अर्थ मन्त्रालयमा सहसचिव धेरै भएपछि रिसालको अधिकार कटौती गरी मैनालीलाई दिइँदै



काठमाडौं । अर्थ मन्त्रालयमा दरबन्दी भन्दा बढी सहसचिव भएपछि एउटा महाशाखाको जिम्मेवारी २ जना सहसचिवलाई बाँड्ने तयारी गरिएको छ ।

अर्थ मन्त्रालयमा हाल ९ वटा महाशाखा छन् । तर, मन्त्रालयमा १० जना सहसचिव  भएपछि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी २ जना सहसचिवलाई दिने तयारी अर्थ मन्त्रालयले गरेको हो ।

स्रोतका अनुसार वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायण प्रसाद रिसालको अधिकारी कटौती गर्दै अर्को सहसचिव दीर्घ मैनालीलाई दिने तयारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् ।

हाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरबहादुर खत्री, प्रशासन महाशाखा प्रमुख मदन दाहाल, आर्थिक नीति विश्लेषण महाशाखा महेश आचार्य, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख थानप्रसाद पंजानी, कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख बलसागर गिरी र योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख महेश भट्टराई छन् ।

अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख रहेका मैनालीलाई अर्थ मन्त्रालयमा सरुवा भएपछि जिम्मेवारीबिहीन थिए ।

मध्यमस्तरीय करदाता कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका अमृत लम्साललाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखको जिम्मेवारी दिँदै मैनालीलाई अर्थ मन्त्रालयमा ल्याइएको थियो ।

अर्थ मन्त्री पौडेलले वित्तीय क्षेत्रको काम महाशाखा प्रमुख रहेका रिसाललाई दिँदै संस्थान समन्वयको जिम्मेवारी मैनालीलाई दिने तयारी गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड लगायतका वित्तीय क्षेत्रका संस्थासँग समन्वय गर्ने जिम्मेवारी रिसाललाई दिँदै सरकारले लगानी गरेका सार्वजनिक संस्थानमा सञ्चालक तोक्ने अधिकार मैनालीलाई दिने तयारी गरिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख हुनु अघि आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका मैनालीले फेरी दोहरिएर विभाग जाने तीव्र लबिङ गरेका थिए ।

तर, अर्थ मन्त्री पौडेल निकट रहेका सहसचिवको आन्तरिक टसलका कारण मैनाली दोस्रो पटक विभाग जान सकेका थिएनन् । हाल आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य छन् ।

अर्थ मन्त्रालयका अधिकारीहरू मैनालीले उच्चस्तरीय आर्थिक सुधार आयोगको सदस्य सचिव बनाउने गरी हाललाई संस्थान समन्वयको जिम्मेवारी दिन लागिएको बताउँछन् ।

‘वित्तीय क्षेत्रको काम रिसाल सरलाई नै दिनु पर्ने बाह्य दबाब छ भन्ने सुनिन्छ,’ स्रोतले भन्यो, ‘बाह्य क्षेत्रको दबाबले नै तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनाएका रिसाललाई निवर्तमान अर्थमन्त्री वर्षमान पुनले परिवर्तन गर्न सकेका थिएनन् । बाह्य क्षेत्रले नै रुचाएका कारण हालमा अर्थमन्त्री पौडेलले समेत रिसाललाई सोही महाशाखामा निरन्तरता दिएका हुन् ।’


क्लिकमान्डु