सामुदायिक वन दिवस मनाइँदै



काठमाडौं । यस वर्ष ‘सामुदायिक वनको प्रभावकारिता: तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाइँदैछ ।

सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा रहेको वनलाई व्यवस्थापनका लागि स्थानीय समुदायलाई हस्तान्तरण गरिएको २०३० सालको साउन २५ गतेलाई स्मरण गर्दै हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने गरिन्छ ।

यस परम्परालाई निरन्तरता दिँदै संघ, प्रदेश, जिल्ला, र स्थानीय तहका महासंघ र समूहहरूले यस वर्ष पनि सामुदायिक वन दिवस २०८१ लाई सप्ताहव्यापी रूपमा मनाउने तयारी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित प्रेस सम्मेलनमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फकोफन)ले यस वर्षको सप्ताहव्यापी कार्यक्रमको घोषणा गरेको हो ।

काठमाडौंमा आयोजित प्रेस सम्मेलनमा अध्यक्ष ठाकुर भण्डारीले साउन २० गतेदेखि २६ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिने जानकारी दिए । उनले साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवसको रूपमा मनाउन संघ, प्रदेश, जिल्ला, र स्थानीय तहका महासंघ र समूहहरू, साथै जिल्ला वन कार्यालय र अन्य सरकारी निकायलाई पत्राचार गरिसकेको बताए । ‘२४, २५, र २६ गते सरकारसँग सहकार्य गरेर सामुदायिक वन दिवस मनाउनेछौँ भने अन्य दिनमा महासंघले विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ,’ उनले थपे ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फकोफनका अध्यक्ष भण्डारीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ खारेज गर्नुपर्ने माग गरे।

उनले वन क्षेत्रको ठूलो हिस्सा निकुन्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, चुरे वातावरण संरक्षण क्षेत्र, र वन संरक्षण क्षेत्र जस्ता क्षेत्रमा मानव अधिकार र बाल अधिकार हनन भइरहेको बाताउँदै संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा सो पन्चायती ऐन खारेजीको जोडदार माग गरेका हुन् । वन्यजन्तुको संरक्षण गर्दा निकुञ्ज आसपास बसोबास गर्ने स्थानीय तथा आदिवासी जनजाति वन्यजन्तुकै सिकार हुनुपरेको उनले बताए । स्थानीय समुदायले अधिकारमा आधारित संरक्षित क्षेत्र बनाइने हिसाबले नीतिगत सुधार आवश्यक रहेको उनले औँल्याए।

वन क्षेत्रको ठूलो हिस्सा निकुन्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्र, चुरे वातावरण संरक्षण क्षेत्र, र वन संरक्षण क्षेत्र जस्ता क्षेत्रममा मानव अधिकार हनन भइरहेको छ । एक मुठा निगुरा टिप्न र एउटा गाइवस्तु बाँध्ने किलो खोज्न जानेहरूमाथि अत्यासको वातावरण रहेको उल्लेख गरे ।

अध्यक्ष भण्डारीले मध्यवर्ती सामुदायिक वनलाई सामुदायिक वनअन्तर्गत ल्याउनुपर्ने र त्यहाँका जनतामाथि अनधिकृत दवाब र डर देखाइने क्रम रोक्नु अत्यावश्यक रहेको समेत बताए ।

‘स्थानीय समुदायको निकुन्ज/आरक्षप्रतिको निर्भरतालाई घटाउँदै, उनीहरूलाई आवश्यक पर्ने खरखडाई, दाउरा, घाँस, काठ, पातलगायतका वन स्रोतहरूको आपूर्तिका लागि मध्यवर्ती क्षेत्रमा व्यवस्था गरिएको हो । यद्यपि, यहाँका समस्याहरू स्पष्ट देखिएका छन्,’ उनले अगाडि भने, ‘संरक्षित क्षेत्रका नीतिनियमहरू अलोकतान्त्रिक रहेका अवस्थामा, मध्यवर्ती क्षेत्रका नीतिनियमहरू कति लोकतान्त्रिक छन् भन्ने प्रश्न उठिरहेको छ । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाप्रति यहाँका व्यवस्थाहरू उत्तरदायी र लोकतान्त्रिक देखिएका छैनन् ।’

अध्यक्ष ठाकुर भण्डारीले वनमा बढ्दो आगलागीका घटनाहरूको जिम्मेवारी सरकारका नीतिहरूमा रहेको आरोप लगाए ।

यस वर्ष साउन २० गतेदेखि २६ गतेसम्म सप्ताहव्यापी सामुदायिक वन दिवस मनाइँदै छ । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाउँमा २०३० सालको साउन २५ गते स्थानीय समुदायलाई वन व्यवस्थापनका लागि हस्तान्तरण गरिएको सम्झनामा हरेक वर्ष यो दिन सामुदायिक वन दिवसको रूपमा मनाउने परम्परा रहेको छ ।

यस परम्परालाई निरन्तरता दिँदै, साउन २५ लाई सामुदायिक वन राष्ट्रिय दिवसको रूपमा मनाउन संघ, प्रदेश, जिल्ला, र स्थानीय तहका महासंघ र समूहहरू, साथै जिल्ला वन कार्यालय र अन्य सरकारी निकायलाई पत्राचार गरिसकिएको छ । यस वर्ष, २४, २५, र २६ गते सरकारले सहकार्य गरेर सामुदायिक वन दिवस मनाउनेछ, र अन्य दिनहरूमा महासंघले विविध कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको महासंघकी महासचिव पार्वता गौतमले बताएकी छन् ।

काठमाडौंमा आयोजित सम्मलेनमा जिल्ला महांसघका अध्यक्ष, उपाधयक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । देशभरका २२,७६० सामुदायिक वन उपभोक्ता समूहहरूले २१ लाखभन्दा बढी घरधुरीहरूको संलग्नतामा लगभग २२ लाख हेक्टर वन क्षेत्रलाई सामुदायिक वनको रूपमा व्यवस्थापन गर्दै आएका छन् ।


क्लिकमान्डु