन्छन् जसलाई निश्चित रुपमा भन्न पनि सकिँदैन ।

सगरमाथा चीनलाई छुने विश्वको सबैभन्दा अग्लो नेपालको हिमाल हो । जसको उत्तरी सीमा चीनसँग जोडिन्छ । अरुण नदी तिब्बतदेखि निस्किएर नेपालमा बग्दछ ।

यसपछि दुई नदीहरु अन्य नदीहरुसँग मिलेपछि त्यसलाई कोसी नदी भनिन्छ । कोसी नदी भने बगेर उत्तरी भारतमा प्रवेश गर्छ। अन्तत:यो नदी भारतको गंगा नदीमा विलय हुन्छ ।

पहाडहरुबाट निस्किने यो नदीको बहाब पनि ज्यादै तीब्र हुन्छ । आफ्नो तीब्र प्रवाहका कारण यो नदी आफ्नो बाटोमा ज्यादै ठूला चट्टान र ढुंगाहरुलाई चोइट्याउँदै बग्छ ।

उचाइ परिवर्तनको कारण

युसीएलका अनुसन्धानकर्ताहरुका अनुसार अरुण नदीले आफ्नो वर्तमान शक्ति त्यतिबेला नै पाएको थियो,जतिबेला ८९ हजार वर्षपहिले तिब्बतमा कुनै अर्को जलाशय मिसिएको थियो । भूवैज्ञानिकहरुका अनुसार यो ज्यादै पुरानो घटना थियो ।

चाइना युनिभर्सिटी अफ जियोसाइन्सेजका एक चिनियाँ शिक्षाविद डा झु हानले युसीएलमा छात्रवृत्तिको क्रममा अनुसन्धान गरेका गरेका छन् । र उनी नै यो अध्ययनका प्रमुख लेखक हुन् ।

उनले भनेका छन्, ‘सगरमाथाको परिवर्तनशील उचाइले वास्तवमा पृथ्वीको सतहको गतिशील प्रकृतिलाई उजागर गर्छ । अरुण नदीको कटान र पृथ्वीको आवरणको माथिल्लो दबाबबीचको परस्पर टकराबले सगरमाथाको उचाइ बढिरहेको छ ।’


क्लिकमान्डु