अमेरिकी अर्थतन्त्रको सबैभन्दा ठूलो समस्या समाधान गर्ने कमला ह्यारिसको यस्तो योजना



एजेन्सी । अमेरिकामा हाल दुईवटा कुरा धेरैलाई थाहा छ कि, कोठा भाडा अत्यधिक महंगो छ र घर खरिद गर्नु असम्भव जस्तै बनिसकेको छ ।

घरजग्गा व्यवसायमा घरको आपूर्ति असाधारण रुपमा कम छ । जवकि विक्रेताहरु उच्च धितोका कारण घर बेचिहाल्न पनि सक्दैनन् । वर्षौंदेखि घरको कर्जा तिरिराख्नुपर्ने बाध्यताले गर्दा उनीहरुका लागि झट्टै एउटा घर विक्री गरेर अर्को घरमा सर्नु पनि त्यति सजिलो छैन । यसरी घर बिक्री गरेर अर्को किन्दा पनि अत्यधिक महंगो पर्ने भएकाले घर किनबेचको काम अमेरिकामा अत्यन्तै कठिन बन्दै गएको छ ।

तर कोरोना महामारीको अवधिमा माग ह्वात्तै बढ्यो तर महंगो हुनुका बावजुद त्यसपछि यसको माग घटेको छैन । पछिल्लो समय अमेरिकामा आवास सम्बन्धी व्यवसाय यसरी जटिल मुद्दा बन्दै गएको छ । जुन मुद्दा समाधान गर्नुपर्ने आगामी सरकारको प्रमुख चुनौती बन्ने देखिएको छ ।

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपति निर्वाचन हुँदैछ । उक्त निर्वाचनको एक प्रमुख मुद्दा नै आवास सम्बन्धी विषय हुनसक्ने बताइएको छ । आवास मुद्दा अबका मतदाताहरुका लागि सबैभन्दा प्रमुख विषय बन्ने विश्लेषण हुन थालेको छ ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवार बनेकी कमला ह्यारिसले आवास सस्तो बनाउने विषयमा आफ्ना योजना सुनाएकी छन् । जवकि विश्लेषकहरुले उपभोक्ताहरुको लागि ह्यारिसको योजना सहयोगी हुने भन्दै यसको सराहना गरेका छन् । तर कतिपयले भने उनको योजनाले बजारमा थप समस्या ल्याउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसबीचमा वर्तमान राष्ट्रपति एवं ह्यारिसभन्दा पहिले राष्ट्रपति उम्मेदवार घोषणा गरेका जो बाइडेनले कतिपय पेचिलो बाचा गरेका थिए ।

पहिलो पटक घर खरिद गर्ने ग्राहकलाई २५ हजार डलरसम्मको डाउन पेमेन्ट सायहता दिने । पहिलो पटक घर खरिद गर्नेहरुका लागि १० हजार डलर ट्याक्स क्रेडिट उपलब्ध गराउने । पहिलो पटक खरिदकर्ताहरुलाई बेच्ने पहिलो घर निर्माताहरुलाई कर प्रोत्साहन गर्ने । सस्तो आवास बनाउने निर्मातालाई कर प्रोत्साहनको योजना ।

नवप्रवर्तन आवास निर्माणलाई बढाउन ४० अर्ब डलरको इनोभेसन फन्डको स्थापना । सस्तो आवासका लागि संघीय भूमि पुनप्रयोग नीति । यस्ता प्रतिबद्धता बाइडेनले अगाडि सारेका थिए ।

जुन बाचाहरु कमला ह्यारिसको दायित्वमा पनि पर्नेछन् । कतिपय अर्थशास्त्रीहरुले भने प्रोत्साहनको माध्यमबाट बजारमा अरु धेरै घर निर्माण गर्न सहयोग पुग्ने बताउँदै आएका छन् । बजारमा आवास निर्माण योजनाले आवास निर्माण बढ्न सक्ने बताइए पनि यसले भाडाको सीमा तय गर्ने विषयमा भने समस्या ल्याउन सक्ने अर्थशास्त्रीहरुले आशंका व्यक्त गरेका छन् ।

अमेरिकी तथ्यांक विभागका अनुसार आवासको भाडा सूचांक वार्षिक रुपमा ५.१ प्रतिशतभन्दा धेरै छ । तर पछिल्लो समय भाडामा गिरावट आएको छ । यतिसम्म कि घरमालिकहरुले नयाँ भाडावाललाई आकर्षित गर्न निशुल्क पार्किङ र एक महिनाको निशुल्क भाडा जस्ता स्किमहरु दिइरहेका छन् । यसले गर्दा भाडादरको सीमा प्रभावकारी नहुने आशंक व्यक्त गर्न थालिएको छ ।

स्टानफोर्ड विश्वविद्यालयमा घरेलु नीति अध्ययनकी अर्थशास्त्री लानही चेनका अनुसार भाडादरको सीमाको योजना कमला ह्यारिसको नीतिको कुरुप पक्ष हो । यससँगै बाइडेनले बाचा गरेका योजनालाई अगाडि सार्न ह्यारिसका लागि चुनौती बन्ने अर्थशास्त्रीहरुको तर्क छ । यसैबीच ह्यारिसले चुनावी अभियानको क्रममा प्रत्यक्ष रुपमा आवास आपूर्ति र यससँग सम्बन्धित सरोकारलाई प्रत्यक्ष रुपमा सम्बोधन गर्ने बताइएको छ । जहाँ उनले आवास आपूर्ति बढाउने विषयमा जोड दिएकी छन् ।

तर केही अर्थशास्त्रीहरु ह्यारिसको आवास आपूर्ति विस्तार गर्ने योजनालाई उनको बलियो योजना ठान्दै आएका छन् । ह्यारिसले आवास आपूर्ति बढाउन संघीय भूमिको पुनप्रयोगसहित केही सहुलियतका योजना पनि अगाडि सारेकी छन् । तर ती प्रोत्साहनका योजना कसरी लक्षित समूहसम्म पुग्छन् भन्ने विषयमा अन्योल रहेकोमा अर्थशास्त्री लानही चेनको चिन्ता छ ।

पूर्वप्रधानमन्त्री डोनल्ड ट्रम्पले पनि आवासको अभाव पूर्ति गर्नका लागि संघीय भूमि उपयोग सम्बन्धी नीति अगाडि सारेका छन् । ट्रम्पले गत बिहीबार पत्रकार सम्मेलनमा भनेका थिए, ‘आवास खरिद गर्न नसक्ने मानिसहरुको लागि हामीलाई हाल आवासको आवश्यकता टड्कारो छ । तर आवास निर्माणका लागि हामी संघीय भूमि उपयोग गर्ने बाटो खुला गर्नेछौं ।’

यसरी कमला ह्यारिस र डोनल्ड ट्रम्पबीच अमेरिकाको आगामी राष्ट्रपतिको लागि नोभेम्बरमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर दुईमध्ये जो राष्ट्रपति बने पनि आवासको अभाव सम्बन्धी मुद्दा पेचिलो बन्ने देखिएको छ ।


क्लिकमान्डु