म्याद गुज्रिएका १ करोड १ लाख ६४ हजारका खाद्य पदार्थ नष्ट



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८०/०८१ मा म्याद गुज्रिएका, ऐन, नियम निर्देशिका बमोजिम नपाइएका १ करोड १ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको खाद्य पदार्थ नष्ट गरेको छ ।

बुधबार विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । गत आर्थिक वर्षमा विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन ३ हजार ६६३ पटक गरेको जनाएको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले खाद्य तथा दाना उद्योग अनुगमन ३ हजार २७७, होटल रेष्टुरेण्ट अनुगमन २ हजार ५८५, रेपिड रेस्पोन्स अनुगमन ५४३, हाट/बजार/मेला/महोत्सव अनुगमन १ सय १६, संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १ हजार १९ पटक गरी कुल ११ हजार २ सय ३ पटक अनुगमन गरेको बताए ।

गत आर्थिक वर्षमा १४८ वटा होटल रेस्टुरेण्ट स्तरीकरण गरिएकोमा ९ वटाले अति उत्तम, ३४ वटाले उत्तम, ४२ वटा सामान्य र ६३ वटाले सन्तोषजक पाएको पनि उनले बताए ।

भन्सार विभागमा खाद्य पदार्थ नियमनका क्रममा विभागले १२ वटा विभिन्न भन्सार बिन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट खाद्य तथा पेय पदार्थहरुका ४६ हजार ९४८ वटा नमूनाहरुको जाँच विश्लेषण गरी नियमन गरेकोमा ४५ वटा नमूनाहरु प्रतिकुल पाएको बताइएको छ ।

यस्तै नेपालमा आयात हुने ताजा तरकारी तथा फलफुलका ६३ हजार ३५७ वटा नमूनाको आरबीपीआर विधिबाट जीवनाषक विषादि अवशेष परीक्षण गरिएकोमा ३७ नमूना प्रतिकुल पाइएको प्रवक्ता महर्जनले बताए ।

विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाबाट प्रदान गर्ने खाद्य तथा दाना पदार्थको विश्लेषण सेवालाई सहज र थप प्रभावकारी बनाउन अनलाइन प्रणालीमा आधारित प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली–ल्याबोरोटरी इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) प्रणाली सञ्चालन गरेको पनि जनाएको छ ।

साथै प्रतिकुल पाइएका खाद्य तथा दाना पदार्थहरु उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीहरुलाई गत आर्थिक वर्षमा १७८ वटा मुद्दा दर्ता गरिएको छ ।

१७८ मुद्दामध्ये प्रशोधित पिउने पानीका ४५, खाद्यान्न/दलहनका २९, गुलियो पदार्थ/कम्फेक्सनरीका २२, फल तथा सागपातजन्य पदार्थका ३ वटा, चिया-कफी ३, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ रहेको प्रवक्ता महर्जनले जानकारी दिए ।


क्लिकमान्डु