बंगलादेशका बैंकले ब्याजदर बढाउँदै, केही महिनामै १० प्रतिशतभन्दा बढी पुग्‍नसक्ने



एजेन्सी । बंगलादेशको केन्द्रीय बैंकले ब्याजदर बढाउने भएको छ । केन्द्रीय बैंकका प्रमुख डा. अहसान एच मन्सुरका अनुसार केही दिनभित्रै ८.५ प्रतिशत ब्याजदरबाट बढाएर ९ प्रतिशत पुर्‍याउने तयारी भएको छ ।

यस्तै बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न केही महिनाभित्रै १० प्रतिशत वा त्योभन्दा पनि बढी ब्याजदर बढाउने डा. मन्सुरले बताएका छन् ।

बंगलादेशमा हाल मूल्यृद्धि तथा मुद्रास्फीति प्रमुख समस्याको रुपमा देखिएको छ । यस्तै पछिल्लो समय राजनीतिक अस्थिरताको बीच रमिटेन्स घट्न थालेपछि विदेशी मुद्रा सञ्चिति पनि दबाबमा परेको बताइन्छ । यससँगै राजनीति अस्थिरतासँगै गार्मेन्ट नि्यातमा नराम्रो असर परेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशलाई मौद्रिक नीति कसिलो बनाउन र विनिमय दर खुकुलो बनाउन आग्रह गरेको छ । जवकि आईएमएफले बंगलादेशसहित दक्षिण एसियाली देशहरुका लागि ४ अर्ब ७० करोड अमेरिकी डलरको सहायता प्रदान गरेको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार डा मन्सुरले उक्त रकममा थप ३ अर्ब डलर बढाउन र भुक्तानीा लागि आफूले आईएमएफका अधिकारीहरुसँग छलफल गरेको बताएका छन् । यस्तै बंगलादेशले विश्व बैंकबाट थप १ अर्ब ५० करोड डलर साथै एडीबी र जाइकाबाट क्रमश: १/१ अर्ब डलर खोजिरहेको डा मन्सुरले बताएका छन् ।

यसैबीच बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेर भाग्नुअघि देशमा लगाइएको कर्फ्यू र इन्टरनेट सेवा कटौतीका कारण बंगलादेशमा व्यापक रुपमा मूल्यवृद्धि भएको थियो ।

एक महिना लामो देशव्यापी प्रदर्शनपछि शेख हसिनाले गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन् । तर हसिनाको शासनकालमै बंगलादेशको अर्थतन्त्र नाजुक हुँदै आएको थियो ।

यसबीचमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका छन् । अर्थशास्त्रीसमेत रहेका युनुसले गत साता मात्रै डा. मन्सुरलाई गभर्नरको रुपमा नियुक्त गरेका थिए। आईएमएफमा ३ दशकदेखि काम गरेका डा. मन्सुर अब्बल अरथशास्त्रीको रुपमा चिनिन्छन् ।

हसिनाले सरकारको नेतृत्व गर्दा गभर्नर रहेका अब्दुर रुफ तालुकदार र अन्य दुई डेपुटी गभर्नरलाई हसिनाको बहिर्गमनसँगै हटाएर युनुसले गभर्नरको रुपमा डा. मन्सुरलाई अगाडि सारेका हुन् ।

यस क्रममा मन्सुरले देशको बैंकिङ क्षेत्रलाई सुधार्ने आफ्नो पहिलो जिम्मेवारी रहेको प्रतिक्रिया दिएका छन् । मन्सुरले वित्तीय प्रणालीको लुटको षड्यन्त्रले बैंकहरुलाई ठूलो नोक्सान पुर्‍याएको भन्दै यसले सेयर बजार र अर्थतन्त्रमा गम्भीर असर पारेको मन्सुरले बताउँदै आएका छन् ।


क्लिकमान्डु